१२ वर्ष अगाडि बनेको ‘फूल बुट्टे सारी’को कति ओटा कभर?

पछिल्लो समयको अत्यन्तै चर्चित गीत ‘फूल बुट्टे सारी’ गीत नेपालमा मात्रै हैन विश्वभर चर्चित भएको छ। राजनराज शिवाकोटीको संगीत र शब्दमा बनेको यो गीत नेपाल लगायत अफ्रिकी, अमेरिकन, पञ्जाबी लगायत अरु देशमा पनि कभर भइरहेको छ। कोही कोहीले यो गीतलाई उनीहरुको भाषामा रुपान्तरण गरेका छन्।

टिकटकमा प्रतिक गुरुङले गाएको ‘फूल बुट्टे सारी’को छोटो भाग भाइरल भयो। गितार र काजोन बजाएर गाइएको कभर गीत धेरैले रुचाए। त्यसपछि ओरिजिनल गीतको खोजी युट्युबमा भयो।

गीतका लेखक राजन राज शिवाकोटीले यो गीत १२ वर्ष अगाडि बनेको जानकारी दिए। उनले ‘फूल बुट्टे सारी’ को लेजेण्डरी भर्जन सार्वजनिक कार्यक्रममा उनले गीतको रचनाको समयलाई सम्झिए। १२ वर्ष अगाडि गायक मार्मिक लामाले स्वर दिएका थिए, गीत अहिले सुनिरहेका भन्दा ‘फास्ट’ छ।

लकडाउनको समयमा प्रतिकको स्वरमा टिकटकका भिडियो भाइरल भएपछि यो गीतलाई राजनले फेरी रेकर्ड गराए। अहिले बनाउँदा तुलनात्मक रुपमा ‘स्लो’ मेलोडिमा संगीत बन्यो र गीतमा गायिका मिलन नेवारले स्वर भरिन्। गीतमा चर्चित मोडल पल शाह र मल्लिका महतले अभिनय गरे। गीतको भिडियो र अडियो धेरै रुचाइयो। अहिलेसम्म यो गीतलाई ४ करोड ६० लाखभन्दा धेरै पल्ट हेरिएको छ।

यो गीतलाई ‘फिमेल भर्जन’ भनेर सार्वजनिक गरिएको थियो यसपछि भने राजन राजले छोरी अरिस्मा शिवाकोटीलाई गीतको ‘चाइल्ड भर्जन गाउन लगाए। राजनराजले यो गीतलाई पुनः मार्मिक लामालाई गाउन लगाए। त्यसपछि यो गीतको लेजेण्डरी भर्जन पनि सार्वजनिक भयो यो गीतलाई वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठले गाए। गीतको लोकप्रियता चुलिने क्रम बढ्दै गयो।

मदनकृष्णपछि यो गीतलाई अफ्रिकन नागरिकले गाइन्, भिडियो बनाइन्। डि क्याप्टेन बियोन्सी फ्यामान्सीले गाएको यो गीतलाई झण्डै ६० लाख पल्ट हेरिसकिएको छ।

हाल आएर गीतको संस्कृत भर्जन पनि आएको छ। गीतलाई जागरण घिमिरेले प्रस्तुत गरेका छन्।

एक साता अगाडि पञ्जाबका युट्युबर लक्की सिद्धुले पनि फुल बुट्टे सारीको कभर गीत गाएका छन्।

यस्तै भिटेम गुलले यो गीतको अंग्रेजी भर्जन पनि सार्वजनिक गरेका छन्।

युट्युबमा फूल बुट्टे सारी कभर टाइप गरेपछि धेरै गीतहरु नयाँ नयाँ अनुहारका साथ देखिन्छन्। कभर गाउनेहरु मध्ये धेरैले आफैले गीतार बजाएका छन्।

यो गीतको लोकप्रियता यति छ की हरेक भिडियोले राम्रो दर्शक पाएका छन्। आफैले गितार बजाएर गीत गाएर राखेकी हेलिना लिम्बुको भिडियोमा १२ लाख पल्ट हेरिएको छ। यस्तै खुसी भूषाल, यजी राई अनि साजीन महर्जन, जेनी र जेम्सले गाएका छन्।

चैत २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्