दुर्गमका सांसदको गुनासोः घाम नलागी मोबाइलमा टावर आउँदैन, फोन गर्न डाँडामा जानुपर्छ

काठमाडौँ– दुर्गम जिल्लाका सांसदहरुले घाम नलागेसम्म मोबाइलमा टावर नआउने भन्दै नेपाल टेलिकमको सेवाप्रति गुनासो गरेका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा मंगलबार आयोजित ‘दूरसञ्चार सेवाको पहुँच, प्रवाह तथा गुणस्तर’ सम्बन्धी अन्तरक्रियामा विभिन्न दुर्गम जिल्लाका सांसदहरुले दूरसञ्चार सेवा राम्रो नभएको भन्दै गुनासो गरेका हुन्।

बझाङ जिल्लाकी सांसद आशाकुमारी विकले बझाङ जिल्लामा हिउँदमा हिउँ परेर टावर नआउने, वर्षामा पानी परेर नआउने र अन्य समयमा दश नबज्दासम्म, घाम नलाग्दासम्म टावर नआउने भन्दै गुनासो गरिन्।

उनले भनिन्, ‘हाम्रो जिल्ला हिउँदमा हिउँ परेर टावर आउँदैन, वर्षा लाग्दा वर्षा लागेर टावर आउँदैन, दश नबज्दासम्म घाम नलागेर टावर आउँदैन, साढे तीन बजे अगाडिसम्म घाम लाग्ने ठाउँमा टावर आउँछ, घाम गइसकेपछि फेरि छायाँ पर्ने ठाउँमा टावर आउँदैन।’

जिल्लामा चार वटा सिमकार्डले काम गर्ने तर फरक–फरक डाँडामा फरक–फरक सिम प्रयोग गर्नुपर्ने बाध्यता रहेको पनि उनले बताइन्।

जुम्लाकी सांसद गजेन्द्रबहादुर महतले फागुन महिनादेखि जुम्लामा एनटीसीले काम नगरेको बताए। टावर बिग्रेपछि पनि निर्माण गर्ने कार्यमा ढिलासुस्ती हुने गरेको उनको गुनासो छ।

उनले जुम्लामा एनसेल जहिले चल्ने तर एनटीसी जहिले बिग्रने गरेको पनि बताए। जसका कारण जुम्लाका मानिसहरुमा टेलिकमका कर्मचारीले एनसेलबाट पैसा लिएर टेलिकमको टावर बिगार्ने काम गरेको बुझाइ रहेको पनि बताए।

अछाम जिल्लाका सांसद रामबहादुर विष्टले अछाम जिल्लामा १० वटा स्थानीय तह रहेको र केही स्थनीय तहमा अहिलेसम्म मोबाइल सेवा नपुगेको बताए। चल्ने ठाउँमा पनि जताजता घाम लागेको छ, जहाँ डाँडा छ त्यहीँ गएर फोन गर्नुपर्ने अवस्था रहेको उनले बताए। टुजीसमेत नचल्ने ठाउँमा थ्रिजी र फोरजीको अपेक्षा नभएको उनको भनाय छ।

यस्तै कालिकोट जिल्लाका सांसद दुर्गाबहादुर रावतले कर्णाली प्रदेशमा अहिलेसम्म नेपाल टेलिकमको प्रादेशिक कार्यालय नभएकाले समस्या पर्दा गुनासो गर्ने ठाउँ नै नपाएको बताए। यस्तै अहिले सबै स्थानीय तहले अनलाइनबाट योजना माग गर्नुपर्ने व्यवस्था रहेको तर इन्टरनेटको सुविधा नहुँदा गतवर्ष कर्णालीका अधिकांश पालिकाहरुले बजेट माग गर्नै नपाएको उनले बताए। उनले इन्टरनेट नै नहुँदा सुर्खेत पुगेर काम गर्नुपर्ने बाध्यता भएको बताए।

मुगु जिल्लाका सांसद मोहन बानियाँले दुर्गम जिल्ला अन्य कुराले मात्रै पछाडि परेको नभइ सञ्चार क्षेत्रमा पनि दुर्गम रहेको बताए।

दैलेख जिल्लाकी सांसद पार्वती कुमारी विशुन्केले दैलेख जिल्लामा कम्युटर र इन्टरनेटको कहिल्यै भेट हुँदैन भन्दै व्यङ्ग्य गरिन्।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कर्णाली र सुदूरपश्चिम प्रदेशमा भएको सञ्चार क्षेत्रको समस्याप्रति आफू गम्भीर भएको बताए।

उनले कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण रुपमा टेलिकमको सेवा नपुर्‍याउँदासम्म अन्य नयाँ कार्यक्रम र योजना नबनाउने प्रतिवद्धता पनि जनाए।

उनले भने, ‘आगामी दिनमा हामी दूरसञ्चार सेवामा कस्तो कार्यक्रम र कस्तो रणनीति बनाएर जाने भन्ने सोचबाट नै हो। हामी बनाउँछौँ भने दूरसञ्चार सेवामा अब कर्णाली र सुदूरपश्चिम क्षेत्रमा कस्तो रणनीति लिएर जाने भन्ने कुराको कार्यक्रम बन्छ। अन्यथा मन्त्रालयको, मन्त्रीको, मन्त्रालयको स्वार्थमा कुनै कार्यक्रम बन्दैन भन्ने तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु।’

मन्त्री गुरुङले सञ्चार महामार्ग निर्माणको काममा जुट्न पनि सांसदहरुलाई आग्रह गरे। सञ्चार क्षेत्र नै संसार भएकाले त्यसको विकासको माध्यमबाट मुलुकलाई समृद्ध बनाउन सबैको ध्यान जान जरुरी रहेको पनि उनको भनाइ छ।

चैत २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्