शिवपुरीको नागी गुम्बा क्षेत्रमा लागेको आगलागी नियन्त्रणमा आउँदै (तस्बिरहरु)

शिवपुरी वन क्षेत्रको नागी गुम्बा वरिपरि आइतबार लागेको डढेलो। तस्बिरहरु: बर्षा शाह

काठमाडौँ – शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको नागी गुम्बा वन क्षेत्रमा लागेको डढेलो लगभग नियन्त्रणमा आएको प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौडेलले बताएका छन् ।

बिहान ९ देखि १० बजेको बिचमा नागी गुम्बा वन क्षेत्रबाट ढडेलो सुरु भएको र अपरान्ह साढे ४ बजेसम्म पूर्ण नियन्त्रणमा लिन नसकिए पनि लगभग आगो नियन्त्रणमा आउने अवस्थामा पुगेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत पौडेलले बताए ।

उनले भने, ‘हेलिकप्टर, वारुणयन्त्र, सेना, प्रहरी तथा स्थानीय बासिन्दाको संलग्नतामा डढेलो नियन्त्रणको प्रयास भइरहेको छ । पूर्ण नियन्त्रणमा आएको छैन, तर अधिकांश रुपमा आगो नियन्त्रणमा लिइएको छ ।’

ढडेलो नियन्त्रणका लागि तीनवटा वारुण यन्त्र, सिम्रिक एअरको हेलिकप्टर, नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, नगरपालिका, मध्यवर्ती क्षेत्र र स्थानीय बासिन्दाले प्रयास गरेको निकुञ्जले जनाएको छ ।

‘प्रारम्भीक अनुमानमा मानवीय कारणले नै डढेलो लागेको देखिन्छ’, प्रमुख संरक्षण अधिकृत पौडेलले भने, ‘अधिकांश रुपमा सल्लाको वन क्षेत्र रहेको र भिरालो क्षेत्रमा आगो लागेकाले नियन्त्रणमा लिन कठिन भएको हो ।’

सल्लाको जंगलमा घोटोका कारण आगो तीव्र गतिमा फैलिने र नियन्त्रणमा लिन कठिन हुने गर्छ ।

यो वर्ष हिउँद र प्रि मनसुनको अवधिमा औषत भन्दा निकै कम पानी परेका कारण सुख्खा भएको वन क्षेत्रमा अधिकांश रुपमा मानवीय कारणले डढेलो लागेको वन तथा भू संरक्षण विभागले जनाएको छ ।

विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार अहिले देशभरका कम्तीमा ४८ जिल्लाका ३८९ वन क्षेत्रमा डढेलो सक्रिय अवस्थामा रहेको छ ।

यो वर्षको डढेलो सिजनमा हालसम्म सबै जिल्लाका वन क्षेत्र गरि पाँच हजार २५७ डढेलोका घटना भएका छन् ।

चैत २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्