गैँडाको संख्या बढेर ७५२ पुग्यो

चितवन राष्ट्रिय निकुञ्जको पाेखरीमा आहाल खेल्दै गैँडा । हिउँदको समयमा घाँसे मैदान खुला हुने हुँदा यहि बेला पारेर गैँडा गणना गरिन्छ । तस्बिर : टंक ढकाल/देश सञ्चार (फाइल तस्बिर)

काठमाडौँ – नेपालमा गैँडाको संख्या बढेर ७५२ पुगेको छ । राष्ट्रिय गैँडा गणना २०७७ अनुसार चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गरि गैँडाको संख्या पाँच वर्ष पहिले भन्दा १०७ ले बढेको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट तथा सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार चैत ९ गतेदेखि भएको गणनाको प्रतिवेदन शनिबार सार्वजनिक गरिएको हो ।

नयाँ तथ्यांक अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा ३८, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ तथा पर्सा राष्ट्रिय निकुञ्जमा तीन गरि गैँडाको कुल संख्या ७५२ पुगेको हो । सन् २०१५ मा भएको गणनामा नेपालमा गैँडाको संख्या ६४५ थियो ।

राष्ट्रिय गैँडा गणना २०७७ का अनुसार चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र आसपासको वन क्षेत्रमा भाले १२८, पोथी १७४ तथा लिंग नछुट्टिएका ३९२ गैँडा रहेका छन् । त्यसमध्ये वयश्क ४७४, अर्ध वयश्क ९५ तथा बच्चा १२५ रहेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र आसपासको वन क्षेत्रमा १४ भाले, १९ पोथी र लिंग पहिचान गर्न नसकिएका पाँच गैँडा भेटिएका छन् । बर्दियामा ३१ वयश्क, एउटा अर्ध वयश्क र ६ वटा बच्चा भेटिएका हुन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा तीन भाले, चार पोथी र लिंग पहिचान नभएका १० गैँडा भेटिएकोमा १३ वयश्क र चारवटा बच्चा रहेको प्रतिवेशनमा उल्लेख छ ।

सबैभन्दा कम पर्सा राष्ट्रिय निकुञ्जमा एक भाले, एक पोथी र लिंग पहिचान नभएको एक गैँडा भेटिएका हुन् । त्यहाँ दुई वयश्क र एक बच्चा गैँडा छन् ।

चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा एक सिंगे गैँडा । तस्बिर : टंक ढकाल/देश सञ्चार

गणनाबाट प्राप्त तथ्यांक विश्लेषण गर्दा नेपालमा प्राकृतिक स्थानमा रहेका एक सिंगे गैँडाको संख्या १६.६ प्रतिशतले बढेको देखिएको राष्ट्रिय गैँडा गणना २०७७, प्राविधिक समितिका संयोजक समेत रहेका इकोलोजिस्ट आचार्यले बताएका छन् ।

योपटक गैँडा गणनाका लागि सरकारबाट प्राप्त भएको एक करोड १० लाख तथा राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ नेपाल र जेड एस एल नेपालले प्रदान गरेको ३० लाख गरि कुल एक करोड ४० लाख बजेट खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संयोजकत्वमा एवम् वन तथा भू संरक्षण विभाग, नेपाली सेना, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, सामुदायिक वन उपभोक्ता समूहहरु, राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ नेपाल, जेड एस एल नेपालको सहकार्यमा गैँडा गणना भएको हो ।

गणनामा डिभिजन वन कार्यालयहरु, स्थानीय तह, टाइगर टप्स लजसहितका स्थानीय सरोकारवाला संघ संस्थाको समेत प्रत्यक्ष संलग्नता रहेको विभागले जनाएको छ ।

गणनामा प्रयोग भएका कुल ५७ हात्ती मध्ये चितवन राष्ट्रिय निकुञ्जका २७, पर्साका पाँच, कोशीटप्पु वन्यजन्तु आरक्षका तीन, बर्दिया राष्ट्रिय निकुञ्जका ९, शुक्लाफाँटाका चार, राष्ट्रिय प्रकृति संरक्षण कोषका पाँच तथा टाइगर टप्स लजका चार वटा हुन् ।

चितवन पर्सामा दैनिक २५० जना जनशक्तिले २३ दिन, बर्दियामा ६० जनाले १२ दिन र शुक्लाफाँटामा ४० जनाले सात दिन लगाएर गैँडा गणना गरेका हुन् ।

कुनै गैँडा नछुटुन र कुनै नदोहोरिउन् भन्नका लागि गैँडाको बासस्थान रहेका सबै ठाउँमा ५० देखि १०० मिटरको दूरीमा जिपिएस, दूरविन, वाकीटकी, एन्ड्रोइट मोबाइल फोन र डिजिटल क्यामरासहितका उपकरणको प्रयोग भएको जनाइएको छ ।

चैत ९ गते सुरु भएको गैँडा गणना चैत २८ गते सकिएको हो । यस क्रममा बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट गणनामा खटिएका एक माउतेको मृत्यु भएको थियो । यस्तै चितवनमा एकजना घाइते भएका छन् ।

चैत २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्