संरक्षणकर्मी कुमार पौडेलको यात्रा

वन्यजन्तु संरक्षणमा स्थानीय ज्ञानको खोजी गर्दै यी युवक

चितवन राष्ट्रिय निकुञ्ज हुँदै बगेको राप्ती नदी, नदी आसपासमा घाँसे मैदान तथा घना जंगल छ । तस्बिर : टंक ढकाल/देश सञ्चार

‘हजुर दाइ… सबैको स्कोप राम्रो छ । बाबुसँग नै कुरा गरेपछि थप बुझ्न सकिन्छ, उसको इन्ट्रेस्ट के मा छ त्यसअनुसार नै हुन्छ दाइ । मलाई एकपटक बाबुलाई फोन गर्न भन्दिनुस् न है ।’

यति भनेर मोबाइल टेबलमा राख्दै सुरु हुँदै गरेको बातचितमा फर्किए कुमार पौडेल ।

काठमाडौँ थापागाउँस्थित कार्यालय (ग्रिनहुड नेपाल) मा ल्यापटपमा व्यस्त थिए केहीबेर अघिसम्म उनी । आयताकार क्याविनमा टेबुल र दुई कुर्ची छन् । टेबुलमाथि उनका केही फाइलहरु छन् । केही पुस्तकहरु पनि । त्यसमध्ये एउटा थियो ‘बर्डस अफ नेपाल’ ।

फोनवार्ताबारे स्पष्ट पार्ने कोशिस गरे उनले औपचारिक परिचय हुँदै गर्दा । ‘छिमेकी गाउँको दाइको फोन, छोरालाई के पढाउँदा राम्रो हुन्छ भनेर सोध्दै हुनुहुन्थ्यो’ कुमारले भने, ‘उहाँसँग भन्दा पढ्ने व्यक्तिसँगै कुरा गर्दा राम्रो हुने भएकाले बाबुलाई नै फोन गर्न भनेको ।’

गाउँबाट काठमाडौँ खाल्डो र यहाँबाट फराकिलो विश्वको विख्यात विश्वविद्यालयसम्म अध्ययनको बाटो आफ्ना लागि खन्न सकेका उनलाई यस्तो फोन आइरहन्छ । ‘सोध्नु हुन्छ के गर्ने होला, उच्च शिक्षामा के पढाउने होला भन्नु हुन्छ’ कुमार बोल्दै गए, ‘चाख लियो र ध्यान दियो भने सबै राम्रो हो नि ।’

यस्ता टेलिफोनहरु सहज रुपमा लिने र जाने–भ्याएसम्म आफ्नो धारणा साझा गर्ने तर प्राथमिकता जहिले पनि सम्बन्धित व्यक्तिको रुचिलाई दिने गरेको कुमारले बताए ।

उनको यहाँसम्मको यात्रामा यस्तो सल्लाह वा छलफलको शायद अति न्यून भूमिका रह्यो होला । परिवेशले सिर्जना गर्ने बाध्यतालाई अवसरमा परिणत गरि त्यसबाट राम्रो भविष्यको खोजीमा लाग्दै गर्दा ‘सामान्य’ अवस्थामा सोचिने भन्दा बाहिर निस्कन सफल भएको हो कि जस्तो लाग्ने कुराकानी अघि बढ्दै थियो ।

कुमारले गएको डिसेम्बर अन्तिममा आफ्नो जीवन यात्राको एक खुशी साझा गरेका थिए सामाजिक सञ्जालमा ।

लेखेका थिए, ‘मेरा आमाबुवाले कहिल्यै स्कूल जाने अवसर पाउनु भएन । उहाँहरुले हालै मैले क्याम्ब्रिज विश्वविद्यायलबाट प्राप्त गरेको शैक्षिक प्रमाणपत्र पढ्न पनि सक्नु हुन्नँ । सानो पहाडी गाउँमा म र मेरा अरु पाँच दाजु–दिदीबहीका लागि छाक जुटाउने कठिनाइका बिच उहाँहरुले जहिले पनि हामीलाई सपना ठूलो देख्न र समाज तथा प्रकृतिको हितका लागि काम गर्न उत्प्रेरित गरिरहनु भयो । मेरो यो क्याम्ब्रिज डिग्री म ती सबै अभिभावकलाई समर्पित गर्न चाहन्छु जसले आफ्ना सन्तानलाई स्कूल पडाउन कठिन संघर्ष गर्नु भयो र त्यो सँगै राम्रो विश्व निर्माणका लागि तयार पार्नुभयो । ममा सिकाईका लागि गहिरो लगाव बसाल्नु भएकोमा मेरा अभिभावप्रति आभार । सबैलाई धन्यवाद जसले मलाई जहिले प्रेरणा दिनुभयो, सहयोग गर्नु भयो र माया दिनु भयो ।’

यसपछि कुमारलाई प्रश्न गर्नेहरु अझै थपिएका छन् । सोध्छन्, ‘त्यस्तो परिवेशबाट पनि यहाँसम्मको यात्रा सम्भव कसरी भयो?’ उनीसँग सबैलाई मिल्ने उत्तर छैन । भन्छन्, ‘जहिले केही गर्ने र चाहेको कुरा पाउनका लागि गरिरहने मेहनतले हो कि जस्तो लाग्छ ।’

बाध्यता र सपनाहरुको यात्रा

कुमार पाैडेल ।

सिन्धुपाल्चोकको भट्टे गाउँ (बाह्रबिसे नगरपालिका–९) मा जन्मी हुर्केका कुमार ३० वर्षका भए । औपचारिक शिक्षामा यति परसम्मको यात्रा तय गर्ने उनी परिवारको पहिलो सदस्य हुन् । दाइ, दिदी र बहिनी (हाइस्कूल) सामान्य अध्ययनपछि आफ्नो पारिवारिक जीवनमा छन् । एक दिदी सरकारी स्कूलमा नेपाली विषयकी शिक्षिका छिन् ।

जुरे पहिरोको माथि रहेको गाउँका कुमार अहिले आमाबुवासहित काठमाडौँमा बस्छन् । २०७२ सालको भूकम्पपछि आमाबुवालाई काठमाडौँ ल्याएका उनले यो शहर पस्दाको पुरानो स्मृति फुकाए ।

‘२०६२ को एसएलसी हो । स्कूलपछिको पढाई लामोसाँघुमै गर्न पनि सकिन्थ्यो । तर मलाई पढाईसँगै काम गर्ने अवसर पनि चाहिएको थियो’ कुमारले भने, ‘के पढ्ने भन्ने त्यस्तो स्पष्ट थिइनँ । सुरुमा आरआर क्याम्पस गएँ ।’

आरआर क्याम्पस पुगेपछि उनले थापाथली क्याम्पसमा पढाई हुने डिप्लोमा इन्जिनियरिङ्ग (ओभरसियर) बारे थाहा पाए । त्यतै लागे । नाम निकाले, थापाथली क्याम्पसमा ओभरसियर पढ्न थाले । तर त्यसले बाँधेर राख्न सकेन उनलाई ।

‘सम्भावनाको ढोका साँघुरो लागेको हुन सक्छ । मलाई सीमित हुन मन थिएन’, ओभर सियर छोडेर अमृत साइन्स क्याम्पस तिर लाग्नुको कारण खुलाए, ‘आइएस्सी गरेपछि बरु इन्जिनियरिङ्ग वा अरु क्षेत्रमा जाने सम्भावना बुझेको थिएँ ।’ कुमारले अस्कलबाट आइएस्सी र बिएस्सी गरे, मुल विषय थिए–भौतिकशास्त्र, गणित र वातावरण विज्ञान ।

केही गर्दै पढ्ने योजनासहित भट्टेबाट काठमाडौँ आएका कुमारले आइएस्सी पढ्दा नै पढाउन थालेका थिए । बिएस्सी गर्दा उनको चाखको विषय थियो भौतिकशास्त्र । क्याम्पसमा उनी सिद्धान्त पढ्थे, जागिरमा ‘प्राक्टिकल’ । ‘बिएस्सी पढ्दा मैले युपिएस इन्भर्टर बनाउने तथा बिक्रीवितरण गर्ने ठाउँमा काम गर्न थालेको थिएँ । कलेजमा पढेको सैद्धान्तिक ज्ञान काम गर्ने ठाउँमा प्रयोगमा उतार्न पाएँ ।’

तर पढिरहेको कुरा व्यवहारिक जीवनसँग प्रत्यक्ष रुपमा लागु नभएको वा सहयोगी नबनेकोमा असहज लाग्थ्यो उनलाई । जब उनी वातावरण विज्ञानका विद्यार्थी बने, सिद्धान्त र व्यवहारबिच सामिप्य पाए उनले ।

‘बिहान स्कूल जानुअघि दूध बोकेर ओरालो–उकालो गर्नु पर्थ्यो । मैले स्कूलमा पढेको घिर्नी र उत्तोलकसहितका अवधारणा काम लागेका थिएनन्’ कुमारले भने, ‘तर वातावरण विज्ञानमा पढ्ने कुरा मैले बाँचेर आएको र भोगेको जीवनसँग मेल खान्थ्यो । त्यहि भएर म भौतिकशास्त्रबाट वातावरण विज्ञानमा आएँ ।’

वातावरणलाई अझ राम्रोसँग बुझेर काम गर्न सकियो भने प्रकृति र मानवको सहअस्तित्वका लागि आफ्नो तर्फबाट केही गर्न सकिन्थ्यो कि भन्ने आश जाग्यो उनमा । त्यसैले वातावरण विज्ञानमा स्नातकोत्तर गरेपछि उनले क्याम्ब्रिज विश्वविद्यालयबाट ‘कन्जरभेसन लिडरसिप’ मा एमफिल गरे । उनी सन् २०१७ अक्सफोर्ड विश्व विद्यालयलमा भिजिटिङ्ग फेलोका रुपमा पनि जोडिएका छन् ।

वातावरणीय बुझाइ र सहअस्तित्वका उपायहरुको खोजी

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने पुरानो पदमपुर । बस्ती निकुञ्ज बाहिर सारेपछि हाल यो ठाउँ घाँसे मैदानका रुपमा विकास भएको छ । तस्बिर : टंक ढकाल/देश सञ्चार

‘प्रकृति र मानव समूदायबिचको सम्बन्ध भिन्दा भिन्दै गरेर हेर्नै मिल्दैन, यी एक अर्काका सहायक हुन्’ संरक्षण र सहअस्तित्वको अध्ययनमा तल्लीन कुमार भन्छन्, ‘समयक्रमसँगै समाजका धेरै कुरा परिवर्तन भएका छन् । जीवन जिउने तरिका फेरिएका छन् । स्रोतहरुको प्रयोग फेरिका छन् । तर सो अनुरुप प्रयोगको वैज्ञानिक उपायहरुबारे निकै कम खोज भएको छ । दीगो प्रयोग र वातावरणीय स्रोतको उचित व्यवस्थापनका लागि ज्ञानको खाँचो छ ।’

आफू अहिले स्रोतहरुको पहिचान, त्यसको व्यवस्थापन कसरी गर्ने र त्यसबाट लिन सकिने फाइदाबारेको ज्ञान उत्पादन र उत्पादित ज्ञान बाँड्नका लागि समुदाय विकासको प्रयासमा लागि परेको कुमारले बताए । सालक संरक्षणमा विशेष रुचि राख्ने कुमारसहितको टिमले ग्रिनहुड नेपाल मार्फत समुदाय निर्माणका लागि नेपाल कन्जरभेशन फेलोसिप प्रदान गर्दै आएको छ ।

हालै गोरखा यात्राको क्रममा कुमारले त्यहाँको वातावरणीय सम्भावना र जनजीविकाको पाटो बुझ्ने प्रयास गरेका थिए । तस्बिरः कुमार पौडेल

‘हामीसँग के कति छ र त्यसको प्रयोग वा व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने ज्ञान भयो भने मात्र दीगो विकासको अवधारणा अनुसार चल्न सकिन्छ’, कुमारले भने, ‘त्यस्तो ज्ञान भयो भने उपलब्ध स्रोतहरुबाट जनजीविकामा सकारात्मक सहयोग गर्ने गरि संरक्षणको काम अघि बढाउन सकिन्छ ।’

अहिले कायम रहेको संरक्षण ‘मोडालिटी’ ले प्राकृतिक स्रोत व्यवस्थापन तथा तिनको दीगो प्रयोगका हिसाबले जनजीविका जोडिएका स्थानीय बासिन्दाहरु अधिकांश रुपमा टाढा नै रहेको उनले बताए ।

‘संरक्षण त्यो बेला मात्रै सफल हुन्छ जब त्यसमा स्थानीय समुदायको संलग्नता हुन्छ’, कुमारले दीगो संरक्षणको सम्भावनाबारे भने, ‘स्थानीयको प्रत्यक्ष संलग्नता, त्यसमा पनि उनीहरुको जनजीविका सुनिश्चित हुने खालको मोडालिटीले सहअस्तित्वलाई स्थापित गर्न सक्छ ।’

वर्षौँदेखि आफ्नो जीविकाको स्रोतका रुपमा वरपरको वातावरण र प्राकृतिक स्रोतहरुलाई प्रयोग गर्दै आएका स्थानीय बासिन्दासँग रहेको ज्ञानको खोजी, त्यसमा थप अनुसन्धान र समयानुकुल परिमार्जन गरि त्यसलाई प्रयोग गर्न सक्नेखालको संरक्षण नीतिको खाँचो रहेको कुमारले बताए ।

‘हरेक जीव वा वनस्पतिका आफ्नै विशेषता छन्, त्यसको प्रयोग कसरी वा के का लागि गर्ने भन्ने पनि हुन्छ’, स्थानीय ज्ञानको खोजी र संलग्नतालाई जोड दिँदै कुमारले भने, ‘यसमा स्थानीय बासिन्दाको ज्ञान महत्वपूर्ण हुन्छ । उनीहरुले पुस्तौँदेखि प्रयोग तथा संरक्षण गर्दै आएका हुन्छ । सोही कारण अब संरक्षणको कुरा गर्दा उनीहरुका ती ज्ञानको खोजी र त्यसमा गर्न सकिने सुधारबारे बुझ्नु पर्ने बेला भएको छ ।’

‘निषेध’ को संरक्षण नीतिले सहअस्तित्व वा मानव–प्रकृति या मानव–वन्यजन्तु द्वन्द्व समाधान गर्न नसकिने भएकाले पहिले स्रोतहरुको पहिचान, त्यसबारे विस्तृत जानकारी र दीगो प्रयोग तथा व्यवस्थापनका लागि सहभागितामुलक ज्ञानमा आधारित संरक्षण–व्यवस्थापनको मार्ग चाहिने र आफू त्यसै अध्ययनको क्रममा रहेको कुमारले बताए ।

कुमारले मानिसहरू के कारणले गैरकानूनी वन्यजन्तुको शिकार र व्यापारमा संलग्न हुन्छन् र कसरी त्याे क्रम राेक्न सकिन्छ भन्ने  कुरा बुझ्न देशभरका जेलहरुमा गएर ‘वन्जयन्तु अपराध’मा सजाय काटिरहेकाहरुलाई भेटेर अध्ययन गरेका छन् । यो अध्ययनले मानिसलाई वन्यजन्तुकाे सिकार व्यापार गैरकानूनी हाे भन्ने थाहा भएकाे तर कानूनी सजाय र त्यसकाे सामाजिक मूल्य बारे अनविज्ञता रहेकाे पाएकाे  उनले बताए । ‘संरक्षणकाे महत्व र कानूनी सजायले पार्ने प्रभावबारे स्थानीय जानकार  हुने हाे भने धेरै वन्यजन्तु अपराधी  नबन्ने वा अपराधमा नलाग्ने देखिन्छ’, कुमारले आफ्नो अध्ययनको सार बताए ।

गत वर्ष हेलम्बु यात्राको क्रममा कुमारले खिचेको स्थानीय फूलको तस्बिर।उनले वन्यजन्तु अपराधले वन्यजन्तुको मात्र नाश नभई मान्छेलाई पर्ने असरलाई समेत समेटेर ‘वनको कथा बोल्छ सारंगी’ भिडियो सिरिजमा पनि काम गर्दै आएका छन् । जसकाे उदेश्य वन्यजन्तु अपराधमा लाग्नबाट मानिसलाई निरूत्साहित गर्नु र संरक्षणमा उत्साहित गर्नु रहेकाे उनले बताए।

पहिलो सिजनमा गन्धर्ब शैलीमा आधारित भएर पाँच भिडियो गीत मार्फत वन र त्यससँग जोडिएका स्थानीयसहितको कथा सिर्जिए उनले । अहिले सहअस्तित्वसहितका विषय समेटिएका गीतहरु लेखिरहेका छन् ।

‘अध्ययनहरु हुन्छन्, त्यसबाट आएका ज्ञानहरुको वितरण सबैले बुझ्ने गरि पुग्नु पर्ने ठाउँ वा बुझाउनु पर्ने वर्गसम्म लैजानका लागि यो प्रयास गरिएको हो’ कुमारले भने ।

आफ्नो प्रयास बाँचिरहेको प्रकृति र त्यसमा आश्रितबिचको सम्बन्ध सक्दो कम द्वन्द्वयुक्त बनाउने प्रयासमा आफू रहेको उनले बताए । कुमारलाई यो कार्य सजिलो भने लागेको छैन । ‘अध्ययनहरु भएर मात्रै हुँदैन, त्यस अनुसारको नीति र कार्यान्वयन संयन्त्र बन्नु पर्छ’, कुमार भन्छन्, ‘दुःखको कुरा हाम्रोमा पहिलो त अध्ययन नै लगभग शून्य प्रायः छ । त्यसमाथि केही नयाँ कुराहरु ग¥यो भने त्यसलाई सुन्ने धैर्यता नेतृत्व वा कार्यान्वयन तहका धेरै कममा पाएको छु मेरो सीमित अवधिको अनुभवमा।’

प्रकृति र स्थानीय ज्ञानको सम्भावनाले उत्साहित उनलाई कार्यान्वयन तहमा व्याप्त ‘बेवास्ता’ प्रवृतिले निराश पक्कै बनाउँछ । तर उनी सम्भावना भने देख्छन् । ‘प्रकृति र मानवबिचको अटूट सम्बन्धसहितको दीगो विकास, व्यवस्थापन र संरक्षणको विकल्प छैन’, उनले भने, ‘यसमा अप्ठ्याराहरु छन् । तर सकिन्छ भन्ने लाग्छ, अर्थात प्रयास गर्न छोड्नु हुँदैन ।’

चैत २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्