माओवादी केन्द्रका चार सांसद आज पद मुक्त हुने सम्भावना

काठमाडौँ – प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले माओवादी केन्द्रका चार सांसद पद मुक्त भएको जानकारी गराउने भएका छन्।

नेकपा एकीकरण सर्वोच्चले बदर गरेपछि एमाले र माओवादी पूर्ववत अवस्थामा गएपछि एमाले तिर बसेका चार सांसदलाई पदमुक्त गर्ने निर्णय माओवादी केन्द्रले गरेको हो।

पार्टी केन्द्रीय कमिटीको निर्णयबारे मंगलबार अध्यक्ष प्रचण्डले संसद सचिवाललाई जानकारी दिँदै पदमुक्त गर्न पत्राचार गरेका थिए।

प्रचण्डले संसदलाई पत्र लेखेर लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई सांसद पदबाट मुक्त गर्न आग्रह गरेका हुन्।

सोही अनुरुप बिहीबार यी चार सांसदहरु पद मुक्त हुने सम्भावना छ। संसद सचिवालयका अनुसार माओवादी केन्द्रको पत्रअनुसार पदमुक्त गर्नका लागि आवश्यक सबै प्रक्रिया पुरा भइसकेको छ।

पत्रबारे बुधबार महासचिव भरतराज गौतमले सभामुख अग्नि सापकोटा समक्ष पेश गरेका थिए। सापकोटाले पदमुक्त गर्नका लागि आएको पत्रअनुसार अघि बढ्न निर्देशन दिएका छन्।

संसद अधिवेशन चलिरहेको अवस्थामा पदमुक्त भएको जानकारी सभामुखले सदनमा सुनाउने पर्ने व्यवस्थाअनुसार बिहीबारको बैठकमा जानकारी गराउन लागिएको हो। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

चैत २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्