एउटा नरभक्षी बाघको ‘जु’सम्मको यात्रा

चिडियाखानामा बर्दियाबाट ल्याइएको नरभक्षी बाघ । तस्बिर : रविन आचार्य/देश सञ्चार

काठमाडौँ– राष्ट्रिय गैँडा गणना अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा गणनामा खटिएका ३१ वर्षे पुलिसराम चौधरीको बाघको आक्रमणबाट मृत्यु भयो । निकुञ्जमा माउतेका रुपमा कार्यरत चौधरीको चैत २२ बेलुका बाघको आक्रमणबाट घटनास्थलमै ज्यान गएको थियो ।

गणनाको काम त्यो दिनका लागि सकेर हात्ती स्थानीय खोलामा नुहाएर घाँस काट्ने क्रममा चौधरीलाई ठाकुरबाबा नगरपालिका–९ गैँडामचान (राष्ट्रिय निकुञ्ज क्षेत्र) बाघले आक्रमण गरेको हो ।

त्यसको तीन हप्ता पहिले चैत ३ गते सोही क्षेत्रमा निउरो टिप्न गएकी ६२ वर्षकी डल्ली रावतको बाघको आक्रमणबाट मृत्यु भएको थियो । ठाकुरबाबा नगरपालिका–७ की रावत अरु तीन महिलासहित जंगलमा निउरो टिप्न गएकी थिइन् ।

चौधरी र रावतमाथि भएको आक्रमण क्षेत्र र प्रकृति उस्तै रहेको तथा आक्रमण गर्ने बाघ पनि एउटै रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता तथा इकोलोजिस्ट हरिभद्र शर्माले बताए ।

सो नरभक्षी बाघलाई गएको आइतबार बेलुका डार्ट गरी नियन्त्रणमा लिएर मंगलबार अस्थायी व्यवस्थापनका लागि ललितपुर जावलाखेलस्थित चिडियाखाना ल्याइएको छ ।

१० वर्षको भाले बाघ अहिले सदर चिडियाखानाको होल्डिङ्ग सेन्टरमा छ।

२०७६ कात्तिक १९ गते बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा कार्यरत माउते ४२ वर्षका मङ्गरु थारुको बाघको आक्रमणबाट मृत्यु भएको थियो । ठाकुरबाबा नगरपालिका–७ मोहनपुरका थारुलाई गैँडा मचान नजिकै हात्तीलाई घाँस काट्ने क्रममा बाघले आक्रमण गरेको थियो ।

आक्रमण गरेको क्षेत्र र बाघको पहिचान गर्ने क्रममा थारुलाई आक्रमण गरेको बाघ नै अहिले चौधरी र रावतलाई मारेको बाघ रहेको खुलेको विभागले जनाएको छ ।

विभागका इकोलोजिस्ट आचार्यले भने, ‘बाघ नरभक्षी भएका कारण नियन्त्रणमा लिएर ल्याइएको हो । संरक्षणका प्रयासहरु सफल हुँदै जाँदा मानव–बाघ द्वन्द्व पनि बढ्दै गएको छ। यसक्रममा समस्याग्रस्त देखिएपछि बाघ नियन्त्रणमा लिइएको हो।’

बाघ नियन्त्रणमा लिएर चिडियाखानासम्म ल्याउने प्रक्रियामा राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकसहितको टोलीले महत्वपूर्ण भूमिका खेलेको कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले बताए ।

बर्दिया राष्ट्रिय निकुञ्जको गैँडामचान क्षेत्रबाट नियन्त्रणमा लिइएको बाघ । यही बाघलाई मंगलबार चिडियाखानामा राखिएको हो । तस्बिरः बर्दिया राष्ट्रिय निकुञ्ज

राष्ट्रिय संरक्षण कोषका बाघविज्ञ चीरञ्जीवि पोखरेलका अनुसार सामान्य अवस्थामा बाघले मानिसलाई आक्रमण गर्दैन । उनले भने, ‘धेरै आक्रमणका प्रकृति हेर्दा निहुरी परेका बेला बाघले मानिसलाई आक्रमण गरेको देखिन्छ। यसबाट के अनुमान लगाउन सकिन्छ भने मानिस निहुरी परेका बेला आफ्नो आहार ठानेर बाघले आक्रमण गरेको हुन सक्छ ।’

‘यस्तै आहारको कमी, पानीका स्रोतहरुको अभाव तथा जैविक मार्गमा मानवीय गतिविधिका कारण दखल पुग्दा पनि बाघ आक्रमणकारी बन्न सक्छ’, पोखरेलले भने, ‘अर्को कुरा एकपटक मानिसलाई आक्रमण गरेको बाघले स्वाद थाहा पाउने र आक्रमणका लागि सहज हुने ठानेर फेरि आक्रमण गर्न पनि सक्छ।’

मानिसलाई आक्रमण गर्ने क्रम जारी राख्ने र आहारका रुपमा प्रयोग गर्ने अवस्थामा पुगेको बाघलाई नरभक्षी भनिने उनले बताए । मंगलबार चिडियाखानामा ल्याइएको बाघ पनि नरभक्षी रहेको पोखरेलले बताए । सो बाघलाई राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको प्रयासमा नियन्त्रणमा लिइएको थियो ।

बाघ–मानव द्वन्द्व र सहअस्तित्व

बर्दियाबाट खोरमा राखेर ल्याएको बाघ मंगलबार (चैत २४ गते) जावलाखेल स्थित चिडियाखानामा राखिँदै । तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार

बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो साउन यता बाघको आक्रमणबाट १० जनाको ज्यान गएको छ । फागुन अन्तिम साता याता मात्रै तीनजानको ज्यान गएको छ ।

मानिस र बाघबीचको द्वन्द्वको तथ्यांक हेर्दा झण्डै दुई वर्षको अवधिमा बाघको आक्रमणबाट २० जनाको ज्यान गएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट आचार्यले सामान्य अवस्थामा बाघले मानिसलाई आहारका रुपमा नलिने बताए । ‘तर बेलाबेलामा यस्ता द्वन्द्वका घटना हुन्छ । संरक्षणसँगै स्थानीय बासिन्दा र वन्यजन्तुबिचको द्वन्द्व समाधान गरि सहअस्तित्वलाई स्थापित गर्नु चुनौती बनेको छ ।’

पछिल्लो गणना अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ वटा पाटेबाघ छन् । तर पछिल्ला वर्षमा बाघको संख्या बढेको हुन सक्ने बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताएका छन् । उनका अनुसार संख्या बढेको अनुसमान गरिए पनि यकिनका लागि भने अर्को गणना नै पर्खिनु पर्छ ।

बाघ संरक्षणको प्रयासका क्रममा उचितबास स्थान, आहार प्रजातिको संरक्षणसँगै स्थानीय बासिन्दाको पनि सुरक्षा र सहअस्तित्व आफूहरुको प्राथमिकतामा रहेको दाबी इकोलोजिस्ट आचार्यले गरेका छन् । तर पछिल्ला तथ्यांक र प्रयासहरु हेर्दा विशेष गरी बर्दिया क्षेत्रमा बाघ–मानव द्वन्द्व समाधानका लागि सरकार निष्क्रिय रहेको देखिन्छ ।

वन मन्त्री प्रेमबहादुर आले भने बजेट अभावका कारण काम गर्न समस्या भएको र आफूले आउँदो आर्थिक वर्षका लागि पर्याप्त बजेट माग गरेको बताउँछन् ।

मंगलबार चिडियाखानामा बर्दियाबाट ल्याइएको समस्याग्रस्त (नरभक्षी) बाघ राख्ने क्रममा मन्त्री आलेले भने, ‘यो आर्थिक वर्षमा वन मन्त्रालयको बजेट ९ प्रतिशत कम थियो । अहिले हामी आउँदो आर्थिक वर्षको बजेट निर्माणको क्रममा छौँ । मैले साढे चार अर्ब बजेट माग गरेको छु ।’

संरक्षणसँगै द्वन्द्व समाधान गरी मानव–वन्यजन्तुको सहअस्तित्व स्थापित गर्नु आफूहरुको प्राथमिकतामा रहेको मन्त्री आलेले दाबी गरे । उनले क्षतिपूर्तिको व्यवस्था चुस्त पार्ने र निकुञ्ज भ्रमणमा गएका बेला आक्रमणमा परेमा पर्यटकहरुका लागि बिमाको व्यवस्था गर्ने पहलमा पनि आफू लागेको बताएका छन् ।

यस्तै सातै प्रदेशमा चिडियाखाना बनाएर बढेका केही बाघलाई त्यहाँ व्यवस्थापन गर्ने तथा होल्डिङ्ग सेन्टरहरु बनाउने तर्फ पनि सोचिएको उनले बताए ।

संरक्षणकर्मी कुमार पौडेलले मावन–वन्यजन्तु सहअस्तित्वका लागि संरक्षणसँगै स्थानीय ज्ञानको प्रयोग र स्थानीय बासिन्दाको सक्रिय सहभागितालाई प्राथमिकतामा राखिनु पर्ने बताए ।

‘तत्कालका लागि समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिने उपाय हुन सक्छ तर दीर्घकालमा समस्या समाधानका लागि सहभागितामुलक विधि अपनाएर स्थानीय बासिन्दाको प्रत्यक्ष सरोकारमा सम्बोधन गरिनुको विकल्प छैन’ उनले भने ।

‘खोरबाट भागेको बाघ होइन’

चिडियाखानामा बर्दियाबाट ल्याइएको नरभक्षी बाघ । तस्बिर : रविन आचार्य/देश सञ्चार

गएको आइतबार माउतेलाई आक्रमण गरेपछि सोही बेलुका नियन्त्रणमा लिएर मंगलबार चिडियाखाना ल्याइएको बाघ बाँके राष्ट्रिय निकुञ्जको खोरबाट भागेको बाघ नरहेको विभाग तथा डार्टमा खटिएका पशुचिकित्सकले बताएका छन् ।

मानिसमाथि आक्रमण गरेकाले उक्त बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जको खाता जैविक मार्गबाट चैत ५ गते नियन्त्रणमा लिएर बाँके राष्ट्रिय निकुञ्जको ‘टाइगर होल्डिङ सेन्टर’ मा राखिएको थियो । १० वर्षको वयस्क बाघ चैत १० गते बिहान डण्डी बंग्याएर भागेको थियो ।

‘गैँडा गणनामा खटिएको टोलीका सदस्यमाथि आक्रमण भएपछि सुरुमा हामीले पनि बाँकेबाट भागेको बाघ नै आएर आक्रमण गरेको हो कि भन्ने आशंका गरेका थियौँ’, बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले भने, ‘तर तस्बिर दाँजेर हेर्दा सो बाघ नरहेको पुष्टि भयो ।’

उनले भने, ‘घटना भएको क्षेत्र पनि फरक हो । आइतबार नियन्त्रणमा लिएको बाघ खाता जैविक मार्गबाट नियन्त्रणमा लिइएको बाघ १०० प्रतिशत होइन ।’

तर बाँकेबाट भागेको बाघ अहिले कुन क्षेत्रमा छ भन्ने जानकारी छैन । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले भने, ‘हामीले सतर्कता बढाएका छौँ । अहिलेसम्म पनि निगरानी गरिरहेका छौँ । तर यहाँ नै पुग्यो भनेर ठ्याक्कै पहिचान गरिएको छैन । निकुञ्ज क्षेत्रमा हुन सक्छ ।’

उनले भने, ‘बाघ आफू जहाँबाट आएको हो त्यहिँ जान पनि सक्छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको वन क्षेत्र जोडिएकाले सो बाघ आफ्नो भूमिमा पुग्न सक्छ । गतिविधि ट्रयाक गर्नका लागि स्याटेलाइट कभरिङ्ग गरिएको थिएन त्यसैले यसै भन्न सकिँदैन ।’

बर्दियाबाट ल्याइ चिडियाखानामा राखिएको १० वर्षे नरभक्षी बाघका थप तस्बिरहरुः

चैत २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्