दुई विख्यात राईका स्कुल सपना

सोल्मा (खोटाङ)- यता हामी नास्ताको टेबलमा बसेका छौं। उता चुल्हो वरिपरि अन्नदेखि ओलन हुँदै तरकारीसम्मका थुप्रो लागेका छन्।
‘यी सबै यसै स्कुलका उत्पादन हुन्,’ टेबलकै अर्कातिर विद्यालयका संस्थापक एवं सुपरिचित कृषिविज्ञ मदन राई भनिरहेका थिए, ‘मेरा विद्यार्थीलाई कृषि मात्र होइन अब कृषिमा आधारित उद्यम र सेवा व्यावसायमा पनि पारंगत बनाउँदै लगिरहेको छु।’
राईका कुराले नास्ता टेबलका तेस्रो सदस्य एवं विख्यात संगीतकार गणेश रसिकका आँखामा आनन्दको भाव तैरिन थाल्छ।
यी दुवै फरक क्षेत्र कृषि अनि संगीतबाट मुलुकभर चिनिएका नाम हुन्। तर, यहाँ भने दुवैलाई कुनै तेस्रो थोकले जोड्ने क्रम चलिरहेको छ। त्यो हो, शिक्षा।
झण्डै डेढ दशकदेखि सदरमुकाम दिक्तेल छेउमा एकदमै बेग्लै ढंगले चलाइएको मदन राईको स्कुल मुलुकभर चर्चित छ। एक हिसाबले गुरुकूल पद्धतिमा चलेको स्कुल हो यो।
त्यसैले त कोभिड–१९ को त्राहिमामले संसारभरको शैक्षिक क्षेत्र आक्रान्त भइरहँदा पनि ‘शुभद्रा मदन फाउण्डेसन’ले खोलेको यो‘जनजागृति माध्यमिक विद्यालय’मा एक दिन पनि पठनपाठन रोकिएन।
बरु अवस्था ठीक उल्टो पो भइदियो।
‘अघिपछि पठनपाठनको लक्ष्य ८० देखि ९० प्रतिशत मात्र पुरा हुन्थ्यो,’ राई भन्दै थिए, ‘लकडाउन सुरु भएपछि भने शतप्रतिशत लक्ष्य हासिल हुनेगरी हामीकहाँ पढाइ अघि बढ्यो।’
राईका अनुसार सामान्य अवस्थामा उनका शिक्षक र विद्यार्थीहरु विदामा गइरहन्थे। तर, गत वर्ष भने महामारीको जटिलताले गर्दा सबैले सम्पूर्ण अवधि विद्यालयमै बिताए।
यहाँ पढ्ने विद्यार्थीले महिनाको छ देखि सात हजार रुपैयाँ मात्र तिरे पुग्छ। त्यसैमा खाने बस्नेदेखि पठनपाठनका सबै खर्च समेटिन्छन्।
यसरी शुल्क तिर्नसक्ने विद्यार्थीबाट लिएको पैसाले तिर्न नसक्ने विद्यार्थीहरु लाभान्वित हुने परिपाटी यहाँ लागू गरिएको छ।

जस्तो कि, आमा बाबुलगायत अभिभावकै नभएकालाई पूर्ण छात्रवृत्तिमा पढाइन्छ भने आमामात्र भएका गरिबले केवल ५० प्रतिशत शुल्क तिरे पुग्छ। त्यसैगरी लोपोन्मुख जातका केटाकेटीले ५० प्रतिशतदेखि पूर्ण छात्रवृत्तिसम्म पाउनसक्ने बन्दोबस्त छ।
मुलुककै भौगोलिक एवं जातीय फूलबारीजस्तो प्रतीत हुनेगरी यहाँ विद्यार्थी अटाएका छन्।
त्यसैले त अघि विद्यालय भ्रमणका क्रममा भेटिएका केटाकेटीलाई मदन राई हामीतिर देखाउँदै अह्राउँथे– ‘लू आफ्नो नाम र घरको ठेगाना बताऊ त।’
जवाफमा महतो, रोकाया, महर, पासवान, परियार, अधिकारी, शेर्पा, लामा, घर्तीहरु धमाधम ठाउँका नाम लिन्थे जसमा तराईको झापादेखि सुदुर पश्चिमका दार्चुला हुँदै बाजुरासम्मका नाम सुनिन्थ्यो। कर्णालीको हुम्ला, कालिकोट हुँदै मुगुका केटाकेटी पनि उत्तिकै भेटिए।
‘हामीकहाँ अहिल्यै ५२ जिल्लाका विद्यार्थीहरु पुगिसकेका छन्,’ राई भन्दै थिए, ‘यो विविधता बढ्दो क्रममा छ।’
नेपालका अन्य विद्यालयहरुभन्दा फरक आफूहरुले औपचारिक शिक्षा मात्र नभई क्षमतावान नागरिकसमेत तयार पार्ने अठोट बोकेको राईले सुनाए।

यहाँ केटाकेटीलाई किताब घोकाउन लगाइँदैन। बरु व्यवहारिक किसिमले सिकाउने काम गरिन्छ। यसरी तयार भएका विद्यार्थीहरु कालान्तरमा जागिरे मानसिकताभन्दा पनि उद्यमशील जनशक्तिका रुपमा अगाडि आउने उनी दाबी गर्छन्।
‘मैले संसारका एक से एक उत्कृष्ठ भनिएका विश्वविद्यालयहरुमा पढ्ने मौका पाएँ,’ राई भन्छन्, ‘मेरो स्कुलमा दस वर्ष बिताउने विद्यार्थीलाई एक किसिमले म आफ्नै क्लोनिङ गरेजस्तो हिसाबले तयार पारेर योग्य बनाउने लक्ष्य लिएको छु।
…
मुख्य बजारभन्दा अलिक पर यो स्कुल छ। दिक्तेललाई भोजपुर सदरमुकामसँग जोड्ने हिसाबले धमाधम तयार हुँदै गरेको फराकिलो राजमार्ग छेवैमा।
सडकसँग जोडिनेगरि भव्य नयाँ भवन बनेको छ। त्यसका निम्ति कोशी प्रदेश सरकारले आर्थिक सहायता उपलब्ध गराएको रहेछ।
‘यो भवनमा कृषि बजारदेखि व्यवस्थित अतिथि गृह हुँदै भव्य रेष्टुरेन्टसम्म चल्नेछन्,’ निर्माणको अन्तिम अवस्थातिर पुगेको भवन घुमाउँदै राई भनिरहेका थिए, ‘यसले हाम्रा विद्यार्थीलाई थप सिप सिकाउनेदेखि लिएर स्कुललाई आर्थिक भरथेग गर्न पनि सघाउनेछ।’
त्यस भवनभन्दा तल लोभलाग्दो विद्यालय परिसर छ। कतै विशाल भान्सा, कतै फराकिलो कम्प्युटर कक्ष, कतै पुस्तकालय, कतै ठूलै टेलर्समा जस्तो जताततै सिलाइ मेसिनहरु, कतै धान कुट्नेदेखि तेल पिन्नेसम्मका मेसिनहरु, कतै लहरै कक्षाकोठा। तर, राईले भने हामीलाई अन्तै लगे। त्यो विद्यार्थीहरुका लागि लस्करै बनाइएको शौचालय रहेछ।
‘यहाँ दिसा गरेको बेग्लै र पिसाब फेरेको बेग्लै ठाउँबाट जान्छ,’ राईले देखाए, ‘यसरी जम्मा भएका दिसा र पिसाब सबै मलमा प्रयोग हुन्छन्।’
उक्त विद्यालय परिसरभन्दा पनि तल चाहिँ आवास क्षेत्र छ।
यतै ढुंगाले बनेको एउटा पुरानो घरमा हामी पनि अघिल्लो रात बास बसेका थियौं।
‘ऊ त्यो परको ट्याम्के डाँडा हो,’ सबेरै उठ्ने बित्तिकै रसिकले बार्दलीबाट पूर्वतिरको अग्लो पहाड देखाउँदै भनेका थिए, ‘मदन भाइ ट्याम्के वारिको खोटाङे र म पारिको भोजपुरे भए पनि हामी दुवैले एकै स्कुलमा पढेका थियौं।’
अब भने रसिकले यो यात्राको रहस्य खोले।

‘ट्याम्के वारिको यो स्कुलजस्तै भोजपुरमा पनि मदन भाइकै मातहतमा एउटा यस्तै भव्य स्कुल बनोस् भन्ने मेरो सपना छ,’ रसिकले अगाडि थपे, ‘त्यसको निम्ति म आफूले पैतृक तवरबाट पाएको जग्गा जमिन जति आवश्यक पर्छ, त्यो सुम्पन तयार छु।’
यसो भनिरहँदा ७५ वर्षे रसिकका आँखा रसाएका देखिन्थे।

…
कृषिविज्ञ राईको स्कुलमा यो मेरो दोस्रो आगमन हो।
करिब एक दसकअघि म दिक्तेलकै अर्को भेगमा उभिएको यो विद्यालय आएको थिएँ। त्यतिबेला हामी सुनकोशी तरेर पैदलै दुई सातासम्मको लगातार हिँडाइपछि संखुवासभासम्म पुगेका थियौं। काभ्रे, सिन्धुली, रामेछाप, ओखलढुंगा, खोटाङ, भोजपुर, तेह्रथुम हुँदै संखुवासभाको चैनपुरसम्म। त्यो यात्रामा खोटाङ पुग्दाको रात मदन राईले भर्खर जग हाल्दैगरेको त्यही विद्यालय हाम्रो बिसौनी बनेको थियो।
त्यो विद्यालयमा नेपालको पहाडी भेगमै उदाहरणीय बन्नसक्ने व्यवस्थित अतिथिगृहसमेत थियो।
त्यो सपनाजस्तो एक रातको बसाइमा हामीलाई विद्यार्थीहरुले नै सञ्चालन गरेको भान्छाघरमा खाना खुवाइएको थियो भने गीतसंगीतमा पारंगत विद्यार्थीहरुले मध्यरातसम्मै नाचगान प्रस्तुत गरेका थिए।
…
‘त्यो डाँडामा पानीको समस्या भएपछि अहिले यता सारेका हौं,’ राईले बताए, ‘सर्ने बेलामै यहाँ पहिलेदेखि चलिरहेको पुरानो विद्यालयसमेत समेटेपछि अब हामीले आफ्ना विद्यार्थीलाई सरकारी स्कुलकै सर्टिफिकेटसमेत दिन थालेका छौं।’
डाँडाबाट ओरालो लाग्दै गएपछि राईले पर देखिएको एउटा भवनतर्फ औंल्याए। पुरानो विद्यालयको भवन रहेछ। अब यो विद्यालयको स्तरउन्नति गरेर ‘प्लस टु’ पुर्याउने तयारी अघि बढिसकेको छ।

त्यो सिंगो डाँडा अनेक तरकारी र अन्नका बालीले लटरम्म देखिन्थे। त्यतैतिर राईका विद्यार्थीहरु समूह समूहमा काम गरिरहेका अनि एकले अर्कालाई अर्थ्याइरहेका पनि भेटिन्थे।
‘हिजोआज पो आधुनिक मेसिन आयो र धेरैथोक सजिलो भएको छ,’ ओह्रालो लाग्दै गर्दा राई भनिरहेका थिए, ‘हाम्रा पुर्खाहरुले यी गैरीखेतहरु नंग्रा खियाएर कति मेहनतले तयार पारेका थिए कल्पना गर्नुस् त!’
कुरा गर्दागर्दै राई कल्पनाशील भए।
‘यी प्रत्येक गरामा बेग्लाबेग्लै रंगका विरुवा अनि फूलहरु रोपेर रंगीचंगी बनाउने मेरो सपना छ,’ राई भन्न थाले, ‘त्यो यति सुन्दर देखिनेछ कि सिनेमाको सुटिङदेखि लिएर पर्यटकसम्मलाई त्यसैले निम्त्याउनेछ।’
यस किसिमका गराहरुलाई चीन र भियतनामतिर यसैगरी सजाएर पर्यटक आकर्षित गरिएको राईले देखेका रहेछन्।
यसरी ७३ वर्षको उमेरमा पनि अनौठा सपनाहरु पूरा गर्न कस्सिएर लागेका मदन राई को हुन्?
पछिल्लो समय यु ट्युबमा झुम्मिएका दर्शकहरुले उनलाई ‘यौनका बारेमा उन्मुक्त भएर बोल्ने मानिस’का रुपमा चिन्छन्।
यु ट्युबरहरुलाई जे देखाएर भए पनि उनीहरुको च्यानल हेरिदिने दर्शक बढाउनुपर्ने हुन्छ। यता राइलाई भने मनमा लागेको कुरा बोल्न कुनै दकस छैन।
‘यौन खराब कुरा होइन,’ राई हाकाहाकी भन्छन्, ‘मसँग त्यही सोध्न आएपछि म पनि उनीहरुलाई सन्तुष्ट हुनेगरी जवाफ दिएर पठाइदिन्छु।’
राईको यस्तै परिचयले गर्दा अघिल्लो दिन मात्रै सिन्धुलीको ग्वालटारमा एउटा विचित्र दृश्य देखिएको थियो। त्यहाँ स्थानीय कृषकहरुसँग एकैछिनको तालिमजस्तो आयोजना गरिएको थियो। सहभागीमध्ये कतिपय तन्नेरी महिला कृषकहरु भने राईतर्फ हेर्दै मुख रातो पारेर मुस्काइरहेका देखिन्थे।
‘त्यो युट्युब हेरेर आउनु भयो कि क्या हो?’ राईले हाकाहाकी सोधे, ‘त्यसमा पनि मैले चाहिने कुरा नै बोलेको हुँ। तर, त्यतातिर धेरै ध्यान चाहिँ नदिनुस्।’
प्रतिउत्तरमा महिलाहरुको अनुहार झनै रातो बनेको देखिन्थ्यो।
यो सब हाँसो र ठट्टाका बाबजुद पनि मदन राईको आफ्नै संघर्षका कथा छन्।

‘मेरो गाउँ रतन्छामा अहिले पनि न बिजुली बल्छ, न मोटर जान्छ,’ उनी भन्छन्, ‘त्यतिबेला त झनै अनकन्टार ठाउँमा नौ वर्षको उमेरसम्म मैले कखरा पढ्ने मौका पनि पाएको थिइँन।’
उनले खोटाङमै एसएलसीसम्म पढे।
‘त्यसपछि काठमाडौं पढ्न जाँदा मेरो श्रीसम्पत्ति भनेकै आमाले दिएको आधा तोलाको मारवाडी सुन, डोकोमा चारमाना चामल र चार मुठी सिन्की अनि पकाएर खान एउटा सिलावरको भाँडो थियो,’ उनी भन्छन्, ‘भरियाले जस्तै त्यही डोको बोकेर धरान झरेको थिएँ।’
त्यसरी अन्जान बाटो पछ्याउँदै काठमाडौं आइपुगेका राईले भारतबाट कृषिमा स्नातक अनि बेलायतबाट स्नातकोत्तर गरे। धेरै विषयमा स्नातकोत्तर गरेका उनले फ्रान्स, स्वीट्जरल्याण्ड, जापान र इजरायलबाट पनि उच्चशिक्षा लिए। अमेरिकामा पिएचडी गर्दागर्दै राष्ट्रसंघको जागिर पाए।
‘पीएचडी भनेको कुनै ठूलो कुरो होइन,’ उनी ठट्टामा उडाउँदै भन्छन्, ‘त्यो नाथे त जहिले पनि गर्न सकिन्छ।’
बरु राष्ट्रसंघमा १५ वर्षसम्म जागिर खाँदा १२ वटा देशमा काम गर्नुको अनुभव महत्वपूर्ण भएको उनी बताउँछन्।
‘विद्यार्थी भएर पढ्दै र जागिरे भएर पनि संसार डुल्दाडुल्दै म ७२ वटा मुलुक पुगेँ,’ उनी भन्छन्, ‘आफू उच्च ओहोदामा भए पनि ती सबै मुलुकमा नेपालीलाई हेर्ने दृष्टिकोण चाहिँ असाध्यै नाजुक पाएँ।’
यस्तो हुनुको कारण के रहेछ? यो जिज्ञासाले राईभित्र खुल्दुली मच्चियो।
‘गरिबी!’ उनले भने, ‘गरिबीकै कारण हामीलाई सबैतिर हेप्दा रहेछन्।’
अनि नेपाल गरिब कसरी भयो? यो फेरि उनले बुझेनन्।
‘मेरो बुझाइमा त देश सम्पन्न हुने भनेको पानी र वनस्पतिले हो, त्यसपछि धातुले’, उनी भन्छन्, ‘अनि पानी र वनस्पतिमा त हामी फेरि बेपत्ता धनी छौं।’
त्यसो भए केले हामीलाई दरिद्र बनायो?
राईलाई लागेछ यो मुलुकको राजनीति ठीक भएन।
भर्खर भर्खर पढाइ सकेको बेला मुलुकमा पञ्चायती व्यवस्था थियो। त्योबेला राईले मुस्ताङ जिल्लामा गएर सेवा गरेका थिए।
‘मार्फामा स्याउ फलाएर राजा वीरेन्द्रलाई चखाएपछि उनी असाध्यै खुशी भए,’ राई सम्झन्छन्, ‘मेरो आठवर्षे कार्यकालमै उनले चारवटा तक्मा दिएका थिए।’
त्यति कम उमेरमै प्रथम श्रेणीको जागिरे भएका राईको निम्ति त्यो ठूलो उपलब्धि थियो। सक्रिय राजतन्त्रको बेलामा कतैबाट पनि राजाको नजिक नरहेका आफूजस्ताका लागि त त्यत्रा तक्मा झनै दुर्लभ भएको उनी बताउँछन्। तैपनि विदेशको अझ ठूलो अवसरले गर्दा उनले सरकारी जागिर छाडे।
‘राष्ट्रसंघमा पेन्सन पकाएर नेपाल आउँदा चाहिँ यहाँ प्रजातन्त्र आइसकेको थियो,’ राई भन्छन्, ‘त्यसैले राजनीति गरेर मुलुकको मुहार फेरिदिने अठोट मभित्र पस्यो।’
उनी नेपाली कांग्रेसमा लागे। गिरिजाप्रसाद कोइरालाको नजिक पुगे।
‘मैले कांग्रेसभित्र झनै घिनलाग्दो रुप देखेँ,’ उनी भन्छन्, ‘एक हिसाबले राजनीतिबाटै वितृष्णा भयो।’
आफूले युरोप, अमेरिकामा बसेर पढ्दा देखे–बुझेको प्रजातन्त्र र नेपालमा भनिएको प्रजातन्त्रमा आकाश जमिनको अन्तर थियो।
यो मुलुकमा समस्याको जरा कहाँनिर छ भनेर झनै तीब्र छटपटी सुरु हुनथाल्यो।
‘त्यसपछि बल्ल मैले पत्ता लगाएँ,’ राई भन्छन्, ‘समस्याको जरा रहेछ बिग्रिएका मानिसमा।’
त्यसपछि मानिस किन बिग्रिए भन्ने खोजीमा लागेछन्।
त्यो पनि धेरै दिनसम्म उनको लागि रहस्य बनेन। जुन पानी र वनस्पतिका कारण यो मुलुक सम्पन्न छ भन्ने उनी ठान्थे त्यही मुलुकका मानिसको दिमागमा एउटै कुरा भरिएको हुँदो रहेछ, ‘पढेपछि हलो जोत्नु पर्दैन।’
‘हो…त्यहाँ रहेछ समस्या,’ उनले थपे, ‘आज पर्यन्त त्यही चलिरहेको छ।’
आफूले कृषि विज्ञान पढेको। बेलायतमा पढ्दा माटोको महत्व बुझेको। अनि यहाँ चाहिँ माटोको यत्रो उपेक्षा छ। त्यत्रा संसारभरका प्रमाणपत्र थुपारेपछि आफूले ‘हलो नजोती हुँदैन’ भन्ने जुन ज्ञान पाए त्यहि कुरा यहाँ उपेक्षित रहेछ।
‘संसारमा जति पनि धनी मुलुकहरु छन् त्यसलाई थोरै राम्रा मानिसले बनाएकै कारण त्यो अवस्थामा पुगेका हुन्,’ उनले थपे, ‘त्यसैले बिग्रेका मानिसलाई सपार्न सकियो भने सबै कुरा बन्छ भन्ने मलाई लाग्यो र यतातर्फको पाइला चालेँ।’
राईले गाउँमा आएर साथीभाइ जम्मा गर्न थाले। ‘खोटाङ विकास मञ्च’ खडा गरे। पाँच सात वर्षमै १७ हजारभन्दा बढी युवाहरुलाई कृषि तालिम दिएर दक्ष बनाए।
‘तर, काम लागेन,’ उनी भन्छन्, ‘त्यहाँ पनि फेल खाएँ।’
उनलाई चक्कर लाग्न थालेछ। ‘के कारणले यसरी दक्ष बनाएका युवाहरु काम लागेनन्?’
त्यसको कारण पनि पत्तो लाग्यो। मानिसको किशोरवय कट्दा नकट्दै बानी बिग्रिसकेको हुँदोरहेछ।

‘जन्मँदा खालि जन्मेको मानिसलाई अनेक नचाहिँदा कुरा दिमागमा भर्दै हुर्काइसकेका हुन्छौं,’ उनी भन्छन्, ‘त्यसपछि जे जति सिकाए पनि काम लाग्दैन।’
राई फेरि नयाँ योजना बनाउनतिर लागे।
‘अब भने एउटा बोर्डिङ स्कुलजस्तो चलाउने र पाँचदेखि आठ वर्ष बीचका केटाकेटीदेखि नै लिन सुरु गर्ने विचार गरेँ,’ राईले भने, ‘बल्ल तल्ल आएर अब भने ठ्याक्कै मैले चिताएकै कुरा भइरहेको छ।’
आफ्नो परियोजनाले बितेको सात वर्षमा नपत्याउँदो ढंगले सफलताको सिँढी उक्लँदै गएको उनी सुनाउँछन्।
सुरुमा त पढाइमा ठ्याम्मै मन नलगाउने केटाकेटी मात्र उनका स्कुलमा आइपुगे। कतिपय त वर्षौं बोर्डिंङमा राख्दा पनि पढ्दै नपढेका। दिक्क लागेपछि बाबुआमाले डाँडाको स्कुलमा पठाइदिएका।
‘तिनीहरु कहाँ नराम्रो केटाकेटी हुनु?’ राई भन्छन्, ‘किताब घोक्न मन नपराउने मात्रै थिए।’
राईले उनीहरुको रुचि अनुसारका काम र प्रविधि अगाडि राखिदिएपछि उनीहरुले नै फटाफट एक–एक थोक समाते। कसैले मेसिन समाते, कसैले पशुपक्षी समाते, कसैले विरुवा समाते, कोही माछा भनेपछि हुरुक्कै, कोही लुगा सिलाउन पारंगत, कोही भान्छामा मिठो मिठो पकाउने अनि कसैलाई चाहिँ संगीतमा रुचि देखियो।
यसरी विद्यार्थी तयार गर्दा व्यवहारिक ज्ञान मात्र नभई सरकारले निर्धारण गरेको शैक्षिक पाठ्यक्रमलाई पनि पछ्याइएको छ।
सरकारी पाठ्यक्रमलाई आफूहरुले एकरति पनि परिवर्तन नगरेको राई सुनाउँछन्। ‘नेपालको पाठ्यक्रम ठिकठिकै छ,’ उनी भन्छन्, ‘तर सरकारी पाठ्यपुस्तक भने कामै नलाग्ने रद्दी छ।’
त्यसैले सरकारी पाठ्यक्रमलाई पछ्याए पनि पाठ्यपुस्तक भने आफूहरुले नपढाएको राई सुनाउछन्।
‘हामी सबैभन्दा सुरुमा केटाकेटीलाई लेख्न र बोल्न पारंगत बनाउँछौं,’ उनी भन्छन्, ‘त्यसपछि काम गर्न पठाउँछौं र गरेको कामलाई दैनिक डायरीमा लेख्न लगाउँछौं।’
यसरी लेख्दा विद्यार्थीको बुझाइ स्पष्टसँग थाहा हुने राई बताउँछन्।
‘अहिलेको शिक्षा प्रणालीले टाउकाले टेकेर हिँड्न सिकाइरहेको छ,’ राई भन्छन्, ‘हामीले गर्नखोजेको फरक भनेकै टाउकाले होइन खुट्टाले टेकेर हिँड्न लगाउने हो।’
यसरी पढाएका विद्यार्थी साधारण शिक्षामा त अब्बल हुन्छन् नै, अन्तका विद्यार्थीले नजान्ने अर्थात् व्यवहारिक शिक्षामा झन् कहाँ हो कहाँ पारंगत हुनपुग्ने राइको ठोकुवा छ।

माध्यमिक तहसम्म आफुहरुकै स्कुलमा पढाए पनि त्यसभन्दा माथि पढाउन बाहिरका अध्ययन संस्थानहरुसँग समझदारीमा भर्ना गरिदिने गरेको राईले जानकारी दिए। त्यस्ता विद्यार्थीहरु परीक्षा दिन मात्र बाहिर जान्छन्।
‘धेरैजसो त मैले नै पढाएर तयार पारिदिन्छु,’ राई भन्छन्, ‘कोही पनि फेल हुँदैनन्। बरु विशिष्ट श्रेणीमा पास भइरहेका छन्।’
यसरी आफूकहाँबाटै पढाइ सुरु गरेर एमएसम्म पढेका विद्यार्थी टन्नै भइसकेको राई सुनाउछन्।
‘यो भाइ मकहाँ पढेरै अहिले एमए गर्दैछ,’ हामी बसेको मोटर हाँकिरहेका चालकतर्फ देखाउँदै राईले थपे, ‘अनि यसरी हामीलाई सुविधासँग यात्रा गराउन योग्य पनि बनिसकेको छ।’
राईको विद्यालयमा प्रायः समाजबाट उपेक्षा भोगेका र गरीब पृष्ठभूमिका विद्यार्थीहरु आइरहेका छन्। आफूले खोल्न खोजेको स्कुलमा प्रारम्भमा यस्तै विद्यार्थीहरु मात्र आउँछन् भन्ने सुरुमै थाहा पाएको उनी बताउँछन्।
जेजस्तो भए पनि स्कुलमा आउनेबित्तिकै प्रत्येक बच्चालाई राईले ‘आजदेखि तिमीहरु मेरा नातिनातिना भयौ। तिमीहरुले आजैदेखि आफूलाई धनी र जान्ने बाजेको नाति नातिना भन्ठान। थाहा पाइपाइ बिराउने काम नगर्नू र कहिल्यै कसैसँग नडराउनू’ भन्नेगरेका छन्।
‘मैले आड भरोस दिएपछि उनीहरुको आत्मविश्वासै अर्को हुन्छ,’ राईले सुनाए, ‘व्यवहारमै पनि यी मेरा नातिनातिनाजस्तै छन्।’
त्यसैले त अघिल्लो रात राईसहितको हाम्रो मोटर यस विद्यालय परिसरमा प्रवेश गरिरहँदा एकछिनसम्मै हर्षले उफ्रिरहेका केटाकेटीहरुको उत्साह हेर्न लायक देखिन्थ्यो।
अघि बिहान मात्रै पनि बाटोभरि भेटिएका बथानका बथान विद्यार्थीहरु सबै राईलाई देख्नासाथ ‘बाजे गुडमर्निङ’ भनिरहेका थिए।
यता ठम् ठम् हिँड्दैगरेका राई भने हिँड्दा हिँड्दै पनि ती सबैसँग अंग्रेजीमै दोहोरो बात मार्न खोज्थे।
आफूलाइ स्कुल चलाएर ब्यापार गर्ने भन्दा पनि यो देशको जरामै लागेको रोग निको पार्ने इच्छाले यतातर्फ डोर्याएको राई बताउँछन्।
भविष्यमा आफ्ना विद्यार्थीहरु ७७ वटै जिल्लामा फैलिउन् भन्ने सोँच राइले लिएका छन्।

त्यसैले त काठमाडौंबाट सुनकोशी तरेर उक्लँदै गर्दा पनि ठाउँ ठाउँमा मोटर रोक्दै राईले स्कुलका निम्ति किन्न खोजिएको जग्गा हेर्दै आएका थिए।
अनि त्यसैले यो यात्रामा गणेश रसिक पनि समेटिएका छन्।
जसले पिता पुर्खाबाट पाएको भोजपुरको जग्गा जमीनमा यस्तै स्कुल खोलियोस् भनेर मदन राईसँगै आफ्नो सपना पनि एकाकार पार्न खोजिरहेका छन्।
‘यहाँ पाँच सय विद्यार्थी क्षमताका लागि कम्तीमा ५० रोपनी जग्गा आवश्यक देख्छु,’ रसिकले देखाएका फरक फरक स्थानका जग्गा हेरेपछि राई भनिरहेका थिए, ‘यति सुन्दर ठाउँमा त्यस मात्राको जग्गा पाइयो भने म संसारकै राम्रो स्कुल यहाँ उभ्याइदिन सक्छु।’
राईको जवाफ सुनेर हौसिएका रसिक पनि थप्दै थिए–‘तपाईँलाई इच्छा लागेको ठाउँ जहाँ हो त्यहीँ म जग्गाको बन्दोबस्त गरिदिन्छु। मेरो जग्गाले पुगेन भने अर्काको जग्गा किनेरै वा भाडामा लिएरै भए पनि थपिदिन्छु।’
यसरी रसिक र राईले गाउँमा स्कुलको आकांक्षा देखाइरहेको बेला ट्याम्के मैयुङ गाउँपालिकाका अध्यक्ष ध्रुव राई पनि कम्ता उत्साहित देखिएनन्।
‘जग्गाको प्रवन्ध भइसकेपछि भौतिक संरचना र अन्य खर्चबारे एउटा प्रस्ताव बनाएर दिनुस्,’ अध्यक्ष निवासमै हार्मोनियम समातेर रसिकले मिठा गीतहरु सुनाइरहँदाकै क्रममा उनी भनिरहेका थिए, ‘म आगामी बजेटमै गाउँ पालिकाबाट सक्दो सहयोग मिलाइदिन्छु।’