विराट गोल्ड कपः आयोजक विरानगर सेमिफाइनलमा

मोरङ – घरेलु टोली विराटनगर महानगरपालिका जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तर्गत शनिबार भएको क्वाटरफाइनलमा भारतको पश्चिम बंगालस्थित सिलिगुढी युनाइटेड क्लबलाई ३–० ले पराजित गर्दै महानगरपालिकाको टोलीले अन्तिम चारको यात्रा तय गरेको हो । फाइनल प्रवेशका लागि विराटनगरले नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको टोलीएपीएफबिच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

सिलिगुढी युनाइटेडलाई पराजित गर्ने क्रममा विराटनगरका लागि सुनिल खड्काले दुई र प्रकाश बुढाथोकीले एक गोल गरेका हुन् । पाहुना टोली सिलिगुढीलाई खेलको सुरुवातबाटै दबाबमा राखेको महानगरका लागि सुनिल खड्काले २५ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। प्रकाश बुढाथोकीले उपलब्ध गराएको क्रसमा खड्काले डिबक्सबाट विपक्षी टोलीका गोलकिपर निगम सिंहलाई मौका नदिई गोल गरेका थिए।

विराटनगरले दोस्रो हाफमा समेत दबाव कायम राखेको थियो। खेल सुरु हुन केहीघण्टा अघिमात्र विराटनगर आएको सिलिगुढीको टोली दोस्रो हाफमा पनि निराश देखियो । खेलको ८६ औँ मिनेटमा प्रकाश बुढाथोकीले डिबक्स भित्रबाट गरेको सशक्त प्रहारमा गोल हुन पुगेको थियो।

खेलको ८८ औँ मिनेटमा सुनिल खड्काले गोल गर्दै ३–० को जित सुनिश्चित गरेका हुन् ।

सिलिगुढीको टोली यसैवर्ष सिक्कीमको रम्फुमा सम्पन्न आयोजित होली कपको उपविजेता टोली हो।

प्रतियोगिताबाट बाहिरिएको सिलिगुढीका प्रशिक्षक अनिमेष तामाङ्गले रेफ्रीको कमीकमजोरीका कारण हारको सामना गर्नुपरेको बताए।

त्यसैगरि विजयी टोली महानगरका प्रशिक्षक संजीव बुढाथोकीले जितसँगै सेमीफाइनलमा खेलाडी परिवर्तनको शंकेत गरे।

प्रतियोगिता अन्तर्गत आइतबारको दोस्रो क्वाटरफाइनलमा भारतको पञ्जाव पुलिस क्लबले शहीद स्मारक ए डिभिजन विजेता मछिन्द्र क्लबको सामना गर्नेछ।

चैत २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्