चीनको राजधानी बन्यो विश्वका धेरै अर्बपतिको शहर

चीनको राजधानी बेइजिङ्ग विश्वका सबैभन्दा धेरै अर्बपति भएको शहर बनेको छ । फोर्ब्सले हालै सार्वजनिक गरेको विश्वका अर्बपतिहरुको सूचि अनुसार बेइजिङ्गले अमेकिराको न्यूयोर्क सिटीलाई पछि पारेको हो ।

फोर्ब्सका अनुसार गत वर्ष बेइजिङ्गमा ३३ अर्बपति थपिए र अहिले कुल अर्बपतिको संख्या त्यहाँ १०० पुगेको छ । अमेरिकाको न्यूयोर्क शहरमा अर्बपतिको संख्या ९९ रहेको छ र विगत सात वर्षदेखि यहि शहर धनाढ्य अर्बपतिहरुको सूचिमा शीर्ष स्थानमा रहँदै आएको थियो ।

कोरोना भाइरसको महामारीमाथि चीनले तीव्र गतिमा कायम गरेको नियन्त्रण, प्रविधि क्षेत्रमा चिनियाँ कम्पनीको बढ्दो वर्चश्व र शेयर बजारले चिनियाँ धनाढ्यहरुलाई अर्बपतिको सूचिमा थप्ने क्रम तीव्र भएको हो ।

अर्बपतिको संख्या धेरै भए पनि ती अर्बपतिहरुको कुल सम्पतीमा भने न्यूयोर्क नै अघि छ । न्यूयोर्कका अर्बपतिहरुको कुल सम्पती बेइजिङ्गका १०० अर्बपतिको भन्दा ८० बिलियन अमेरिकी डलर बढि छ ।

बेइजिङ्गका सबैभन्दा धनी व्यक्ति हुन् झ्याङ्ग यिमिङ्ग, उनी टिकटकका संस्थापक हुन् । बाइटडान्सका प्रमुख कार्यकारी यिमिङ्गको कुल सम्पती ३५.६ बिलियन अमेरिकी डलर छ । न्यूयोर्कका धनी व्यक्ति पूर्व मेयर माइकल ब्लुमबर्गको कुल सम्पती ५९ बिलियन अमेरिकी डलर छ ।

महामारीको समयमा प्रविधि क्षेत्रका व्यवसायहरु थप बिस्तार भए । यो क्रम चीन र अमेरिका दुवैमा देखियो ।

यो वर्ष अर्बपतिको सूचिमा कीर्तिमानी ४९३ जना थपिए विश्वभरबाट । फोर्ब्सका अनुसार रहेक १७ घण्टामा एक अर्बपति विश्वले पाएको छ ।

अमेजनका संस्थापक तथा प्रमख कार्यकारी जेफ बेजोस विश्वको धनी व्यक्तिका रुपमा यो वर्ष पनि कायम छन् । विगत चार वर्षदेखि शीर्ष स्थानमा रहँदै आएका उनको कुल सम्पती १७७ बिलियन अमेरिकी डलर पुगेको छ ।

चैत २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्