‘केयूकेएलले तत्काल पानीको महसुल बढाउँदैन’

केयूकेएलका प्रवक्ता प्रकाशकुमार राई।

काठमाडौँ– काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को वितरण प्रणालीबाटै चैत १५ गते मेलम्चीको पानी महांकाल चौरबाट पुरानै संरचनामा वितरण गरियो।

सोही समय अनामनगर, मीनभवन र अहिले बालाजु, बाँसबारी र खुमलटारबाट पनि पानी वितरण गरिएको छ।

खुमलटारबाट भने नयाँ संरचनाअनुसार वितरण गरिएको हो। यसबाहेक नयाँ ट्यांकी सञ्चालनमा आउन समय लाग्ने मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता उज्ज्वल प्रजापतिले जानकारी दिए।

उनले भने,  ‘खुमलटारको नयाँ ट्यांकी सञ्चालनमा आएको छ। अरू सञ्चालनमा आउन समय लाग्छ।’
तर, उनलाई कति समय लाग्छ भन्ने थाहा छैन।

पुरानै संरचनाबाट वितरित पानी ‘लिकेज’ भइरहेको छ। पानी वितरण गर्नुपूर्व नै यस्तो अवस्था आउने पूर्वानुमान गरिएको केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले बताए।

अनामनगरमा पानी लिक भएको ठाउँ।

उनले मर्मत टोली तयारी अवस्थामा राखेको जानकारी दिए। ‘यो पानी वितरण प्रणाली धेरै वर्ष पुरानो हो’, उनले भने, ‘लामो समय पानी नआउँदा सञ्चालनमा थिएन। अहिले पानी आयो र समस्या देखिन थाल्यो।’

उनका अनुसार काठमाडौँका मुख्य सहर त्रिपुरेश्वर, न्युरोड, टेबहाल बालाजु, सोह्रखुट्टे, पानीपोखरी, बानेश्वर चोक, रत्नपार्कलगायत ठाउँमा यस्तो समस्या देखिएको छ।

उनले भने, ‘पानी धान्न नसक्ने अवस्था होइन। अहिले हामीले पुरानै नेटवर्कबाट सञ्चालन गरिरहेका छौँ।’ धेरैजसो हाप इन्च पाइप रहेका कनेक्सनमा लिक भएको उनले बताए।

‘विभिन्न निकायले ढल विस्तार गर्दा ढल निकास हुने बाटोमै खानेपानीको पाइप बिच्छ्याए । त्यसको ग्यासले जिआइ पाइप प्वाल पारिदिन्छ। र, यो समस्या देखाप र्‍याे।’

समस्या समाधानमा आफूहरू लागिपरेको उनले जानकारी दिए।

यस्तो समस्या अनामनगरमा पनि देखिएको थियो। अनामनगर क्षेत्रमा ७२२ वटा नयाँ धाराबाट पानी वितरण गरिए पनि अन्य ठाउँमा पुरानै पाइपबाट वितरण गरिएको हो। उक्त क्षेत्रमा १६ सय वटा धाराबाट पानी वितरण गर्ने केयूकेएलको लक्ष्य छ।

केयूकेएलका प्रवक्ता राईले अझै विस्तार गर्दै जाने बताए । उनले भने, ‘हाम्रो लक्ष्य १६ सय धाराबाट पानी वितरण गर्ने हो। अहिले नयाँ ७२२ धाराबाट वितरण गरिरहेका छौँ ।’

अहिले अनामनगरमा २४ घण्टै पानी परीक्षणका लागि छाडिएको छ। केयूकेएलका अनुसार परीक्षण सकिएपछि पानी वितरण गर्नेबारे तालिका निकालिन्छ।

मेलम्चीको करिब साढे ८ करोड लिटर र केयूकेएलको ७ करोड लिटर पानी वितरण भइरहेको केयूकेएलले जनाएको छ।

पानी चुवाहटको समस्यासँगै धेरैको मनमा खानेपानीको महसुल बढ्छ कि भन्ने जिज्ञासा आइरहेको छ।

सरकारले खानेपानी महसुल निर्धारणका लागि पदाधिकारी नियुक्ति गर्न बुधबार सूचना जारी गरेको थियो।

‘हामीले लागतका आधारमा प्रस्ताव गर्ने हो’, उनले भने, ‘त्यो प्रस्ताव काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई गर्छौं।’

उनले त्यो अध्ययन सकेपछि खानेपानी मन्त्रालयमा जाने जानकारी दिए। ‘मन्त्रालयले शुल्क निर्धारण आयोगलाई पठाउँछ। र, सार्वजनिक सुनुवाइ भएपछि मात्र मूल्य तोकिन्छ’, उनले भने, तत्काल पानीको महसुल बढ्ने सम्भावना न्यून छ।’

चैत २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्