त्रिभुवन आर्मी क्लब एएफसी कपका लागि छनोटको दोस्रो चरणमा, श्रीलंकन पुलिस ५-१ गोलले पराजित

आर्मीका खेलाडी। फाइल तस्विर

काठमाडौँ-  त्रिभुवन आर्मी क्लब एएफसी कप फुटबलको छनोटअन्तर्गत दोस्रो चरणमा पुगेको छ। दशरथ रंगशालामा बुधबार साँझ भएको खेलमा आर्मीले  श्रीलंकन पुलिस क्लबलाई ५-१ गोलले हरायो।

श्रीलंकन पुलिस क्लबले अग्रता लिएको खेलमा आर्मीका लागि नवयुग श्रेष्ठले दुई तथा सन्तोष तामाङ, सुदिल राई र टंक बस्नेतले एक एक गोल गरे। श्रीलंकन पुलिस क्लबका इभान्स असान्तेले २८ औँ मिनेटमा गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफको अन्त्यतिर आर्मीले दुई मिनेटमा दुई गोल गरेको थियो। पहिलो गोल सन्तोषले ४१ र दोस्रो गोल नवयुगले ४३ औँ मिनेटमा गरेका थिए। ५० औँ मिनेटमा टंकले गोल थपेका थिए। ८४ औँ मिनेटमा सुदिलले गोल गरेपछि आर्मीको जित सहज बनेको थियो। नवयुगले इन्जुरी समयको अन्तिम मिनेटमा गोल थपेका थिए।

आर्मीले दोस्रो चरणमा अब भारतको बेंगलरु फुटबल क्लबसँग खेल्ने छ।

यो खेल आगामी अप्रिल १४ तारिखमा हुने छ। त्यस खेलमा पनि जित हात पारे आर्मीले मालदिभ्सको इगल्स र बंगलादेशको अबहानी लिमिटेड क्लबबीच हुने खेलको विजेतासँग प्ले अफ खेल खेल्ने छ। त्यस खेलमा जित हात पारे आर्मीले एएफसी कपमा स्थान बनाउने छ।

चैत २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्