बालबालिकामा कोरोना खोपको परीक्षण बेलायतमा तत्कालका लागि रोकियो, कारण के होला?

बेलायतमा बालबालिकामा भइरहेको अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपको परीक्षण तत्कालका लागि रोकिएको छ ।

कोरोना भाइरसविरुद्धको यो खोप र वयश्कहरुमा देखिएको दुर्लभ प्रकारको ब्लड क्लट्सको सम्बन्धबारे भइरहेको अनुसन्धान नसकिएसम्मका लागि बालबालिकामा खोपको परीक्षण रोखिएको हो ।

अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक एन्ड्रयू पोलार्डले परीक्षणलाई लिएर सुरक्षा सम्बन्धी कुनै पनि चासो वा चिन्ता नरहेको तर ब्लड क्लट्स सम्बन्धी भइरहेको अनुसन्धानको प्रतिवेदनको पर्खाईमा वैज्ञानिकहरु रहेको बिबिसीलाई बताएका छन् ।

खोपको परीक्षणका लागि झण्डै ३०० बालबालिकाले स्वतन्त्र रुपमा आफ्नो नाम टिपाएका छन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले खोपका लागि पालो आएपछि लगाउन सर्वसाधारणसँग अपिल गरेका छन् ।

बेलायतमा अहिलेसम्म तीन करोड १६ लाख भन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । कुल ५४ लाख मानिसले खोपको दुवै मात्रा पाएका छन् ।

बेलायतमा अहिले अक्सफोर्ड–एस्ट्राजेनेका र फाइजर–बायोएनटेकको खोप प्रयोग भइरहेको छ । मोदेर्नाले विकास गरेको खोपले स्वीकृति पाएको छ ।

बेलायतमा अक्सफोर्डको खोपको प्रभावकारिता बालबालिकामा कस्तो छ भन्ने थाहा पाउनका लागि गएको फेब्रुअरीदेखि परीक्षण सुरु भएको हो । परीक्षणमा ६ देखि १७ वर्षसम्मका बालबालिका तथा किशोर किशोरी सामेल छन् ।

तर खोप लगाएका केही वयश्कहरुमा ब्लड क्लट्स बनेपछि खोपसँग त्यसको सम्बन्ध र प्रभावबारे अनुसन्धान भइरहेको छ । सो अनुसन्धानको रिपोर्ट नआउँदासम्मका लागि बालबालिकामा भइरहेको परीक्षण रोकिएको हो ।

चैत २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्