विराट गोल्डकपः पहिलो खेलमा महानगरको टोलीले युनाइटेड सिक्किमको सामना गर्ने

मोरङ – विराट गोल्डकपको पहिलो खेलमा पाहुना टोली युनाइटेड सिक्किमले घरेलु टोली विराटनगर महानगरपालिका–११ सँग प्रतिस्पर्धा गर्ने भएको छ।

बिहीबारदेखि सुरु हुने विराट गोल्डकपको छैटौँ संस्करण अन्र्तगत पहिलो खेलका लागि दुवै टोली तयारी अवस्थामा छन् । पहिलो खेलका लागि महानगरपालिकाको टोलीले बुधबार बेलुका शहीद मैदानमा वार्म अप गरेको छ।

मोफसलमा स्थायी फ्लड लाईट्स संरचनामा पहिलोपटक खेल हुने तयारी भइरहेको अवस्थामा घरेलु टोली विराटनगरले मौसम र रात्रीकालीन खेलका लागि सामान्य अभ्यास गरेको हो। यसक्रममा महानगरका मेयर भीम पराजुलीले टोलीको विषयमा जानकारी लिएका थिए।

पहिलो खेलका लागि टोलीको कप्तानको जिम्मेवारी पथरीका राष्ट्रिय खेलाडी दीपक राईलाई दिइने संभावना रहेको छ। टोलीको प्रशिक्षकमा संजीव बुढाथोकी रहेका छन् ।

खेल रणनीति अनुसार टोली आक्रमक भन्दापनि रक्षात्मक भूमिका देखिने बताएका प्रशिक्षक बुढाथोकीले टोली बलियो र मैदानमा शतप्रतिशत प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताँउछन्। विराटनगरको टोलीमा दीपक राई, अशोक खवास, प्रकाश बुढाथोकी, सुनिल खड्का, बिक्रम धिमाल, भुवन बस्नेत, कैलाश बस्नेत, हेमन्त थापा मगर लगायत रहेका छन्।

अर्कोतर्फ, भारतका भाइचुंग भुटिया अध्यक्ष रहेको युनाइटेड सिक्किम १० वर्षअघि ग्यान्टोकमा स्थापना भएको टोली हो। टोलीले यसअघि सन् २०१२ को सिजनमा आइ लिगको दोस्रो डिभिजनमा समेत स्पर्धा गरेको थियो। दोस्रो डिभिजनमा २२ अंकसहित पहिलो स्थान पक्का गरेको सिक्किमले सन् २०१२–१३ को आइ लिगमा स्थान बनाएको थियो। तर, आइ लिगमा कमजोर प्रदर्शन गरेको सिक्किमको टोली १४ औँ स्थानमा खुम्चिएको थियो।

आयोजक गोल्डकप ट्रष्टका अनुसार बिहीबारदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने भएका छन्। प्रतियोगितामा भारतका दुई, क्यामरुनबाट एक र बाँकी ७ वटा नेपाली टोलीको सहभागिता रहनेछ।

चैत २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्