सम्झनामा एक महान देहाती

हिमालय र गंगाको बीच मैदानी भागमा बस्नेहरुका कथाकार फणीश्वरनाथ रेणुको पुण्य तिथि
फणीश्वरनाथ रेणुलाई संसारले गुमाएको दिन। आज फेरि उनलाई सम्झनेबित्तिकै मन देहाततिर डुल्न थालिहाल्यो।
रेणुले हिमालयभन्दा दक्षिण र गंगाभन्दा उत्तर तर्फको समथर भुभागकै देहातहरुको भोगाइलाई साहित्यमा उभ्याएका थिए। उनी प्रेमचन्द पछिकै उम्दा भारतीय लेखक मानिन्छन्।
उनमा साहित्यिक मात्र नभइ स्वतन्त्रता चेत पनि भरिएको थियो।
भारत र नेपालका स्वतन्त्रता संग्रामहरुमा उनको सहभागिता रह्यो। विशेषगरेर बिपी कोइरालासँगको सानिध्यले उनलाई नेपालसँग जोडेको थियो।
रेणुले नेपाली आन्दोलनको अनुभवमै टेकेर एउटा पुस्तकै ‘नेपाली क्रान्तिकथा’ लेखेका थिए। त्यसैगरि नेपाली गाउँकै पृष्ठभूमिमा उनले ‘रखवाला’ कथा पनि लेखेका थिए। त्यसमा कतिपय स्थानमा नेपाली संवाद पनि प्रयोग गरिएको थियो। ‘दिलबहादुर दाज्यु’ उनको अर्को नेपाल र नेपाली परिवेश समातिएर लेखिएको कथा हो। यसको प्रमुख पात्रका रुपमा गोरखा भर्तीमा गएका एक नेपालीलाई उभ्याइएको छ।
लेखकको रुपमा उनको उदय भने यो सबैभन्दा अगावै सन् १९४४ को अगस्ततिर प्रकाशित ‘बट बाबा’बाट भएको थियो। गाउँको एउटा पुरानो बरगदको रुख वरिपरि यसको कथा घुमेको छ। गाउँकै एकजना साहुलाई उक्त रुखसँग तुलना गरेर लेखिएको कथाबारे रेणु भन्थे, ‘हिमालय र भारतवर्षको जुन सम्वन्ध छ त्यस्तै सम्बन्ध त्यो बुढो रुख र बुढो साहुका बीचमा मैले देखाउन खोजेको थिएँ।’
उनले बीचमा केहि समय पूर्णियाबाटै साप्ताहिक पत्रिका ‘नई दिशा’को सम्पादन प्रकाशन पनि गरेका थिए।
सन् १९५२ मा कालजयी कृति ‘मैला आंचल’ बाहिर आएपछि त्यसले एकपछि अर्को प्रसिद्ध कृतिहरुलाई निरन्तरता दियो।
रेणुले उनका आञ्चलिक कृतिहरुमा जुन देहातलाई उभ्याएका थिए, त्यो मेरो पनि भूभाग थियो। ती कृतिहरुका घुर्मैला देहाती चित्रहरुले अहिले पनि तत्कालीन समाजलाई उसैगरी प्रतिविम्वित गर्छन् जसरी इम्प्रेसनिस्टका तैल रंगहरुले तत्कालीन युरोपलाई मनमोहक बनाइरहेकै छ।
केटाकेटीलाई औषधि खान महले सजिलो पारिदिएजस्तो ‘मैला आंचल’ र ‘परती परिकथा’जस्ता महान कृतिका उपन्यासकारलाई मैले चिन्न सुरुगरेको चाहिँ एउटा हिन्दी सिनेमाबाट थियो।
‘तीसरी कसम’।
…
रेणुकै ‘मारे गए गुलफाम’ कृतिमा आधारित यस सिनेमाका नायक आफूलाई पुरैनिया (पूर्णिया)कै भनेर चिनाउछन्। राजनीतिक सिमानाले नकाट्ने हो भने कहाँबाट नेपाल सुरु हुन्छ र कहाँबाट भारत आइपुग्छ भन्ने पत्तो नपाइने साझा दृश्य र स्वाद बोकेका छन् यी भेगले।
सिनेमाको पहिलो दृश्य नै नायक राजकपुरले बोर्डरमा तस्करीको सामान ओसार्दै गरेको दृश्यबाट सुरु हुनुले यसलाई नेपाल भारतकै सिमानाको कथा पुष्टि गर्छ। यसले उभ्याएको देहातमा मेरै वरपरको ज्यूँदो जाग्दो दृश्य छ। मैले बाल्यकालभरि बयलगाडीमै यात्रा गरेर घुम्नेगरेको सिमरौनगढ र गढीमाइका मेलाहरुको झल्को यस सिनेमामा पनि भेट्छु। सिनेमामा गाउँलेले बोल्ने मैथिली, बज्जिका र भोजपुरी भाषाले त झनै स्थानीयता अनुभूत गराउँछ।
देहातबाट सुरु भएर देहातमै सकिएको सिनेमा कस्तो हुन्छ? सबथोक एकतमासले चलिरहेको–प्रकृतिको नियमलाई कतैपनि उल्लंघन नगरिकन। अलिकता गतिशील केही छ भने एउटा टायरगाढा। त्यो टायरगाढामा सवार नायक अर्थात् मिता अनि नायिका अर्थात् हीराबाई।
यो सिनेमामा त्यतिबेलाका एक से एक हस्तीहरु जोडिएका थिए।
सबैभन्दा पहिले रेणुकै कुरा गरौं। इन्दिरा गान्धीले संकटकाल लगाएपछि आफूले साहित्यका लागि पाएको पद्मश्री पनि फिर्ता गर्ने रेणु ज्यूँदो जाग्दो विद्रोही थिए।
सिनेमाका अर्का पात्र राजकपुर त झनै महान।
मलाई संसारभरकै अभिनेताहरुमध्ये सबैभन्दा मनपर्ने आँखा राजकपुरकै लाग्छन्। ती आँखाले उनका सिनेमामध्येकै सबैभन्दा बढी भाव पनि यसैमा प्रकट गरेको म पाउँछु। एउटा दूरदराज देहातमा बाँचेको अत्यन्त सरल र साधारण बयलगाडी हाक्ने मानिसको भूमिकामा राजकपुर छन्। गाउँका बढा बुढाहरुले र आफ्नै भाउजुले पनि ‘असल मानिसले नौटंकी हेर्न हुँदैन’ भनेर सम्झाएका छन्। तर, उसैको बयलगाडीमा एकसाँझ नौटंकीकी बाइ सवार हुन्छिन्, जसलाई चौबिस घन्टा लगातार यात्रा गरेर बीस कोस टाढाको मेलासम्म पुर्याउनु छ। जंगलको बाटो मध्यरातमा बयलगाढा हाँक्दै गर्दा जब पछाडिबाट पाउजु बजेको सुन्छ ऊ झसंग हुन्छ। एकैछिनमा युवतीको खुट्टा देख्दा त डरले खुत्रुक्कै पर्छ। जंगल बीचको देउतालाई आफ्नो ज्यान जोगाइदिन पुजा आराधना गर्छ।
कहाँ ‘श्री ४२०’ र ‘आवारा’का राजकपुर कहाँ यी लाजका पोका भोलाभाला राजकपुर!
जसरी सिनेमाको नायक असाध्यै कम संसार देखेको अवोध सिधासाधा छ त्यसैगरि नायिका चाहिँ नौटंकीको बाइका रुपमा यस संसार र दुनियाँदारीलाई चाहिनेभन्दा बढी नै भोगेकी पात्र अर्थात् वहिदा रहमान। यो ‘कन्ट्रास्ट’ बीचको सामिप्य र दुरी दुवैलाई सुन्दरताका साथ देखाउन सक्नु नै यस सिनेमाको महत्वपूर्ण पक्ष हो।
चलचित्रभरि एउटी लोक कथाकी पात्र उभ्याइएको छ। हाम्रो भेगतिर अनेक देहाती लोककथा हुने गर्थे। हिजोआज त विजुली, मोटर, टेलिभिजन र मोबाइल सबैतिर पुगेर देहात भन्ने चिज नै अलप भइसकेको छ। त्यो अनकन्टार जीवन नै अहिले बिरलै भेटिन्छ। हामीले वाल्यकालतिर भोगेका देहातमा त्यस्ता थुप्रै लोककथा सुनिन्थे। त्यसैमध्येकी एकको पात्र हुन् ‘महुवा घटवारिन’।
ताडी खाएरै जीवन बिताउने बाबुबाट बेवास्ताको शिकार महुवाकी सौतिनी आमाले उनलाई सौदागरको हातमा बेचिदिन्छिन्। यसपछिको घटनामा चाहिँ यो रेणुले लेखेको कथा र बासु भट्टाचार्यले निर्देशन गरेको सिनेमामा केही फरक छ। तर, जतिसुकै फरक भएता पनि दुवैले देखाउने भनेको चाहिँ त्यस लोककथाकी अत्यन्त साधारण पात्र ‘महुवा घटवारिन’ भित्र रहेको स्त्रीत्व, मातृत्व, प्रेम र विद्रोहको झलक हो। हेपिइएकी, दबाइएकी अनि स्वतन्त्रतापूर्वक स्वास फेर्न छटपटाइरहेकी एउटी नारी।
अन्तिममा चाहे खलनायकका रुपमा होस्, चाहे नायकका रुपमा उपस्थित पुरुषहरुलाई छाडेर उसले आफ्नै स्वतन्त्रताको बाटो समात्छे। त्यही लोक कथाकी पात्रलाई नायिका अर्थात् नौटंकीको बाइको भोगाइसँग मिलाउँदै सिनेमा अघि बढाइएको र सिध्याइएको छ।
चराका चिरबिर अनि गोरुका घाँटीमा झुण्डिएका घन्टीहरुलाई निरन्तरता दिँदै बढ्ने शंकर जयकिशनका संगीतहरुले चुरे र गंगाको बीचका ग्रामीण बस्तीहरुको मौलिक आवाजलाई माटैबाट उठाएर हावामा गुञ्जाइरहेको प्रतित हुन्छ।
यो आफैँमा एउटा गजब प्रयोग हो। जसरी महुवा घटवारिनले न सौदागरलाई पछ्याउँछे न उसलाई डुब्नबाट जोगाउन खोज्ने (सिनेमामा चाहिँ परदेश जाने प्रेमी)लाई त्यसैगरि हिराबाइले पनि न उसलाई बाइको रुपमा भोग गर्न खोज्ने जमिनदारलाई स्वीकार्छे न सतिसावित्री बनाएर घरमा राख्न खोज्ने वयलगाढा हाँक्ने नायकलाई। किनभने दुवैको चाहना त उसलाई आफूले तयार पारेको ‘दृष्टिकोण’को बन्धनमा राख्ने हो। उ अस्वीकार गर्छे।
यस हिसाबले नायिकाको कामै खलनायकबाट जोगिएर कुनै नायकको हातमा पुग्नु हो भन्ने आज पनि सबै तिरका सिनेमामा जारी ‘स्टेरियो टाइप’हरुबाट सन् १९६६ मै बनेको यस फिल्म बिलकुल अलग देखिन्छ।
यस सिनेमाका अर्का महत्वपूर्ण पक्ष हुन्, निर्देशक बासु भट्टाचार्य।
सत्यजीत रेको पाथेर पान्चालीबाट प्रभावित भइ सिने क्षेत्रमा लागेका भट्टाचार्यको यो नै निर्देशकका रुपमा पहिलो सिनेमा थियो जसका लागि निर्माता शैलेन्द्रले उनलाई विश्वास गरेका थिए।
शैलेन्द्र, हसरत जयपुरी, शंकर जयकिशन जस्ता हिन्दी फिल्मी गानाका प्रतिभाहरु एउटै सिनेमामा अटाएको हिसाबले पनि यो एक ऐतिहासिक फिल्म हो।
मोटामोटी सवा दुइ घन्टाको सिनेमामा चालिस मिनेट त गीतै बजिरहने सिनेमा हो यो। अनि एक से एक गीतहरु।
एकातिर संगीतको धनी उबेलाकी नौटंकीको बाइ अनि अर्कोतिर दुर दराजका लोकगीतहरुको खजाना समेटेका बयलवान भएको सिनेमा भएपछि यसो हुनुमा कुनै आश्चर्य पनि रहेन।
चराका चिरबिर अनि गोरुका घाँटीमा झुण्डिएका घन्टीहरुलाई निरन्तरता दिँदै बढ्ने शंकर जयकिशनका संगीतहरुले चुरे र गंगाको बीचका ग्रामीण बस्तीहरुको मौलिक आवाजलाई माटैबाट उठाएर हावामा गुञ्जाइरहेको प्रतित हुन्छ।
सिनेमाको सुरुवातै ‘सजन रे झुठ मत बोलो, खुदाके पास जाना है’ जस्तो सर्वकालीक हिट गीतबाट हुन्छ। त्यसैगरि नायकको मौलिक देहातीपनलाई अघि बढाउँदै लोककथामै आधारित ‘सजनवा बैरी हो गइ हमार’ र ‘दुनियाँ बनाने वाले क्या तेरि दिलमे समाइ, काहेको दुनियाँ बनाइ’ जस्ता गीतहरु गुञ्जिन्छन्। लोककथाको चित्रणलाई मनन गर्दै शैलेन्द्रले तयार पारेको गीत ‘सजनवा बैरी’ त यस सिनेमाकै प्राण हो। यसमा उल्लेख गरिएको एउटा अन्तराले आज पनि कमाउनका निम्ति परदेशिने यस भेगका तन्नेरी र तिनका प्रियाहरुको कथा भन्छ।
‘जाये बसे परदेश सजनवा, सौतनके भरमाए
ना सन्देश ना कोइ खबरिया, रुत आए रुत जाए
डुब गएँ हम बीच भँवरमे करके सोलह पार’
त्यसैगरी शैलेन्द्रकै कलमबाट लोककथामै आधारित अनि निख्खर आञ्चलिक स्वाद बोकेका ‘चलत मुसाफिर मोह लियो रे पिँजरेवाली मुनिया’ होस् वा घोषणा नभएता पनि भित्रभित्रै एकापसमा जोडिएका दुइ प्रेमी प्रेमिकाको मनको बहलाई गति प्रदान गर्ने ‘लाली लाली डोलियामे लायी रे दुल्हनिया’ जस्ता गीतहरुले यो सिंगो भेगकै स्वर लहरी अनुभूत गराउँछ। यस गीतमा देहातका केटाकेटीहरु दुलही बोकेर आएको भानमा परसम्मै गीत गाउँदै टायरगाढालाई उसैगरि पछ्याउँछन् जसरी देहातस्थित मामाघर गएका बेला त्यसैगरि दुलही लिएर आएको टायरगाढा देखेपछि हामी केटाकेटीहरुको भिड पछ्याउँदै निकै परसम्म जाने गर्थ्यो। यसरी धेरै कुरा एकसाथ मिसिएर त्यो परिस्थितीले आनन्दित पारिरहेको हुन्छ।
कथाकार रेणुजस्तै शैलेन्द्र आफै पनि विहारकै हुन्।
यस सिनेमाको अर्को गहिरो चोट उनैसँग जोडिएको छ।
भारतीय सिनेमाजगतकै आजसम्मकै सबैभन्दा राम्रो गीतकार मानिन्छन् शैलेन्द्र। यसरी गीतकार भएर बाँचिरहेका एक मानिसलाई यो कथाले के आकर्षित ग¥यो र उनलाई सिनेमाको निर्माता बन्ने सोचाइमा लगिदियो भन्ने पनि आफैमा आश्चर्यलाग्दो देखिन्छ। जबकि ‘मारे गए गुलफाम’लाई ‘तीसरी कसम’ बनाएपछि जे जस्तो घटना भए त्यसले त्यो ‘मारे गए गुलफाम’ खूद शैलेन्द्र नै बन्न पुगे।
त्यसको पनि हृदयस्पर्शी भोगाइ छ।
शंकरदास केसरीलाल (पछि शैलेन्द्र) सायद अलिक पछिसम्म पनि चोक चौराहामा कविता सुनाएरै बाँचिरहने थिए।
मायानगरी मुम्बइ आइपुगेका उनलाई कविहरुको जमघटमा पहिलोपटक राजकपुरले देखेका थिए। सायद त्यो रेलवेस्टेशनमा आयोजित कुनै मुसायरा थियो। त्यसताका शैलेन्द्रको काम फकिरजस्तो डुल्नु र सार्वजनिक थलोहरुमा गीत कविता सुनाउनु हुन्थ्यो। उनी विचारले कम्यूनिष्ट थिए र सडकमै आफूलाई सहज महशुस गर्थे।
त्यो मुसायरामा शैलेन्द्रले सुनाएको ‘जलता है पञ्जाब’ शिर्षकको कविता असाध्यै जोडदार थियो। राजकपुर मान्छे चिन्न खप्पीस। उनी त्यतिबेला ‘आग’ बनाउने तयारी गरिरहेका थिए। राजकपुरले शैलेन्द्रलाई आफ्नो सिनेमाका निम्ति गीत लेखिदिन अनुरोध गरे।
शैलेन्द्र जुन विचार राख्थे त्यो विचारले फिल्मी रमझमको दुनियाँमा उनलाई अघि बढ्न दिँदैन थियो। उनले आफू सडकमै मस्त रहेको बताउँदै त्यो बेलाका त्यत्रा प्रभावशाली राजकपुरको प्रस्तावलाई अस्वीकार गरिदिए।
त्यतिबेला सिनेमामा अवसरका निम्ति कस्ता कस्ता हस्तीहरु पछि लाग्ने राजकपुर एउटा सडकमा हिँड्ने कविका सामुन्नेबाट चाहिँ खाली हात फर्किए।
मान्छेको नियति कहाँनिर गएर बदलिन्छ, थाहा हुँदैन। पछि शैलेन्द्रले दुःख पाए। विशेषगरेर उनको श्रीमति गर्भवती भएको बेलामा राम्ररी खानदिने पैसा पनि नभएपछि उनी एकसमय आफूले खाली हात फर्काएको उनै राजकपुरका सामुन्ने पुगे।
‘म तपाइँसँग काम गर्न तयार छु,’ शैलेन्द्रले राजकपुरलाई सुनाए। राजकपुरले तत्कालै स्वागत पनि गरिहाले।
त्यसपछि भारतीय चलचित्रको घेरामा एकसेएक गीतहरु आउन सुरुभयो। राजकपुर र शैलेन्द्रको संगत अनि शंकर जयकिशनका संगीत।
शैलेन्द्रले गीत त ‘वरसात’ (सन् १९४९) बाटै लेख्न सुरुगरे। तर, लेख्न थालेको दुइ वर्षमै सन् १९५१ मा बनेको ‘आवारा’को एउटा गीतले चाहिँ उनलाई उचाइँको हदसम्मै लग्यो।
‘आवारा हुँ
या गर्दिशमे हुँ, आसमानका तारा हुँ
आवारा हुँ’
यो गीत कतिसम्म प्रसिद्ध भयो भने, त्यो बेलाको भाषा र राष्ट्रियताको सिमाना नाघेर संसारभरि फैलियो। राजकपुर पछि तत्कालीन सोभियत संघ गएका बेला रुसीहरुले उनलाई सामूहिक रुपले त्यो गीत गाएर स्वागत गर्दा चकित परेका सन्दर्भ समेत चर्चामा आएको थियो।
शैलेन्द्रका गीतहरु कतिसम्म चर्चित र प्रभावशाली भइदियो भने राजकपुरका निम्ति त उनी ‘ब्राण्ड’ नै भइसकेका थिए। त्यसबाहेक पनि फरक निर्देशकका ‘गाइड’ जस्ता सिनेमामा उनले लेखेका गीतहरु उत्तिकै कालजयी बने।
यसरी फिल्मी दुनियाँमा रमाउँदै गएपछि शैलेन्द्रलाई राम्रैसँग सिनेमाको चस्का बस्न थाल्यो। अब उनी आफू पनि निर्माता बन्ने सपना देख्न थाले।
उनले फणीश्वरनाथ रेणुको कथा छाने, त्यसका निम्ति निर्देशक बासु भट्टाचार्यको चयन गरे। नायक नायिकामा अब्बल छनौट थियो नै। सन् १९६१ बाट उनले सिनेमाको काम अघि बढाए र फिल्म तयार भयो १९६६ मा।
यो सिनेमा बनाउनका निम्ति शैलेन्द्रले जीन्दगीभरिको कमाइ मात्र लगाएका थिएनन्। भारतीय पत्रपत्रिकाले जनाएअनुसार उनले टन्नै रिन पनि लिएका थिए।
यसरी बनेको थियो ‘तीसरी कसम’।
रेणुका कृतिहरुको चर्चा एउटै लेखमा संभव छैन। तर, उनले आफू बाँचेको देहातलाई जसरी अमर बनाएर गए त्यो गुणका निम्ति उनी सदैव सम्झनामा आइरहनेछन्। सन् १९७७ मा आजैका दिन ५६ वर्षको उमेरमा उनको निधन भएको थियो।
तर, नहुनुपर्ने कुरा भइदियो। सिनेमा भारतभरिका हलहरुमा लाग्न नपाउँदै उत्रियो। ‘फ्लपै’ ठहर गरियो। यसका रिलहरु डब्बामा बन्द भए।
सडकमा गाएर रमाइरहेका शैलेन्द्रलाई फिल्मी दुनियाँले रंगीन आकाशमा उडाएर नराम्ररी भुइँमा बजारिदियो। त्यसको प्रभाव त पर्नु नै थियो। शैलेन्द्र अचानक अत्यन्त रक्सीवाज भइदिए।
बौलाहाजस्तै बने। सिनेमा रिलिज भएकै वर्ष शायद हृदयाघातबाटै उनको ४३ वर्षकै उमेरमा निधन भयो।
भाग्यको खेल! फेरि अर्को चमत्कार भइदियो।
शैलेन्द्रको मृत्यु भएको केही समयमै अर्थात् सन् १९६७ मा त्यो सिनेमा तत्कालीन विश्वकै प्रसिद्ध चलचित्र महोत्सव ‘मस्को इन्टरनेशनल फिल्म फेस्टिभल’को छनौटमा पर्न सफल भयो। सर्वोत्तम चलचित्रको पुरस्कार ‘ग्रयाण्ड प्रिक्स’को निम्ति प्रतिस्पर्धामा पुग्नेबित्तिकै यस सिनेमालाई लिएर संसारभरि चर्चा सुरु भयो।
त्यसले डब्बामा बन्द भइसकेको सिनेमालाई फेरि एकपटक चम्कायो। त्यतिमात्र होइन, त्यसै वर्ष भारतको ‘नेशनल फिल्म अवार्ड’ पनि यसै सिनेमाले पाउन सफल भयो।
त्यतिबेला निर्देशक बासु भट्टाचार्यले पुरस्कार स्वरुप ५ हजार रुपैयाँ मात्र होइन, निधन भइसकेका निर्माता शैलेन्द्रले जितेको २० हजार रुपैयाँको पुरस्कार पनि ग्रहण गरेका थिए।
यसरी एउटा डब्बामा पुगेको सिनेमा सोभियतसंघबाट उठेको तुफानलाई पछ्याउँदै फेरि हलहरुमा खचाखच भीँड लाग्न सुरुभयो। सुपरहिट मानियो।
तर, नियति… निर्माता शैलेन्द्रले त्यो दिन देख्नै पाएनन्। एउटा शब्द शिल्पीलाई सिनेमाको रंगीन दुनियाँले यसरी अनाहकमा सदाको निम्ति मेटाइदिएको थियो।
…
बदलिँदो समयसँगै देहातहरु अब धमाधम हराउँदै गएका छन्। तिनै हराउन थालेका देहातका चित्रहरुलाई अमर हुनेगरि रेणुका शब्दहरुले उभ्याइदिएको छ।
उदाहरणका रुपमा एउटा छोटो कथा ‘पञ्चलाइट’ नै लिउँ। यो एकै बसाइमा पढेर सिध्याउन सकिन्छ।
हिजोआज देहातमा पनि जताततै विजुलीबत्ती गइदिएर त्योबेलाको देहातकै अन्त्य भइसकेको छ।
त्योताका साना टुकीहरुको धिपधिपे उज्यालोमा अनेक रहस्य र भूतप्रेतका कथाहरु गाउँभरि डुलिरहेका हुन्थे। गाउँका विशाल रुखहरु प्रत्येकका बेग्लाबेग्लै कथा हुन्थे। रातबिरात त्यतातिर जान पनि डर लाग्नेगरि निमका बेग्लै कथा हुन्थे भने बरगदका बेग्लै। अझ इमलीका रुखहरुमा त हामी दिउँसै पनि नजिकिँदा थरथरी काम्थ्यौं।
त्यस्ता भयावह रातहरु बोकेर बाँच्ने देहातहरुमा जब कुनै उत्सव हुन्थ्यो त्यतिबेला बजारबाट मगाइन्थे मट्टीतेलमा दम दिएर बल्ने चहकिलो बत्ती ‘पेट्रोमेक्स’।
त्यो पेट्रोमेक्स बलेपछि गाउँको रात बेग्लै बन्न पुग्थ्यो। चहलपहल अर्कै बन्थ्यो। चाहे त्यो मेरो देहातमा बाँचेका मामाहरुले बनाएका नाटकहरुको प्रदर्शन होस् वा दशैं र तिहार बीचमा हजुरबाहरुले त्रिपाल टाँगेरै रातभर खेल्ने जुवाको माहोल।
त्यस्तो चमत्कारी ‘पेट्रोमेक्स’मा आधारित रेणुको कथा हो ‘पञ्चलाइट’।
रेणुका कृतिहरुको चर्चा एउटै लेखमा संभव छैन। तर, उनले आफू बाँचेको देहातलाई जसरी अमर बनाएर गए त्यो गुणका निम्ति उनी सदैव सम्झनामा आइरहनेछन्।
सन् १९७७ मा आजैका दिन ५६ वर्षको उमेरमा उनको निधन भएको थियो।
पुण्यतिथिका दिन फेरि हार्दिक नमन।
नेपाल र भारतका सिमावर्ती क्षेत्रमा बाँच्दै आएकाहरुको कथा अमर रहोस्।