ब्राजिलमा एकै दिन चार हजार भन्दा धेरैको मृत्यु

ब्राजिलमा कोरोना भाइरसका कारण एकै दिन अहिलेसम्मकै धेरै चार हजार भन्दा बढिको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ब्राजिलमा कोभिड–१९ का कारण चार हजार १९५ जनाको ज्यान गएको हो ।

योसँगै ब्राजिलमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको कुल संख्या तीन लाख ३६ हजार ९ सय भन्दा बढि पुगेको छ । कुल संक्रमितको संख्या एक करोड ३१ लाख भन्दा बढि पुगेको छ ।

बढि संक्रामक भाइरसको नयाँ भेरियन्टका कारण ब्राजिलमा संक्रमणदर तीव्र भएको छ । अस्पतालहरुमा संक्रमितहरुको संख्या अत्याधिक छ । धेरै क्षेत्रका अस्पतालहरु अब थप सेवा प्रदान गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

तर राष्ट्रपति जायर बोल्सोनारोले भने संक्रमण नियन्त्रणका लागि लकडाउन लगाउन सकिने विकल्प अस्वीकार गर्दै आएका छन् । उनले लकडाउनका कारण अर्थतन्त्रमा पर्ने प्रभाव भाइरसका कारण हुने भन्दा घातक रहने बताउँदै आएका छन् ।

स्थानीय तहहरुले लगाएका केही प्रतिबन्धात्मक उपायहरु पनि खारेज गर्ने प्रयास बोल्सोनारोले गरेका छन् । मंगलबार एकै दिन चार हजार भन्दा बढिको मृत्यु भए पनि उनले त्यसबारे केही प्रतिक्रिया दिएका छैनन् ।

अधिकांश राज्यहरुमा ९० प्रतिशत सघन उपचार कक्षहरु कोभिड–१९ का बिरामीले भरिएका छन् ।

चैत २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्