कोरोनाका कारण पाँचखाल लगानी सम्मेलन अन्योलमा

काभ्रेपलाञ्चोक – पाँचखाल नगरपालिकाले चालु वर्षमा लगानी सम्मेलन गर्ने कार्यतालिका बनाए पनि कोरोना भाइरस संक्रमण बढ्न सक्ने भएपछि पुनः रोकिएको छ।

गत आर्थिक वर्षको अन्त्यतिर गर्ने भनिएको लगानी सम्मेलन त्यतिबेला कोरोना भाइरस संक्रमण उच्च जोखिम बढ्दै गएपछि रोकिएको थियो।

लगानी लम्मेलन गर्ने निर्णय गरी तयारीमा जुटेको नगर कार्यपालिकाको योजना कोरोना भाइरस संक्रमणका कारण योजनामै सीमित भएको देखिएको छ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहर बढ्दै गएपछि स्थानीय प्रशासनको सार्वजनिक अपिलसँगै नगरका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जनाएको छ।

‘यो आर्थिक वर्षमा गर्ने लक्ष्य राखेका थियौँ तर कोरोना भाइरस बढ्न सक्ने देखिएपछि प्रशासनको आग्रहमा नगरका सबै कार्यक्रम स्थगन गर्‍यौँ’, नगरप्रमुख महेश खरेलले भने।

खरेलका अनुसार कोरोना संक्रमण शून्य भएपछि चालु वर्षको उपयुक्त समय हेरेर लगानी सम्मेलनको तयारी गर्ने योजना पुनः बनाइने योजना थियो।

नगरले गत आर्थिक वर्षभित्र लगानी सम्मेलन गर्न प्रारम्भिक बजेटसमेत विनियोजन गरिसकेको थियो।

यसअघि स्थानीय तहअन्तर्गत पहिलो पटक गत वर्ष असोजमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन गरी स्वदेशीसहित विदेशी लगानीकर्ताबाट १५ अर्बभन्दा बढीको लगानी प्रतिबद्धता दर्शाएका थिए।

काभ्रेपलाञ्चोकको पाँचखाल तिलोत्तमापश्चात् लगानी सम्मेलन गर्ने दोस्रो नगरपालिका हुने देखिएको थियो।

पाँचखाल क्षेत्रको समग्र विकासका लागि चालु वर्ष लगानीकर्ता तथा रोजगारदाताको सम्मेलन गर्न २५ लाख प्रारम्भिक बजेट छुट्याइएको खरेलले जानकारी दिए।

उनले भने, ‘पाँचखालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विकासका काम सुरु भएको यस अवसरमा लगानी सम्मेलन फलदायी हुने अपेक्षामा छौँ।’

पाँचखालमा विशेष आर्थिक क्षेत्र (सेज)का लागि निर्माण सुरु गरिएको, बृहत् सुनकोसी पाँचखाल खानेपानी आयोजनाको काम भइरहेको, राष्ट्रिय युवा परिषद्द्वारा निर्माण हुने ‘नेसनल युथ इनोभेसन सेन्टर’ तथा एकीकृत तथा स्मार्ट सिटीका लागि पनि जमिन छुट्याइएकाले पनि थप लगानीकर्ता र रोजगारदाता आवश्यक रहेको जनाउँदै नगरले सम्मेलन गर्न लागेको थियो।

‘विशेष गरी कृषि र पशुपालनमा लगानीकर्तालाई आकर्षण गर्ने योजनामा छौँ’, खरेलले भने। उनले पाँचखालमा लगानी तथा पर्यटनका प्रचुर सम्भावना भएका स्थानमा सडक पु¥याइसकिएको तथा पुर्‍याउने काम धमाधम भइरहेको र वातावरणको दृष्टिले लगानीकर्ता आकर्षण हुनु स्वाभाविक रहेको बताए।

कृषि तथा पशुपालन क्षेत्रमा आधुनिकीकरण, सौर्य ऊर्जा, प्रविधि र पर्यटकीयस्तरका ठूला होटल, उद्योग स्थापनार्थ सम्मेलनमा प्रस्ताव गरिने बताइएको छ।

‘स्थानीयलाई रोजगार दिने उद्योग तथा परियोजनालाई करछुट दिन पनि छलफल गर्दै छौँ’, नगरप्रमुख खरेलले भने।

उनका अनुसार पाँचखालमा विभिन्न ऐतिहासिक स्थलसमेत रहेकाले पर्यटन र स्थानीय साँस्कृतिक क्षेत्र लक्षित आयोजनालाई समेत प्राथमिकतामा राखिनेछ।

त्यसो त, ‘पाँचखाल नगर, कृषि सहर’ नारालाई सार्थक बनाउन नगरले पाँचखालको खेतीयोग्य जमिनलाई ‘प्लटिङ’ गर्न पूर्ण प्रतिबन्ध लगाएको छ। खरेलले भने, ‘आफूखुसी र व्यापारिक हिसाबले खेतीयोग्य जमिन प्लटिङ गर्न पूर्णतः रोक लगाएका छौँ, कृषि उत्पादनमा जोड दिइरहेका बेला खेतीयोग्य जमिन मास्न दिँदैनौँ ।’

उनले अबको बजेटमा पाँचखाल उपत्यकामा रिङरोड निर्माणको योजना बनाइनेसमेत जानकारी दिए । यसका लागि सरोकारवाला तथा जिल्लाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिसँग छलफल भइरहेको उनले बताए।

नगरले रिङरोड राजमार्गसँग जोडिने भएकाले खेतीयोग्य जमिन जोगाएर मानव बस्ती तथा औद्योगिक ग्राम स्थापना गरिने योजना बनाउने जनाएको छ।

खरेलले भने, ‘यसबाट सहरीकरणलाई मात्र व्यवस्थित गर्दैन, कृषि उत्पादनमा लगानी बढाउन सकिन्छ ।’ २०७१ सालमा साविक पाँच गाविस जोडेर पाँचखाल नगरपालिका बनाइएकामा दुई वर्षअघि पनि दुई गाविस थपेर पाँचखाललाई अझ बृहत् बनाइएको छ।

१३ वडामा विभाजित पाँचखाल नगरपालिकाको कुल क्षेत्रफल १०३ वर्गकिमि छ भने ३७ हजार ७९७ जनसंख्याको बसोवास छ।

चैत २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्