श्रमजीवीको अधिकारका लागि एकताबद्ध हुन आग्रह

विराटनगर – श्रमजीवीहरूको हकअधिकारका लागि सबै तह र तप्काको आवाज एक हुनुपर्नेमा दक्षिण एसियाली क्षेत्रिय ट्रेड युनियन सार्कटुकका महासचिव लक्ष्मण बस्नेतले बताएका छन्।

मोरङको कटहरी गाउँपालिकास्थित नेपाल ट्रेड युनियन कांग्रेस मोरङको भवनमा आयोजित कार्यक्रममा महासचिव बस्नेतले कोभिड १९ का कारण विभिन्न क्षेत्रमा कार्यरत श्रमजीवीको अवस्थामा असर पर्दै आएको बताएका थिए।

कोभिडका कारण पत्रकारसँगै अन्य क्षेत्रमा काम गर्दै आएका श्रमजीवीले कामबाट वञ्चित हुनुपरेको उनको भनाइ छ।

मोरङ, झापा, सुनसरीमा कोभिड १९ को असरबारे जानकारी लिएको भन्दै उनले धेरै स्थानमा श्रमिकले रोजगारी गुमाउनु परेको बताए।

कोभिडका कारण रोजगार क्षेत्रसँगै श्रमिकमा समेत प्रभाव परेको उनको भनाइ छ।

प्रदेश १ र मोरङ जिल्लाबाट पत्रकार महासंघको निर्वाचनमा विजयी भएका पदाधिकारीलाई बधाई तथा सम्मानका क्रममा महासचिव बस्नेतले श्रमजीवीलाई पेसामा जोगाइराख्न सम्बन्धित निकायले ध्यान पुर्‍याउन आवश्यक रहेको बताए।

सोही क्रममा पत्रकार महासंघ प्रदेश १ का नवनिर्वाचित अध्यक्ष लिलावल्लभ घिमिरेले पत्रकार र ट्रेड युनियनबीच समन्वयको कमी रहेको औँल्याए।

कार्यक्रममा ट्रेड   यूनियन कांग्रेस मोरङका अध्यक्ष सुशील कोइरालाले देखिएका कमजोरी हटाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिए।

शक्ति केन्द्रलाई प्राथमिकता दिएर अघि बढ्ने प्रवत्तिका कारण समन्वयमा केही कमजोरी देखिएको हुन सक्ने उनले बताए। अध्यक्ष कोइरालाले श्रमजीवीको हक अधिकारका लागि ट्रेड युनियनकर्मी सधैं साथ रहेको बताए।

कार्यक्रममा प्रदेश १ र मोरङ जिल्लाबाट निर्वाचित प्रेस युनियनका पदाधिकारीलाई महासचिव बस्नेत, ट्रेड युनियन प्रदेश १ का अध्यक्ष नारायणबाबु बस्नेत, शंकर खरेललगायतले सम्मान गरेका थिए।

चैत २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्