कोरोनाको चपेटामा भारतीय टेलिभिजन र चलचित्रका कलाकार, छायांकन रोकियाे

भारतमा पछिल्लो समय बढ्दै गएको कोरोना भाइरस संक्रमणले बलिउड र भारतीय टेलिभिजन क्षेत्रलाई प्रभाव पारेको छ। भारतमा एक पछि अर्को गर्दै कलाकारहरुलाई कोरोना भाइरस संक्रमण भइरहेको छ। अक्षय कुमार, आलिया भट्ट, गोविन्दा, आमिर खान लगायतलाई कोरोना भाइरस संक्रमण भएको छ। संक्रमण भइसकेपछि कम्तीमा १५ दिन क्वारेन्टिनमा बस्नु पर्ने हुन्छ। यसले चलचित्र र टेलिभिजनको छायांकन रोकिन जान्छ। यसले इन्डस्ट्रीमा धेरै ठूलो नोक्सान हुन जान्छ।

अभिनेत्री भूमि पडनेकरलाई कोरोना भाइरस संक्रमण हुँदा उनी विक्की कौशलसँग ‘मिस्टर लेले’ को छायांकनमा थिइन्। सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले आफूसँग सम्पर्कमा आउने सबैलाई जाँच गर्नको लागि अनुरोध गरेर आफू क्वारेन्टिनमा बस्न लागेको बताएकी थिइन्। यस्तै विक्की कौशललाई पनि कोरोना भाइरस संक्रमण भएको छ त्यसैले चलचित्र ‘मिस्टर लेले’ को छायांकन हाललाई रोकिएको छ।

यस्तै अभिनेता अक्षय कुमारलाई पनि कोरोना भाइरस संक्रमण भएको थियो। अक्षय चलचित्र ‘राम सेतू’ को छायांकनमा व्यस्त थिए। अक्षयलाई कोरोना भाइरस संक्रमण भएपछि यो चलचित्रको छायांकन रोकिएको थियो। यही चलचित्रमा ज्याक्लिन फर्नान्डेज र नुसरत भरुचा मुख्य भूमिकामा देखिन लागेका थिए। अहिले अक्षय अस्पतालमा छन्।

भोजपुरी अभिनेत्री मोनालिसालाई पनि कारोना भाइरस संक्रमण भयो। उनी होलीमा सहभागी भएकी थिइन् त्यसपछि उनलाई कोरोना भाइरस संक्रमण भएको खबर उनका पति विक्रान्तले जानकारी दिए। अहिले उनले अभिनय गर्ने टेलिभिजन शोको छायांकन बन्द भएको छ।

यस्तै अनुपमा टेलिभिजन श्रृंखलाकी मुख्य पात्र रुपाली गांगूलीलाई पनि कोरोना भाइरस संक्रमण भएको छ। यही कारणले उनी क्वारेन्टिनमा छिन्। यो कार्यक्रमका धेरै कलाकारहरुलाई कोरोना भाइरस संक्रमण भएको छ, जसको कारणले छायांकन प्रभावित भएका छन्।

यस्तै आदित्य नारायण र उनकी पत्नी श्वेता अग्रवाललाई पनि कोरोना भाइरस संक्रमण भएको छ। आदित्य अस्पतालमा भर्ना भएका छन् भने स्वेता घरमा नै क्वारेन्टिनमा बसिरहेकी छन्। इन्डियन आइडल १२ का होस्टसमेत रहेका आदित्य यो पल्टको भागमा देखिने छैनन्। उनले आफ्नो सम्पर्कमा आएका सबैलाई जाँच गराउनको लागि अनुरोध गरेका छन्।

आलिया भट्टले केही दिन आगाडि आफूलाई कोरोना भाइरस संक्रमण भएको जानकारी दिएकी थिइन्। उनलाई कोरोना भाइरस संक्रमण भएपछि ‘गंगूबाई काठियावाडी’ को छायांकन रोकिएको छ।

चैत २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्