बर्दियाबाट ल्याइएको नरभक्षी बाघ चिडियाखानामा

बर्दियाबाट खोरमा राखेर ल्याइएको बाघ चिडियाखानामा राखिँदै । तस्बिरहरु : सुलभ श्रेष्ठ/देश सञ्चार

काठमाडौँ – बर्दिया राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिइएको पाटेबाघ मंगलबार ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा ल्याइएको छ ।

सोमबार दिउँसो १ बजे बाघ लिएर हिँडेको प्राविधिक सहितको टोली मंगलबार बिहान पुगेसँगै वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा बाघलाई चिडियाखानमा राखिएको हो ।

गएको आइतबार (चैत २२ गते) बेलुका पौने ६ बजेतिर ठाकुरबाबा नगरपालिका–९ गैडामचानस्थित राष्ट्रिय निकुञ्ज भित्र गैँडा गणना गर्न गएका बेला निकुञ्जमै कार्यरत हात्तीका माउते ३५ वर्षीय पुलिसराम थारुको बाघको आक्रमणमा परी मृत्यु भएको थियो ।सो

ही दिन डार्ट गरेर नियन्त्रणमा लिइएको बाघलाई मंगलबार चिडियाखानमा अस्थायी रुपमा व्यवस्थापन गरिएको हो ।

वन मन्त्री आलेले वन्यजन्तुको संरक्षणसँगै मानवीय क्षति नहोस् भन्नका लागि सरकार प्रतिवद्ध रहेको बताए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट हरिभद्र आचार्यले नरभक्षी भएकै कारण बाघलाई नियन्त्रणमा लिएर ल्याइएको बताए ।

चिडियाखानामा अब बाघको संख्या पाँच पुगेको छ । त्यसमध्ये चारवटा भाले र एउटा पोथी हुन् ।

मंगलबार ल्याइएको बाघ अन्दाजी १० वर्षको हो । यो बाघले कम्तीमा दुईजनालाई आक्रमण गरि मारेको देखिने विभागका प्रवक्ता समेत रहेका आचार्यले बताए ।

तस्बिरहरु : सुलभ श्रेष्ठ /देश सञ्चार

चैत २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्