विद्युत सर्ट भएर आगलागी हुँदा सर्लाहीमा तीन घर जले

सांकेतिक तस्बिर

जनकपुरधाम– सर्लाहीमा विद्युत सर्ट भएर आगलगी हुँदा करिब ११ लाख बराबरको क्षति भएको छ।

शनिबार दिउँसो जिल्लाको बलरा नगरपालिका वडा नं. ४ बलरागोठका विकाउ सहनीको घरमा बिजुलीको तार सर्ट भइ आगलागी १० लाख ९० हजार बराबरको क्षति भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए।

आगलगीबाट बलरा नगरपालिका वडा नं. ४ का तीनजनाको घरमा आगलगी हुँदा घर, लत्ता कपडा, अन्नपात लगायत जलेर नष्ट भएको हो।

स्थानीय विकाउ सहनीको इँट्टाको गाह्रो र खपडाले छाएको कच्ची घर, गोठ, घरभित्र रहेको अन्नपात, लत्ता कपडा, गरगहना र नगद गरी ६ लाख ८० हजार बराबरको क्षति भएको छ।

त्यस्तै जैन सहनीको इँट्टाको गाह्रो र खपडाले छाएको कच्ची घर र घरभित्र रहेको अन्नपात, लत्ता कपडा गरी २ लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको छ।

स्थानीय श्याम कान्त झाको इँट्टाको गाह्रो र खपडाले छाएको कच्ची घर आगलागीको कारण आशिंक रुपमा जलेको र घरभित्र रहेको अन्नपात, लत्ता कपडा र अन्य सरसामानहरु जलेर करिब १ लाख ५० हजार बराबरको क्षति भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए।

चैत २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्