ओलीले पार्टीलाई मुठीमा राखेर कार्यकर्तालाई दास बनाउन खोजेः माधव नेपाल

वीरगन्ज– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राम्रो पार्टी बनाउने पक्षमा आफूहरू रहेको बताएका छन्।

वीरगन्जमा शनिबार आफूपक्षीय नेकपा एमालेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले राम्रा मानिसलाई लिएर राम्रो संगठन बनाउने पक्षमा आफूहरू रहेको बताए।

‘हामी राम्रो मान्छे बन्ने पक्षमा छौँ, राम्रो पार्टी बनाउने पक्षमा छाैँ,’ उनले भने, ‘राम्रो संगठन बनाउने पक्षमा हामी छौँ, जुन संगठन क्रियाशील गतिशील होस्, देश र समाजको समस्याप्रति समर्पित होस्।’

केपी ओली जुन दिनदेखि अध्यक्ष भए त्यही दिनबाट पार्टीभित्र महासमस्या उत्पन्न भएको नेपालको आरोप थियो।

एमालेमा रहेको ४४ सदस्यी पोलिटब्युरोमध्ये २४ जना सदस्य आफ्नो पक्षमा रहेकाले अध्यक्ष ओलीले आफू अल्पमतमा पर्ने भन्दै पोलिटब्युरोको बैठक बोलाउनबाट डराउने गरेको उनको जिकिर थियो।

‘४४ सदस्यको पोलिटब्युरोमा हाम्रो पक्षमा २४ जना उनको पक्षमा जम्मा २० जना,’ ओलीतर्फ इंगित गर्दै उनले भने, ‘यो नामै सुनेर उनी काँप्न थाल्छन् त्यो २४ जनाले त सोझै मलाई खाइदिन्छन् भनेर।’

केपी ओलीमाथि वामदेव गौतमको विश्वास नरहेकाले उनी पनि आफूहरूकै साथमा रहेको नेता नेपालको भनाइ थियो। ओलीले पार्टी नभई गुट चलाइरहेकाले उक्त गुट ओलीको एउटा सानो गुट मात्रै रहेको उनले संज्ञा दिए।

ओलीले पार्टीलाई मुठीमा राखेर पार्टीका कार्यकर्तालाई दास बनाउन खोजेको नेपालको आरोप छ। कम्युनिस्ट पार्टीमा नीति प्रधान हुने तर नेता प्रधान नहुने गरेकाले पार्टी प्रजातान्त्रिक लोतान्त्रिक तरिकाले सञ्चालन हुनुपर्ने उनले सुझाव दिए।

‘पुष्पलालले २००६ सालमा कम्युनिस्ट पार्टी स्थापना गर्ने बेलामै भनेका थिए कि कम्युनिष्ट पार्टीमा नीति प्रधान हुन्छ, नेता होइन,’ उनले भने।

चैत २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्