कलेजो उपचारमा एक डाक्टरको सफलता यात्रा

डा. रमेश सिंह भण्डारी।

काठमाडौँ– सुदूरपश्चिमको बैतडीमा उनी ४४ वर्ष अगाडि जन्मिए। पढाइको पहुँच थिएन। उनी राम्रो पढून्। ठूलो मान्छे बनून्, उनका काकाको यही सोच थियो। गाउँबाट पढाउनकै लागि काठमाडौँ ल्याए। उनी काकासँगै बसेर काठमाडौँमा पढे।

एसएलसी भीएस निकेतनबाट गरे। प्लसटु वीरेन्द्र सैनिक आर्मी क्याम्पसबाट गरे। एमबीबीएस धरानबाट गरे। एमएस शिक्षणबाट गरे। २००६ मा एमएस सके। अनि शिक्षण अस्पतालमै काम सुरु गरे।

बच्चाको डाक्टर बन्ने उनको सपना थियो। तर उनको त्यो सपनाले बाटो मोड्यो। उनी सर्जन बने। सर्जन भएरै काम गर्न थालेको १५ वर्ष भयो, डा. रमेश सिंह भण्डारीले।

सर्जन भएर काम गर्न थालेपछि उनलाई कलेजो, प्यानक्रियाजमा बढी ‘इन्ट्रेस्ट’ थियो। त्यसैमा थप विशेषज्ञ अध्ययन गर्छु भनेर उनी लागे। त्यही अनुसार उनले अष्ट्रेलियामा पनि पढ्न पाए। त्यो ‘इस्प्यासिलिटी’को सबैभन्दा ठूलो कलेजो प्रत्यारोपणलाई मानिने उनले बताए।

लिभर ‘सर्जरी र लिभर ट्रान्सप्लान्ट’का लागि दुई पटक अष्ट्रेलिया पुगे। पहिलो पटक सन् २०१० मा गए।

जब उनले बाहिर जाने योजना बनाएका थिए, त्यही बेला नै उनले अर्को योजना बुनिसकेका थिए ‘फर्केर ‘लङ्ट्रम’मा गएर नेपालमा नै कलेजो प्रत्यारोपण सुरु गर्ने’। त्यही योजनाका साथ उनी विदेशमा गए। अध्ययन गरे। फर्केर आए।

पहिलो पटक विदेश गएर आएपछि नेपालमा कलेजो प्रत्यारोपण गर्न सकिन्छ, सकिँदैन, यी सबै कुरा उनले राम्रोसँग बुझे। बुझ्दै गर्दा उनले थुप्रै चुनौती देखे। काम गर्न गाह्रो थियो। तर इच्छा हुनुपर्छ। मन लगाएर अगाडि बढ्यो भने केही कुरा पनि नसकिने छैनभन्ने उनलाई लाग्यो। र कलेजो प्रत्यारोपणको सपना देखे।

त्यसका लागि फेरि एक वर्षका लागि उनी सन् २०१४ मा अष्ट्रेलिया गए। त्यहाँ काम सिकेर आए। अनि आफ्नो सिपलाई यही बिस्तार गर्नका लागि एक–एक गर्दै योजनाहरु बनाउँदै गए, कलेजो प्रत्यारोपणका लागि।

यो भन्दा अगाडि काम गरिसकेका कारण यो पटक उनलाई सहज भयो। सबैले उनलाई चिनिसकेका थिए।

डा. भण्डारीले नेपालमा प्रत्यारोपण सुरु गर्नका लागि आफू काम सिक्न अष्ट्रेलिया आउने जानकारी गराएपछि उनले तुरुन्तै हुन्छ भन्ने जबाफ पाएका थिए।

विदेशबाट फर्किएपछि…


काम सिकेर एक वर्षपछि २०१५ जनवरीमा सक्काएर नेपाल फर्किए। नेपाल फर्किए लगत्तै उनी एउटा टिम बनाउनतिर लागे। टिम तयार बनाए पनि उनीहरुलाई कलेजो प्रत्यारोपणका लागि अब्बल बनाउनु थियो। यो उनका लागि मुस्किल काम थियो। हरेक फिल्डमा काम गरिरहेकाहरुलाई आवश्यक्ता अनुसार तालिम दिनुपर्ने थियो। टिमका सबै जनाले तालिम लिदै गर्दा ३ देखि ४ वर्षको समय लागेको डा. भण्डारी बताउँछन्।

टिमलाई निखार्दै गर्दा उनी अझै पनि दुविधामै थिए, ‘हामी गर्न सक्छौँ या सक्दैनौँ। हामीले गर्न लागेको काम सफल हुन्छ या हुँदैन।’

उनी बीचमै हार मान्ने छोड्ने मध्यका होइनन्, आफ्नो लक्ष्यमा पुग्नका लागि उनी लागिपरेका थिए। मुसुक्क मुस्कुराउँदै उनले भने,‘जब कोशिस गरिन्छ, ५० प्रतिशत सफलता पाउन सकिन्छ, तर यदी कोशिस नै गरिएन भने शून्यता हात लाग्छ। यही सोचेर हामी अगाडि बढ्यौँ।’

अगाडि बढ्दै गर्दा


योजना अनुसार उनीहरु काम गर्दै गए। डा. भण्डारीले भने, ‘ट्रेनिङ मात्र भएर पनि भएन आफ्नो मेनपावर मात्र भएर पनि भएन। ‘इन्फ्रास्ट्रक्चर’ लगायत अन्य सामानहरु महँगो चाहिने हुन्छ। त्यसका लागि पनि पैसा चाहिन्थ्यो। यति ठूलो कार्यक्रमको लागि सहयोग पाइहाल्ने स्थिति थिएन। तर हामी सबै तयार हुँदै गएका थियौँ।’

उनी सहयोगका लागि स्वास्थ्य मन्त्रालय पुगे। त्यो बेला स्वास्थ्यमन्त्री गगन कुमार थापा थिए। ‘प्रपोजल’ लिएर स्वास्थ्य मन्त्रालय पुगेका उनले थापालाई भटे। सबै कुरा सम्झाए। प्रत्यारोपण सम्बन्धी सबै बुझाए पनि।

आफूहरुले गरिरहेको तयारी र हामी गर्न सक्छौँ भन्ने विश्वास डा. भण्डारीले थापालाई दिलाए। उनी विश्वस्त भए।

र उनी तुरुन्तै सहयोग गर्न तयार भए। त्यो बेला उनीहरुले १५ करोड रुपैयाँ पाएका थिए। मन्त्रालयबाट पाएको रुपैयाँले आफूहरुलाई सामानहरु जोडजाम गर्न पुगेको डा. भण्डारीले बताए। उनले भने, ‘मन्त्रालयबाट पाएको पैसाले हामीले इक्यूपमेन्टहरु किन्यौँ। यसका लागि केही समय लाग्यो। त्यसपछि हामीले लाइसेन्सको लागि अवेदन दियौँ। र पायौँ पनि।’

अनि उनको सपनाको उडान!!!


अनि सुरु भयो उनीहरुको काम। जसका लागि उनीहरुले विरामी खोज्न थाले। विरामी खोज्न उनीहरुलाई करिब ५ महिना लाग्यो। कलेजो प्रत्यारोपण सुरु गर्नका लागि उनहिरुलाई लामो समय लागेको थियो।

अन्ततः २०७६ साल जेठबाट सुरु भयो, कलेजो प्रत्यारोपण।

उत्सहित थिए, तर उत्साहभन्दा पनि डर धेरै थियो, उनको मनमा।

उनले भने, ‘मनमा एक प्रकारको डर थियो। कस्तो हुन्छ? के हुन्छ? पहिलो प्रत्यारोपण नै सफल भएन भने।’

यस्ता अनेक प्रश्नले उनलाई घेरिरहेका थिए। त्यो बेला उनलाई लागेको थियो, ‘पहिलो प्रत्यारोपण नै सफल भएन भने नराम्रो सन्देश जान्छ।’

प्रत्यारोपण ठूलो कुरा थियो। उनका लागि र त्रिवि शिक्षण अस्पतालका लागि। अनि जटिल पनि।

कलेजो प्रत्यारोपणका लागि विरामी भारत लगायत अन्य देशहरुमा पुगेर उपचार गर्ने गरेको पाइन्थ्यो। उसो त अहिले पनि त्यो प्रक्रिया बन्द भने भइसकेको छैन। यद्यपि केही कम भने भएको छ।

त्यही कुराको डर थियो, डा. भण्डारीलाई। कलेजो प्रत्यारोपण सुरु गरेर सफल भइएन भने भोलिका दिनमा उनीहरुलाई कसैले पनि विश्वास गर्नेवाला थिएनन्। त्यसैले उनलाई लागेको थियो,‘सफल भइएन भने हाम्रो पुरै मेहनत खेर जान सक्छ’।

यस्तै अनेक शंका उपशंका उनको मनमा चलिरहे। तर पनि आँट गरे। उनी डग्मगाएनन्।

भारतका प्रत्यारोपण केन्द्रहरुसँग कुरा गरे। भारतमा काम गरिरहेको आफ्ना साथीहरुको सहयोग मागे। साथीहरुले उनलाई साथ दिन तयार भए। पहिलो प्रत्यारोपणका लागि डा. भण्डारी लगायत उनको टिमलाई साथ दिन नेपाल आए।

र २०७६ साल जेठ १७ गते उनीहरु सफल भए।

धेरै जना अचम्मित भए, ओहो! पहिलो प्रत्यारोपणमै सफलता? उनीहरुको खुसीले सिमा नाग्यो। गर्न सक्छौँ भन्ने आँट अझै बढेर आयो। गर्‍यो भने सकिँदोरहेछ भन्ने कुरामा डा. भण्डारी विश्वस्त भए।

खुसी भएपनि उनीहरु अझै ढुक्क भने हुन सकिरहेका थिएनन्। पहिलो सफल भयो तर अब दोस्रो? डा. भण्डारीको मनले ढ्याङ्ग्रो ठोक्न थाल्यो।

मेहनत गरे। दोस्रो प्रत्यारोपण पनि सफल भयो। तेस्रो र चौथो गर्दै उनीहरुले सफलता हासिल गरिरहेका थिए।

अब भने डा. भण्डारीलाई आफूले चुनेको बाटो सही लाग्न थाल्यो।

उनलाई लाग्यो, ‘सबै कुरा ठिक भइरहेको छ। गर्दै गयो भने अझै राम्रो गर्न सकिन्छ। र सक्छौँ।’

आत्मबल बढ्दै गयो। विरामीहरुको विश्वास उनीहरु प्रति बढ्दै गयो। उत्साहित थिए। विरामीलाई नयाँ जीवन दिन आतुर थिए।

त्यसैले त पाँचौँ प्रत्यारोपणको लागि तयारी गर्दै थिए। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिन थाल्यो। उक्त समयमा उनीहरुले प्रत्यारोपण जस्तो जटिल कार्य गर्न उचित ठानेनन्। र केही समयका लागि पर सारे।

तर सोचे जस्तो हुन सकेन। समय जटिल भइदियो। लामो समयसम्म लकडाउन भयो। एक वर्षभन्दा बढी उनीहरुले आफूले गरिरहेका कार्य बन्द गर्नु पर्‍यो।

एक वर्ष लामो ब्रेकपछिको प्रत्यारोपण यात्रा


लामो समयसम्म बन्द भइरहँदा डा. रमेश नझस्किएका पनि होइनन्। उनले भने, ‘हामी एउटा लयमा हिँडिसकेका थियौँ। लामो समय बन्द हुँदा सबै कुरालाई फेरि सुरुबाट गर्नु पर्ला कि भन्ने डर लागिरहेको थियो।’

तर पनि उनीहरुले फेरि एक पटक आँट गरे। एक वर्षभन्दा बढी समय बन्द गरेका उनीहरुले तयारी सुरु गर्न थाले। उनीहरुको चाहना थियो– आफूहरुले कलेजो प्रत्यारोपण गर्नुभन्दा पहिला मिर्गौला प्रत्यारोपण होस्। त्यसको परिणम कस्तो हुन्छ? कति सजिलो हुन्छ? उनीहरु कुरिरहेका थिए।

उनीहरु कुरिरहेकै बेला शिक्षण अस्पतालले मिर्गौला प्रत्यारोपण सुरु गर्‍यो। र सामान्य अवस्थामा फर्कियो। त्यसपछि उनीहरुमा अब हामी पनि गर्न सक्छौँ भन्ने आँट आयो।

तयारी सुरु गरे। फेरि विरामी खोज्न थाले। त्यही क्रममा उनीहरुले फागुन २९ गते कलेजो प्रत्यारोपण गरिएका ११ महिने शिशुलाई भेटे।

डा. भण्डारीले भने, ‘उहाँहरुले अरु ठाउँ पनि देखाइसक्नुभएको रहेछ। प्रत्यारोपण गर्नुपर्छ भन्ने थाहा भइसकेपछि प्रत्यारोपणकै लागि विदेश जान तयार भएर प्रधानमन्त्री कहाँ आर्थिक सहयोगको लागि पुग्नुभएको रहेछ।’

एक वर्ष अगाडि प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्दा डा. रमेश उनीसँग नजिक हुने मौका पाएका थिए। त्यही बेला कलेजो प्रत्यारोपणको बारेमा धेरै कुरा बुझाएका थिए। र प्रधानमन्त्रीले बुझेका थिए।

त्यसैले प्रधानमन्त्रीले आफूकहाँ सहयोग माग्न आएका विरामीको बारेमा डा. भण्डारीलाई बताए। उनलाई प्रधानमन्त्रीले बालकको प्रत्यारोपण शिक्षणमै गरिदिन आग्रह गरे।

डा. रमेशले आफ्नो टिमसँग सल्लाह गरे। ‘मैले मात्र सक्छु, गर्छु भनेर हुँदैन। टिमले पनि हुन्छ भन्नुपर्छ’, उनले प्रधानमन्त्रीलाई भनेका थिए।

उनले आफ्नो टिमसँग सल्लाह गरे। प्रत्यारोपणका लागि टिम तयार भयो। उनले प्रधानमन्त्रीलाई विरामी पठाइदिन आग्रह गरे। र विरामी अस्पताल पुगे।

प्रत्यारोपणका लागि अस्पताल पुगेका विरामी ११ महिने शिशु थिए। यो भन्दा अगाडि गरिएका प्रत्यारोप सबै ठूलो उमेरका व्यक्तिहरुको भएको उनी बताउँछन्।

सानो बालकको शल्यक्रिया गर्ने भन्दा उनीहरुमा एक प्रकारको डर त थियो नै। तर पनि उनीहरु तयारीमा जुटिरहे।

उनले भने, ‘यो भन्दा अगाडि सबै ठूलो मान्छेको शल्यक्रिया गरेका थियौँ। सानो बच्चाको यो पहिलो पटक थियो। मन झस्किरहन्थ्यो, के हुने हो? कस्तो हुने हो? सानो बच्चाले सहन सक्छ वा सक्दैन भन्ने डर मनमा थियो।’

तर उनले फेरि एक पटक आँट गरे। भारतबाट सहयोगको लागि नेपाल आउने गरेका चिकित्सकसँग सल्लाह गरे। उनीहरुले पनि हौसला दिए, ‘तिमीहरु राम्रो गर्न सक्छौ। तिमीहरुसँग राम्रो सेटअप छ। तिमीहरुलाई समस्या हुँदैन। हामी आएर सहयोग गर्छौँ।’

सहयोगका लागि नेपाल आउने चिकित्सकले यति भनेपछि उनीहरुले यता सम्पूर्ण तयारी पूरा गरे। तयारी गर्न उनीहरुलाई करिब एक महिना लाग्यो।

र गत फागुन २९ गते शल्यक्रिया गर्नका लागि मिति तय भयो।

मिति तोकिए पनि उनीहरुको मनमा डर पूर्णरुपमा हटिसकेको थिएन, किन भने विरामीको उमेर निकै कम भएका कारण स्वास्थ्यमा अन्य केही समस्या देखिने बित्तिकै शल्यक्रिया रोक्नुपर्ने बाध्यता थियो, डा. भण्डारीको टिमको।

अन्ततः शल्यक्रिया सफल भयो। र उनीहरुले पाँचौँ प्रत्यारोपणमा पनि सफलता हात पारे।

शल्यक्रियाका लागि १२ घण्टा लागेको उनले बताए। पाँचौँ प्रत्यारोपणले नेपालमा सबै किसिमका शल्यक्रिया सहजै रुपमा गर्न सकिदोरहेछ भन्ने आँट उनीको मनमा जगाएको छ।

विदेशी साथीको सहयोग…


शिक्षण अस्पतालमा भएको पाँचवटै प्रत्यारोपणका लागि भारतका चिकित्सकहरुले सहयोग गर्दै आएका छन्। यो शिक्षण अस्पतालको मात्र नभएर विश्वमै गरिने अभ्यास हो। आफ्नो टिम लगायत सबै कुरा सेटअप भइसकेपछि पनि सुरुका प्रत्यारोपणहरुमा ‘हाइ भोलुम’ सेन्टरको सहयोग लिएर काम गर्नु पर्ने उनले बताए।

‘सुरुका केही प्रत्यारोपणहरुको परिणामले हेरेर कार्यक्रमको भविष्यलाई निर्धारित गर्छ। सुरुमै परिणाम राम्रो भएन भने विरामीको विश्वास जित्न सकिँदैन। यो सबै विश्वास जित्नलाई हो। र एकदमै राम्रो परिणाम दिनका लागि हो’, उनले भने, ‘हुन त हाम्रो काम जहिले पनि उत्कृष्ट परिणाम दिने नै हुन्छ। तर पनि सुरुवात भनेको झनै महत्वपूर्ण कुरा हो।’

अबका पाँचदेखि सात वटा प्रत्यारोपणसम्म विदेशी चिकित्सकहरुले उनीहरुलाई सहयोग गर्नेछन्। त्यसपछि डा. भण्डारीको टिम आफैले गर्ने छ।

किनकि विश्वको अभ्यास अनुसार प्रत्यारोपण सुरु गरेको १० देखि १२ वटा प्रत्यारोपणसम्म विदेशी टिमले सहयोग गर्नुपर्ने हुन्छ। तर यो भन्दा पनि आफूहरुले चाँडो गर्न सक्ने उनी बताउँछन्।

योसँगै अब आफूहरु महिनामा एउटा प्रत्यारोपण गर्ने योजनाका साथ अगाडि बढिरहेको डा. भण्डारीले बताए।

उनको परिचय…


उनी आफूलाई कलेजो प्रत्यारोपण सर्जनभन्दा पनि ‘लिभर प्यानक्रियाज सर्जन’ भनेर आफूलाई चिनाउन उत्साहित हुन्छन्। ‘मैले यो सर्जरीहरु सयौँ गरेको छु। यसमा पनि ठुल्ठुला सर्जरी हुन्छन्। त्यसैले म आफूलाई यही भनेर चिनाउन सजिलो मान्छु’, उनले भने।

‘कलेजो प्रत्यारोपण’ले आफूलाई चिनाए पनि उनको नजरमा भने अझै धेरै गर्न बाँकी भएका कारण अहिले नै कलेजो प्रत्यारोपण सर्जन भनेर परिचय दिन नसक्ने उनले बताए।

उनले थपे, ‘अहिले त हामीले सुरु मात्र गरेका छौँ। विदेशी साथीहरुको सहयोगमा काम गरिरहेका छौँ। जुन दिन म र मेरो टिमले पूर्ण रुपमा ‘टेकओभर’ गर्न थाल्छौँ। त्यसपछि मात्र म आफूले आफूलाई कलेजो प्रत्यारोपण सर्जन भनेर चिनाउन रुचाउँछु। हुन त ट्रेन मान्छे हुँ। तर पनि जुन दिन देखि आफै गछौँ। अझ म गर्वका साथ ‘म कलेजो प्रत्यारोपण सर्जन’ भनेर चिनाउन चाहन्छु।’

खुशी!!!


सामान्य मानिसलाई जे कुराले खुसी मिल्छ, डाक्टरलाई पनि त्यस्तै कुराले खुसी मिल्ने छ। तर उनको पेशाले उनलाई महान तुल्याएको छ। कयौँ व्यक्तिको जीवन बचाएको बचाएका छन्। कयौँका लागि वीवन दाता बनेका छन्। नयाँ जीवन दिएका छन्। मुर्झाएको परिवालाई खुसी दिएका छन्।

त्यसैले त डाक्टरलाई भगवानको स्वरुप भनिन्छ। त्यही भगवान हुन्, डा. भण्डारी पनि।

अस्पताल बसेर निको भइ विरामी घर फर्किँदा उनलाई सबैभन्दा धेरै खुसी मिल्छ।

उनले भने, ‘विरामीलाई निको बनाउनु मेरो कर्तव्य हो। तर कहिले काहीँ कोशिस गर्दा गर्दै पनि ठिक बनाउन सकिँदैन भन्ने हुन्छ। आश नै मरिसकेको विरामीमा कोशिस गर्दा गर्दा सुधार आउँछ। र निको भएर घर फर्किन्छन्। त्यो बेला असाध्यै खुसी भइन्छ।’

विरामीले बारम्बार दिने गरेको धन्यवादले उनलाई आनन्दित बनाउँछ।

पेशा बाहिरको रुची


उनी अरुलाई बचाउँछन्। र सँगसँगै आफूलाई पनि। समय मिलाएर उनी हप्तामा दुई दिन फुटबल खेल्न पुग्छन्। काम बाहेक आफूलाई खुसी मिल्ने ठाउँ उनी खोजिरहन्छन्।

उनी एक अब्बल डाक्टर हुनका साथै राम्रो गायक पनि हुन्। खाली समयमा उनी गीत गुनगुनाउँछन्। एकान्तमा गुनगुनाउने मात्र होइन्, उनले चार वटा गीत रेकर्ड पनि गरिसकेका छन्। जुन उनले आफ्नो युट्यूब च्यानलमा अपलोड गरेका छन्।

धेरैलाई लाग्न सक्छ, डाक्टरले पनि गीत गाउँछन् र? त्यो कला डा. भण्डारीमा छ। उनी सानैदेखि गीत गाउन रुचाउँथे। अहिले पनि फुर्सद हुने बित्तिकै गीत अभ्यास गरेर बस्छन्।

उनले भने, ‘म सायद कक्षा चार पाँचमा पढ्थेँ। राष्ट्रिय सभा गृहमा हुने नेपालको पहिलो रियालीटी सो ‘प्रतिभाको डबली’मा जानका लागि गीतको अभ्यास गरेको थिएँ। गीत पनि याद छ, जीवन हाम्रो। तर के कारण हो ठ्याक्कै मलाई थाहा छैन। म जान पाइनँ। त्यो पछि कहिल्यै त्यो मौका पनि जुरेन। ठूलो हुँदै गएपछि पढाइतिर बढी ध्यान जान थाल्यो।’

त्यो मौका उनले नगुमाएको भए, अहिले आफू गायक भने हुन्थे कि भन्ने डा. भण्डारीलाई लाग्छ।

गत वर्ष मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल पुगेका प्रधानमन्त्रीलाई आईसीयूमा हुँदा डा. भण्डारीले आफ्नो गीत सुनाएका थिए।

त्यही बेला प्रधानमन्त्रीले उनलाई गीत गाउन हौसला दिए। गीत गाउनका लागि प्रेरित गरेका थिए।

अनि डा. भण्डारीले फेरि गीत गाउन सुरु गरेका छन्।

समयको व्यवस्थापन


आर्मी स्कुलमा पढ्दा उनले दुई वटा कुरा सिके, ‘अनुशासन र समयनिष्ठ’। उनी समय व्यवस्थापन कसरी गर्ने उनलाई यसको राम्रो ज्ञान छ। काम सँगसँगै आफ्नो व्यक्तिगत जीवनलाई सन्तुलित बताएर अगाडि बढ्ने खुबी डा. भण्डारीमा छ।

चाहे परिवार होस्, चाहे काम वा चाहे अन्य कुराहरु नै किन नहुन्, उनले हरेक कुरालाई मिलाउन जानेका छन्।

त्यसैले त उनी भन्छन्, ‘टाइम छैन पुग्दैन भन्नुको अर्थ समयको व्यवस्थापन गर्न नजान्नु नै हो।’

चैत २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्