संकटालाई आहा रारा गोल्डकपको उपाधि

तस्बिरः सहारा क्लबको फेसबुकबाट।

काठमाडौँ– अफ्रिकन रुट्सलाई टाई–ब्रेकरमा पराजित गर्दै संकटा क्लबले पोखरामा सम्पन्न १९औं संस्करणको आहा रारा गोल्डकपको उपाधि उचालेको छ।

गोलकिपर राजा बाबु थापाको उत्कृष्ट प्रदर्शनबाट संकटाले पेनाल्टी सुटआउटमा ४–२ को जित निकाल्दै उपाधि उचाल्न सफल भएको हो।

टाई–ब्रेकरमा अफ्रिकन रुट्सका दुई खेलाडीले अवसर सदुपयोग गर्न नसक्दा संकटाका अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत, आयुष घलानले गोल गरे। सरोज दाहालको प्रहार अफ्रिकनका गोलकिपरले बचाए।

अफ्रिकनका यानिक र रिमले गोल गरे। तर, कुइटेको प्रहार बाहिरिएको थियो भने एमबाकोपको प्रहार संकटाका गोलकिपर राजाबाबु थापाले बचाएका थिए।

निर्धरित ९० मिनेट १–१ गोलको बराबरी सकिएपछि अतिरिक्त समयमा धकेलिएको खेलमा थप गोल हुन नसक्दा खेलको निर्णय टाई–ब्रेकरबाट लिइएको हो। निर्धारित ९० मिनेटको खेलमा भने भ्रमणकारी अफ्रिकन रुट्सले अग्रता लिएको थियो। ११ औं मिनेटमा मौसाको पासमा बासिकले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि दबाबमा रहेको संकटा खेलमा फर्किन निकै संघर्ष गर्‍यो। तर पहिलो हाफमा सफल हुन सकेन।

पहिलो हाफमा पछिपरेको संकटले दोस्रो हाफमा भने सम्हालिएको परिपक्क खेल देखाउन सफल भयो। ५२ औँ मिनेटमा ग्लोरिले गोल गर्दै खेल बराबरी अवस्थामा ल्याएका थिए। त्यसपछि दुबै टोली स्पष्ट जितका लागि आक्रामक खेल खेले पनि सफल हुन सकेनन् र निर्धारित समय १/१ गोलको बराबरीमा सकियो।

अतिरिक्त समयमा पनि दुबै टोलीबाट थप गोल हुन सकेन र खेल टाई–ब्रेकरबाट लम्किएको थियो। टाईब्रेकरमा संकटा भाग्यमानी रहँदै पहिलो पटक आहा रारा गोल्डकपको उपाधि उचाल्न सफल भयो।

जितसँगै संकटले नगद नगद १० लाख १ हजार रुपैँया हात पारेको छ। उपविजेता बनेको अफ्रिकनले नगद ५ लाख १ हजारमा चित्त बुझायो।

चैत २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्