टोकियो ओलम्पिकमा उत्तर कोरिया सहभागी नहुने

उत्तर कोरियाले यो वर्ष जापानको टोकियोमा हुने ओलम्पिक प्रतिस्पर्धामा सहभागी नहुने घोषणा गरेको छ ।

आफ्ना खेलाडीलाई कोभिड–१९ बाट जोगाउनका लागि ओलम्पिकमा सहभागी नहुने बताएको हो ।

उत्तर कोरियाको घोषणासँगै ओलम्पिकलाई सीमा विवाद समाधानका लागि वार्ताको अवसरका रुपमा प्रयोग गर्ने दक्षिण कोरियाको आशमा ठेस लागेको छ ।

सन् २०१८ विन्टर ओलम्पिकको क्रममा दुई कोरियाले संयुक्त वक्तव्य जारी गरेका थिए । त्यसपछि वार्ता तथा छलफलको शृङ्खला चलेको थियो ।

उत्तर कोरियाले अहिलेसम्म आफ्नो देशमा कोरोना भाइरसको संक्रमण नफैलिएको बताउँदै आएको छ । तर विज्ञहरुले भने सो कुरा असम्भव रहेको बताउने गरेका छन् ।

गएको वर्ष हुनु पर्ने टोकियो ओलम्पिक कोरोना भाइरसको महामारीका कारण यो वर्षका लागि सरेको हो । आउँदो जुलाई २३ देखि प्रतिस्पर्धा सुरु हुँदैछ ।

चैत २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्