कोरोना त्रासः काठमाडौँ विश्वविद्यालयले वैशाख मसान्तसम्म अनलाइनमार्फत पठनपाठन गर्ने

काठमाडौँ– कोरोना भाइरसको संक्रमण पुनः बढेको भन्दै काठमाडौँ विश्वविद्यालयले अनलाइनमार्फत पठनपाठन गराउने भएको छ। बुधबार सूचना जारी गर्दै काठमाडौँ विश्वविद्यालयले बिहीबारदेखि आगामी वैशाख मसान्तसम्म अनलाइनमार्फत पठनपाठन गराउने जनाएको छ।

सूचनामा भनिएको छ, ‘विश्वव्यापी रुपमा पुनः फैलिएको कोरोना महामारी कोभिड–१९ को कारण विश्वविद्यालयमा उपस्थिति भइ भौतिक रुपमा नियमित पठनपाठन गर्न कठिनाइ भएकोले यस असहज परिस्थितिमा क्षति न्युनिकरण गर्दै लाने उद्देश्यले मिति २०७७ चैत्र २६ गतेदेखि २०७८ वैशाख मसान्तसम्म यस विश्वविद्यालय, स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङ अन्तर्गतका सम्पूर्ण कार्यक्रमहरुको पठनपाठन अनलाइनमार्फत गर्ने निर्णय भएको हुँदा सम्बन्धित शिक्षक तथा विद्यार्थीहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

यस अवधिमा स्कुल तथा विभागीय प्रशासनहरु भने सुचारु नै हुने र अनुसन्धान तथा प्रोजेक्टका कार्यहरु सम्बन्धित प्रमुखहरुको निर्णय बमोजिम हुने विश्वविद्यालयले जनाएको छ।

चैत २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्