माओवादीका चार सांसद पर्सि पदमुक्त हुने, होला उपचुनाव?

काठमाडौँ – पार्टी एकता हुँदा ओली कित्तामा लागेर नफर्किएका चार सांसदलाई माओवादी केन्द्रले मंगलबार पदमुक्त गर्न संघीय संसद सचिवालयलाई पत्र दर्ता गराएको छ।

केन्द्रीय कमिटीको निर्णयअनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदलाई पत्र लेखेसँगै अब लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह र गौरीशंकर चौधरी सांसदबाट पदमुक्त हुन केही प्रशासनिक औपचारिकता मात्रै बाँकी छ।

संविधानको धारा ८९ (ङ) र राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु जुन दलबाट निर्वाचित भएको हो त्यो कार्यकाल भर त्यही दलमा रहनु पर्ने अन्यथा पद नै जाने प्रष्ट व्यवस्था गरेको छ।

फागुन २३ गते सर्वोच्चले दिएको आदेशअनुसार दुवै पार्टी ब्युतिएपछि चार सांसदले एमाले अध्यक्ष केपी शर्मा ओलीको शाथ नछाड्ने घोषणा गरेसँगै राजनीतिक रुपमा उनीहरुको पद जाने निश्चित भइसकको थियो। राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादलसहित चारजना नेताहरु एमालेको केन्द्रीय सदस्य नियुक्त भइ अरु जिम्मेवारीसमेत पाइसकेका छन्।

दल सम्बन्धी ऐनले अरु दलको सदस्यता लिएमा स्वत दल त्याग गरेको मानिने र त्यसले सांसद पद रिक्त हुनेबाटो खोल्ने व्यवस्था गरेको छ। दफा ३२ (१) (ख) भनिएको छ, ‘दल त्याग गरेको मानिनेः निजले अर्को दलको सदस्यता लिएमा।’

मंगलबार अध्यक्ष दाहालले संसदमा लेखेको पत्रमा पनि उनीहरुले एमालेको सदस्यता लिइसकेकाले आफ्नो पार्टीको सदस्य नभएको उल्लेख गरेका छन्।

बादललाई पदमुक्त गर्न भने राष्ट्रियसभा सचिवालयमा बुधबार छुट्टै पत्र दर्ता हुने माओवादीले जनाएको छ।

अबको प्रक्रिया?


प्रष्टिकरण सोधेर केन्द्रीय समितिको निर्णयसहित सांसद पद खारेज गर्न दलको पत्र आएसँगै अब संसद सचिवालयले संभवत बिहीबार पदमुक्त भएको औपचारिक जानकारी गराउनेछ।

दल सम्बन्धी ऐनले संसद अधिवेशन चलिरहेको अवस्थामा सदनमा र नचलेको अवस्थामा १५ दिनभित्र सूचना टाँस गरेर सांसदबाट पदमुक्त भएको सूचना दिनुपर्ने व्यवस्था गरेको छ।

बिहीबार दिउँसो १ बजे प्रतिनिसभाको बैठक राखिएको हुँदा उक्त बैठकमा सभामुखले भट्ट, रायमाफी, शाह र चौधरी पदमुक्त भएको निर्णय सुनाउने संभावना रहेको संसद सचिवालय स्रोतले जानकारी दियो।

‘अब बैठक २६ गतेका लागि राखिएको छ। त्यही दिन सभामुखले संभवत बैठकमा माओवादी केन्द्रको पत्रबारे जानकारी गगराउनु हुनेछ, ती अधिकारीले भने।

एमालेको सदस्यता लिएकोबारे माओवादी केन्द्रले चैत १ गते बादलसहित पाँचै जनालाई प्रष्टिकरण सोध्दै मन्त्रीबाट फिर्ता हुन निर्देशन दिएको थियो। उक्त प्रष्टिकरणको शाहबाहेक बाँकी नेताहरुले जवाफ नै नदिएको प्रचण्डको पत्रमा उल्लेख छ।

शाहको प्रष्टिकरण पनि चित्त बुझ्ने नभएकाले पार्टी र सांसदबाट निकाल्नु परेको आधार, कारण दाहालले प्रस्तुत गरेका छन्।

संसद सचिवालयलाई लेखिएको पत्रमा उल्लेख गरिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) त्याग गरेको भन्ने विषयमा मिति २०७७/१२/१ मा प्रष्टिकरण माग गरी मन्त्रिपरिषदबाट समेत फिर्ता आउनु भनि निर्देशन दिइएकोमा तोकिएको समयभित्र टोपबहादुर रायमाझी, लेखराज भट्ट, र गौरीशंकर चौधरीले प्रष्टिकरण नदिएको र प्रभु साहले प्रष्टिकरण चित्तबुझ्दो जवाफ नदिएकोले…।’

होला उपचुनाव?


संविधानअनुसार संसदको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी रहेको अवस्थामा सांसद पद रिक्त भएमा उपचुनाव गराउनुपर्ने बाध्यात्मक व्यवस्था छ।

संविधानको धारा ८४ (७) मा लेखिएको छ, ‘प्रतिनिधि सभाको कार्यकाल छ महीनाभन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ।’ प्रतिनिधिसभाको कार्यकाल अझै २२ महिना छ।

पदमुक्त हुन लागेका चारै जना सांसदहरु प्रत्यक्ष निर्वाचनबाट आएकाले चुनावमै जानुपर्ने हुन्छ। २०७४ सालमा भएको प्रतिनिधिसभाको चुनावमा भट्ट कैलाली ४, रायमाझी अर्घाखाँची, साह रौतहट ३ र चौधरी कैलाली ३ बाट निर्वाचत भएका थिए।

सांसद पद रिक्त भए पनि तत्काल उपचुनाव हुने संभावना भने कम देखिन्छ। चुनावका लागि सरकार तयार हुनुपर्ने र उसैले चुनावको मिति तोकेर निर्वाचन आयोगलाई आग्रह गर्नुपर्ने हुन्छ।

तर अहिलको अवस्थामा ओली नेतृत्वको सरकारले नै निरन्तार पाउने कि नपाउने वा अर्को सरकार बन्ने कुनै निश्चित छैन। माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए देश ‘अर्ली चुनाव’मा जाने अड्कल बाजी भइरहेका छन्।

अर्ली चुनाव भएको खण्डमा उपचुनावको औचित्य सकिन्छ भने संसदले पुरा कार्यकाल काम गर्ने अवस्था बनेमा सत्तामा जो रहन्छ उसले आफू अनुकुल परिणाम आउने अवस्था नबनी चुनावको मिति घोषणा नगर्ने संभावना रहन्छ।

सुनसरीका एमाले अध्यक्ष एवं पूर्व सांसद रेवती रमण भण्डारी आफू तयारीमा जुटे पनि चुनाव कहिले हुन्छ भन्ने निश्चित नभएको बताउँछन्। मंगलबार सिंहदरबारमा भेटिएका भण्डारीले भने, ‘चुनावको तयारीका लागि गाउँ गाउँ पुग्न थालिसकेको छु। एकसरो क्षेत्र घुमेर आएँ। भोलि फर्किएर पनि क्षेत्रमै जानुछ। तर चुनाव कहिले हुन्छ निश्चित छैन।’

चैत २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्