लण्डन दूतावासमा म्यानमार सैनिक सत्ताको ‘कू’, राजदूतलाई प्रवेश दिइएन

बेलायतका लागि म्यानमारका राजदूत क्यए वार मिन (दायाँ) प्रहरी अधिकारीका साथमा दूतावास बाहिर । तस्बिर : पिए मिडिया

बेलायतका लागि म्यानमारका राजदूतलाई कार्यालय प्रवेशमा सैनिक सत्ताले रोक लगाएको छ ।

राजदूत क्यए वार मिनले आफूलाई कार्यालय प्रवेशमा रोक लगाएने म्यानमारको सैनिक सत्ताका सहयोगीहरुले कर्मचारीहरुलाई पनि दूतावास छोड्न भनेको बताएका छन् ।

सैनिक सत्ताका प्रतिनिधिले आफूलाई ‘तिमी देशको प्रतिनिधि रहेनौ’ भनेको राजदूत मिनले बताएका छन् ।

उनले समाचार संस्था रोयटर्सलाई भनेका छन्, ‘मलाई कार्यलय प्रवेश गर्न दिइएन, बाहिरै राखियो ।’

म्यानमारको सेनाले गएको फेब्रुअरी १ मा निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिएको थियो । त्यसयता म्यानमारमा प्रदर्शन हुँदै आएको छ र सुरक्षाकर्मीले बल प्रयोग गरेका छन् ।

सैन्य कू को विरोध गर्दै राजदूत मिनले नियन्त्रणमा लिइएकी नेतृ आङ साङ सूकीसहितको रिहाइको माग गरेका थिए ।

प्रजातन्त्रको पक्षमा भएको प्रदर्शनको क्रममा म्यानमारमा पाँच सय भन्दा धेरै मानिसको ज्यान गएको छ र त्यसमा दर्जनौँ बालबालिका पनि छन् ।

राजदूत मिनलाई बुधबार लण्डनस्थित दूतावासमा प्रवेश गर्न नदिइएको हो । उनले सो घटनालाई ‘मध्य लण्डनमा भएको म्यानमार सत्ताको कू’ का रुपमा हेरेको समाचार संस्था रोयटर्सलाई बताएका छन् ।

उनले यस्तो खालको कू हुन नदिने पनि बताएका छन् ।

राजदूत मिन लण्डनको मेफेयर स्थित दूतावासको बाहिर स्थानीय महानगर प्रहरीका अधिकारीसँग बोल्दै गरेको देखिन्छ तस्बिरहरुमा ।

चैत २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्