नेपाली सेनाको १७२ वर्ष पुरानो ‘घोडा युनिट’

नारायणहिटी स्थित नेपाली सेनाको नेपाल क्याभलरीमा माउसँग बच्चा घोडा। तस्बिर : बर्षा शाह/देश सञ्चार

काठमाडौँ – मानवका लागि लामो समयदेखि यातायात सेवा प्रदान गर्ने र शौख पूरा गर्ने माध्यम पनि बन्दै आएको जनावर हो घोडा ।

यातायातका आधुनिक विकल्पहरुको विकास हुनु पहिले घोडा विश्वका अधिकांश क्षेत्रका आवतजावतको प्रमुख माध्यम थियो । र अहिले पनि घोड सवारी, दौड तथा शौखका लागि घोडाको प्रयोग हुन्छ । नेपालका भौगोलिक रुपले अप्ठ्यारा वा विकट स्थानमा अरु सवारीका साधन नहुँदा विकल्पको रुपमा घोडाको प्रयोग हुँदै आएको छ ।

घोडाको प्रयोग अहिले पनि हिमाली जिल्लाहरुमा जनजीविकाको प्रमुख माध्यमका रुपमा हुँदै आएको छ । पर्यटक ओसार्नका लागि पनि घोडा प्रयोग हुन्छ ।

प्राचीन कालमा युद्धहरुमा घोडाको विशेष र रणनीतिक प्रयोग हुन्थ्यो । अति बलिष्ठ प्राणी मध्य पर्ने र तालिमका आधारमा मानवीय आवश्यकता पूरा गर्न सक्ने भएकाले घोडाको प्रयोग रणनीतिक रुपमा पनि हुने गरेको हो ।

नेपालमा माथिल्लो पहाड तथा हिमाली क्षेत्रमा विशेष गरि थकाली तथा भोटे समुदायमा अहिले पनि घोडा दौड तथा घोडा सम्बन्धी अरु खेलकुद या प्रतिस्पर्धा प्रचलित छन् ।

नारायणहिटी स्थित तबेलामा घाेडा।

घोडाको विशेष दिनका रुपमा मनाउने ‘पर्व’ पनि छ–घोडेजात्रा । काठमाडौँ उपत्यकामा विशेष रुपमा घोडेजात्रा पर्व मनाइन्छ । नेपाली सेनाले घोडेजात्राको दिन काठमाडौँको टुँडिखेलमा घोडा सम्बन्धी विभिन्न कलाकौशल प्रदर्शन गरेर मनाउने गर्दछ ।

आर्मीको क्याभलरीमा रहेका घोडाहरुले घोडचढीका विभिन्न कला देखाउने गर्दछन्। सो कला हेर्नका लागि राष्ट्रिपति, प्रधानमन्त्रीसहितका विशिष्ठ व्यक्तिहरुको उपस्थिति हुन्छ ।

नारायणहिटीस्थित नेपाल क्याभलरी।

घोडे जात्राका दिन उनीहरु सम्बन्धी विभिन्न कौशल हेरिने भए पनि आधुनिक साधानहरुको विकास र बिस्तारसँगै घोडाको महत्व कम हुँदै गएको देखिन्छ ।

तर नेपाली सेनाले भने घोडाको विशेष स्याहार तथा व्यवस्थापनका लागि नेपाल क्याभलरी युनिट खडा गरेको छ । पहिला सिंहदरबारमा रहेको यो युनिट गणतन्त्र स्थापनापछि नारायणहिटीमा सारिएको हो । याे युनिट विस १९०६ मा स्थापना भएकाे हाे ।

घोडाघोडीको हेरचाह कसरी गरिन्छ?

तबेलामा घाेडाकाे स्याहार गरिँदै ।

नारायणहिटीमा रहेको नेपाल क्याभरीमा हाल ११४ वटा घोडाघोडी छन् । यहाँ रहेका घोडाघोडीहरुको बिहानै सरसफाइ गर्ने गरिन्छ ।

उनीहरुको दैनिक स्वास्थ्य जाँच पनि हुन्छ । हप्ताको एक दिन उनीहरुको विषेश स्वास्थ्य जाँच हुने सेनाको घोडा युनिटले जानकारी दिएको छ । दैनिक रुपमा उनीहरुको तालिम भइरहन्छ ।

एउटा घोडाको रेखदेखका लागि महिनाको ३० देखि ४० हजार रुपैयाँसम्म खर्च हुन्छ । अहिले क्याभलरीमा वश्यक, बुढो तथा भर्खर जन्मिएका घोडा छन् । घोडाको औसत उमेर २७ देखि ३० वर्ष मानिन्छ ।

सबै भन्दा बढि मेडल जित्ने देवकी

तबेलामा देवकी।

नेपालमा घोडा सम्बन्धी खेल त्यति धेरै हुँदैन । भएका सीमित खेलहरुमा सबैभन्दा धेरै पदक जित्ने घोडा नेपाली सेनाको क्याभलरीमा रहेको देवकी नामको पोथी घोडा हो ।

देवकी अहिलेसम्म विभिन्न ९ प्रतियोगीतामा प्रथम स्थान हाँसिल गरेको र अर्को एक प्रतिस्पर्धामा तेस्रो भएको नेपाल क्याभलरीले जानकारी दिएको छ ।

बढि पदक जित्ने देवकी यो वर्षको घोडेजात्रामा भने प्रतिस्पर्धामा सामेल हुने छैन । गर्भवती रहेका कारण देवकीले आफ्नो कौशल प्रस्तुत गर्न नपाउने भएको क्याभलरीले जनाएको छ ।

ब्रिडिङ्ग सेन्टर

चितवनकाे भरतपुरस्थित घाेडा प्रजनन केन्द्र।

सेनाको क्याभलरीमा चितवनको भरतपुर स्थित घोडा प्रजनन केन्द्रमा जन्मिएका घोडाहरु राखिन्छन् । आर्मीको युनिक ब्रिडिङ्ग सेन्टर भरतपुर चौबिसकोठीमा छ ।

२०४१ साल पुस १४ गते स्थपना भएको सेन्टरमा वार्षिक २० देखि २२ वटा विभिन्न प्रजातिका घोडाका बच्चाहरु जन्मिने सह–सेनानी मानबहादुर गुरुङले जानकारी दिए ।

केन्द्रमा हेभी (नोराइकर र पर्चेरियन) ३०, लाईट (थोरोब्रिड) ४६, टाँगन १३, गधा ४ र खच्चड एक गरी जम्मा ९४ वटा घोडाघोडी रहेको गुरुङले जानकारी दिए । त्यसमध्ये ३२ वटा भाले र ६२ वटा पोथी रहेको सह–सेनानी गुरुङले जानकारी दिए ।

सह–सेनानी गुरुङले भने, ‘तीन वर्षसम्म हुर्काएपछि प्रजननका लागि आवश्यक घोडाघोडी सेन्टरमा राखेर अरुलाई नारायणहिटी स्थित नेपाल क्याभलरीमा पठाइन्छ।’

भरतपुरस्थित प्रजनन केन्द्रमा घाेडाकाे उपचार गर्दै चिकित्शकहरु।

क्याभलरीमा पठाएपछि ती घोडाहरुलाई विभिन्न सेरोमोनियल कार्यमा प्रयोग गर्ने गरेको सह–सेनानी गुरुङले बताए ।

केन्द्रमा गएको साउन यता ९ वटा बच्चा जन्मिसकेका छन् भने १३ वटा घोडी गर्भवती छन् । घोडीहरु चैतदेखि साउन महिनासम्म गर्भधारणका लागि सक्रिय हुन्छन् ।

११ महिनापछि बच्चा जन्माउने केन्द्रले जनाएको छ । केन्द्रमा अहिले घोडाको रेखदेखका लागि भेटेरनरी डाक्टर अधिकृत र प्रावधिकसहित ५४ जना खटिँदै आएका छन् ।

घाेडाकाे टापकाे हेरचाह गर्दै।

चैत २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्