घर नजिकैबाट बेपत्ता भएका सर्लाहीका ३ वर्षे बालक भारतमा भेटिए

जनकपुरधाम – सर्लाही स्थित घर नजिकैबाट बेपत्ता भएका बालक भारतमा फेला परेको छ ।

मलंगवा नगरपालिका वडा नं. ५ भाडसरका रमेश सहनीका तीन वर्षीय छोरा घर नजिकैबाट बेपत्ता भएका थिए । उनी भारतमा फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

सोमबार बिहान करिब ११ बजे रमेश सहनीका छोरा आदर्श सहनी घर वरिपरी खेली रहेको अवस्थामा अचानक बेपत्ता भएका थिए । जिल्ला प्रहरीबाट प्रहरी निरीक्षक कृष्ण गिरीको कमाण्डमा खोजीका लागि खटाइएको टोली भारतीय पक्षसँग समन्वय गरि मंगलबार दिउँसो करिब १ बजे भारतको विहार राज्यको सीतामढी जिल्ला सोनवर्षा, मुसरनीयाबाट बालकलाई उद्धार गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कुँवरले जानकारी दिए ।

उद्धार गरिएका बालकलाई अभिभावकको जिम्मा लगाई घटनाका सम्बन्धमा थप अनुसन्धान थालिएको सर्लाही प्रहरीले जनाएको छ ।

चैत २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्