नसम्झ आज एशियाली सञ्चोले यहाँ बाँचेको…

न्यूयोर्कमै बस्नुहुने मेरी ७५ वर्षीया आमा साँझ बिहान टहलिनका निम्ति निस्कनु हुन्छ। यसरी निस्कने बेलामा मैले आमाको भेष बदलिदिने गरेको छु। खैरो रंगको नक्कली कपाल मैले उहाँलाई किनेर ल्याइदिएको छु। त्यो कपाल लगाइसकेपछि माथिबाट टोपी, आँखामा चश्मा र अनुहारमा मास्क लगाउन भन्छु। त्यति भएपछि झुक्याउनलाई काफी हुन्छ।

‘यति भएपछि अब उहाँलाई कसैले केही नगर्लान्’, मनमनै यो सोच लिएर म ढुक्क हुन्छु।

मलाई थाहा छ, यो सुन्दै पनि अचम्म लाग्दो कुरा हो। तर, मैले बाँच्नका निम्ति अपनाएको यो उपाय हो।

‘तिमी आत्तिएको र धन्दा मानिरहेको म बुझ्छु,’ मैले मामी भनेर सम्बाेधन गर्ने आमाले अघिल्लो दिन त्यो खैरो कपाल पहिरिँदै मलाई सुनाउनु भयो, ‘तर, यो सब गर्नुभन्दा त बरु मलाई एउटा टेकेर हिँड्ने किसिमको बलियो लौरो दिइपठाऊ न। जे जस्तो आइपरे पनि म सल्टाउन सक्छु।’

मेरी मामी जस्तै अप्ठेरामा पनि कत्ति सरल, निडर र दयालु हुनुहुन्छ भन्ने कुराको यो उदाहरण हो। उहाँको साहस देखेर म कायल हुन्छु। तैपनि उहाँको सुरक्षा चिन्ताले मलाई छाड्दैन। जतिखेर पनि मामी कता पुग्नुभयो होला भनेर म खोजबिन गरिरहेकै हुन्छु।

यो नै हाम्रो यथार्थ हो। एउटा लगातारको भय जसले हामीलाई गाँज्दै लगेको छ।

हाम्रो अवस्था यस्तो छः

पछिल्ला दिनहरुमा एशियाली मूलका मानिसहरु विरुद्ध घृणा ओकल्दै गरिने हिंसाका घटनाहरुले असाध्यै तीब्रता पाइरहेको छ। त्यसमा हाम्रो भेगका बुढापाकाहरुले पनि दिउँसै झेल्नुपरेका आक्रमणहरु यत्रतत्र देखिन्छन्। तिनैमध्येकी ६५ वर्षिया विल्मा कारी पनि हुन्। उनलाई गत साता न्यूयोर्कमै अश्लील गालीका साथ ‘तँ यहाँकी होइनस्, तँ एशियन होस्’ भनेर दुत्कारियो। प्रहरीमा दर्ता भएको याचिका अनुसार त्यसलगत्तै उनलाई भुइँमा पछारिनेगरि धकेल्दै आक्रमणकारीहरुले लात्तै लात्तले हिर्काएका थिए।

त्यसभन्दा अगाडिको घटनाबारे त विश्व जानकार नै छ। अमेरिकाकै एटलान्टा राज्यका तीनवटा स्पा गर्ने स्थानहरुमा गोली हिर्काएर छ जना एशियाली महिलाहरुको हत्या गरिएको थियो। यो एक वर्षयता नै ३८ सयवटा एशियालीहरु माथि घृणाकै आधारमा गरिएका हिंसाका मुद्दाहरु दर्ता भइसकेका छन्। मानौं एशियालीहरु विरुद्ध खुलेआम हिंसाका फोहरा नै छाड्ने घोषणा भइसकेको छ।

अरुहरुका के कुरा गर्ने? स्वयं तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई ‘चाइना भाइरस’ र ‘कुंग फ्लू’ जस्ता नामहरु दिएर हामी एशियालीहरुलाई घृणाको तारो बनाइदिएका थिए। त्यसको प्रतिफलमा पनि हामीले धेरै ब्यहोर्नुपरेको थियो। सामाजिक सद्भावलाई नै घात गर्ने किसिमले अभिव्यक्त गरिएको उक्त विषाक्त वचनले घृणात्मक हिंसालाई थप मलजल गरेकै थियो। हाम्रो अमेरिकी समाजमा लामो समयदेखि जरो गाड्दै आएको जाती एवं नश्लभेदी भावनाकै निरन्तरतामा पूर्व राष्ट्रपतिको त्यो भड्काउ अभिव्यक्ति आएको थियो।

यस्तो विषाक्त भावनाले अमेरिकाको सबैजसो क्षेत्रलाई प्रभावित पारेकै छ। उदाहरणका निम्ति म संलग्न ‘फेसन उद्योग’ कै कुरा गरौंः हरेकदिन जसो नै संस्थागत जातीद्वेषले काम गरिरहेकै हुन्छ। यो फेरि सूक्ष्म वा सांकेतिक रुपमा मात्र पनि सीमित हुँदैन।

आज बोल्नै पर्ने बेला आएको अवस्थामा मैले मेरो क्षेत्र प्रतिको दायित्वकै रुपमा यो विचार राख्न गइरहेको छु।

के गरेपछिअमेरिकी बनिन्छ?

हामी आज जुन संसारमा बाँचिरहेका छौं त्यसलाई अत्यन्त सामान्य र विशुद्ध रुपमा फेसनले नै प्रतिबिम्वित गरिरहेको हुन्छ। यसलाई कुनै किसिमको दबाबले वा प्रभावले कदापि निर्देशित गर्दैन। बरु यो त समकालीन संगीतबाट, संस्कृतिबाट, सामाजिक गतिविधिहरुबाट र राजनीतिबाट स्वस्फूर्त निर्देशित भइरहेको हुन्छ।

फेसनलाई लिएर तपाईका बेग्लै मत हुनसक्ला। तर, फेसनबाट तपाई आफै चाहिँ मुक्त हुनै सक्नुहुँदैन। हामीमध्ये अधिकांशका हकमा त यो बिहान उठ्नेबित्तिकै लिइने पहिलो निर्णयकै विषय हुनेगर्छ। सशक्तिकरणका हिसाबले पनि यो बलियो अस्त्र हुनसक्ने मलाइ विश्वास छ।

नेपथ्यमा रहेर फेसनले कति शक्ति देखाइरहेको हुन्छ भन्ने बारेमा एउटा बेग्लै अध्ययनको विषय बन्न सक्छ।

म सिंगापुरमा जन्मेँ, नेपालमा हुर्केँ र भारतमा बसोबास गरेँ।

यी मुलुकहरुमा मानिस कुन रंगको छ? उसको जात के हो? उ सामाजिक संरचना अनुसार कत्तिको शक्तिशाली छ? भन्ने कुराले असाध्यै धेरै महत्व राख्ने गर्छ।त्यसले सिर्जना गरेका अनेक भोगाइहरु व्यहोर्नै पर्छ।

१२ वर्षअघि मेरो ‘ब्राण्ड’को थालनी गर्दा मैले उद्देश्य नै समाजमा बञ्चितिमा परेका समुदायका मानिसहरुले यसैका माध्यमबाट उनीहरु कस्ता देखिन्छन् भनेर हेर्न सकुन् र उनीहरु कति महत्वपूर्ण छन् भनेर बुझाउन सकूँ भन्ने राखेको थिएँ। तर, आजसम्म पनि यो निकै कठिन लडाइ साबित भइरहेको छ।

मुख्य प्रश्न नै के हो भने शैलीको निर्धारण कसले गर्ने र कस्तो कुरालाई स्वादको वा गजबको मान्ने भन्ने दृष्टिकोण नै आजपर्यन्त औपनिवेशिक चश्मा लगाएर तय गरिँदै आइरहेएको छ। शताब्दीयौं पुरानो युरोप केन्द्रित मानकहरुलाई आजसम्मै हामीले भत्काउन सकेका छैनौं।

मानिस सजिनु केलाई मान्ने? भन्ने मान्यता नै अविजात्य वर्गले भेदभावका हिसाबबाट कायम गरेका मानकहरुमा खडा भएका छन्, जुन खासगरेर गोरा अनि सत्तामा बसेकाहरुलाई शक्तिशाली साबित गर्ने हिसाबले उनीहरुकै ‘चरण कमल’मा अर्पित गरिएका छन्। ताकि उनीहरुले आफूलाई महत्वपूर्ण अनि सुरक्षित ठान्न सकून्।अनि यो निर्णय गर्ने तहमा पनि आजसम्मै गोराहरुकै बाहुल्यता रहँदै आएको छ।

यो रणनीतिले धेरैतिरबाट प्रहार गरिरहेको छ।

अल्पसंख्यक समुदायका संस्कृतिबाट प्रभावित वा अल्पसंख्यक समुदायबाट उठ्न खोज्ने डिजाइनरहरुका सम्पदाहरुमा जरो गाडिएका फेसनहरुलाई या त ‘अनौठो’ वा ‘जातीय’ भनेर तक्मा भिराइन्छ वा नभए अलिक दबेको स्वरमा ‘भड्किलो र भद्दा’का उपमा दिइन्छ।

कतिपय सद्भाव राखेर गरिने क्याम्पेन वा जातीय पहिरनको समारोह पनि यस्ता हलहरुमा आयोजना गरिएका हुन्छन् जहाँ ती पहिरनसँग जोडिएका मानिसहरुको उपस्थिती नै रहँदैन। अर्थात् ती निमुखाले सशक्तिकरण महशुसै नगरुन् र शक्तिशालीहरुको निर्वाध यात्रा जारी रहोस्।

मेरो आफ्नै व्यावसायिक जीवनको प्रारम्भका बेलामा मलाई विविधतापूर्ण कामहरु सकभर नियन्त्रित गर भन्ने सल्लाह दिइएको थियो।

उनीहरुको भनाइ नै रहन्थ्यो कि गोरा मोडलहरु नराख्ने हो भने ग्राहकले धेरै रुचाउँदैनन्। ‘मोडलका रुपमा दुइवटा सम्म कालो वर्णको अनि दुइवटा सम्म एशियाली महिला चाहिँ ठीक्क रहला’–उनीहरु भन्थे।

मलाई कोरियाली मोडल जी हाइ पार्कसँग मिलेर एउटा ‘कलेक्सन’ थालनी गर्दाको क्षण अझै सम्झना हुन्छ। त्यतिबेला ‘ब्राण्ड’का अन्य सरोकार राख्नेहरुबीच ठूलै बहस सिर्जना गरेको थियो। ‘गर्ने र? नगर्ने कि? के ठीक रहला? के त्यसो गर्नुको कुनै अर्थ रहला? यो कुनै प्रकारको विलासी सोँच पो हो कि?’

यस प्रकारका संवादहरुले सुरुमा त चकितै पारेको थियो। पछि पछि गएर मैले यस्ता कुराहरुमा सम्झौता गर्दै जान थालेँ। यसरी रंगभेदीहरुले केहि एशियालीमाथि सुक्ष्म तवरले गर्ने आक्रमण वा देखादेखी भेदभाव हेर्ने बानी नै हामीलाई पर्न थाल्यो। हामी भन्नाले म र मजस्तै एशियाली वा अन्य रंगका मानिसहरु जो यस उद्योगमा प्रवेश गर्न सफल भएका थियौं।

त्यसो त फेसनको दुनियाँले समयसँगै आफूलाई प्रगतीको पथमा लम्काउने काम नगरेको होइन। तर, अझै पनि हामीले लामो यात्रा गर्न बाँकी नै छ।आज पनि ‘समावेशी हुनुपर्छ’ भन्ने दबाबकै कारण कालो वर्ण, ल्याटिन अमेरिकी, एशियाली, आदिवासी अमेरिकीदेखि तेश्रोलिङ्गीसम्मलाई यस उद्योगले ‘टोकन’का रुपमा हेरिरहेकै छ।

‘अमेरिकी पना’ले यदाकदा मलाई चुनौती दिइरहेकै हुन्छ। सन् २०१८ मा मेरो ‘लेबल’को दसौं वार्षिकोत्सव संकलनमाथि योजना बैठक चलिरहेको थियो। एकजना लगानीकर्ताले मलाई मेरो ‘ब्राण्ड’ बारे बोल्न लगाए।

मैले भनाइ राख्ने क्रमसँगै अमेरिकी शैली जहिले पनि गोराहरुको चश्माबाट ब्याख्या हुँदै आइरहेको उल्लेख गरेँ। अमेरिकामा बस्ने म पहिलो एशियाली पुस्ता थिएँ, अल्पसंख्यक समुदायबाट थिएँ, अलिक विचित्रको लाग्ने रंगरुपको थिएँ। यस्तोमा हाम्रा अभिव्यक्तिहरुले प्रश्रय नपाइरहेको अवस्था भोगिरहेको औंल्याउँदै अमेरिकाको शैलीलाई मैले पुनर्व्याख्या गर्न खोजिरहेको सुनाएँ, जसमा हाम्रो पनि प्रतिनिधित्व हुन सकोस्।

फेसनको दुनियाँले समयसँगै आफूलाई प्रगतिको पथमा लम्काउने काम नगरेको होइन। तर, अझै पनि हामीले लामो यात्रा गर्न बाँकी नै छ।आज पनि ‘समावेशी हुनुपर्छ’ भन्ने दबाबकै कारण कालो वर्ण, ल्याटिन अमेरिकी, एशियाली, आदिवासी अमेरिकीदेखि तेश्रोलिङ्गीसम्मलाई यस उद्योगले ‘टोकन’का रुपमा हेरिरहेकै छ।

मैले देखिरहेको अमेरिका बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक अन्तर्घुलनबाट बनेको बेग्लै समाज थियो जसका प्रति उसले गर्व गर्नुपर्ने मेरो धारणा थियो।

जवाफमा ती लगानीकर्ताले अनौठो प्रतिप्रश्न राखे। ‘तिमी खूद अमेरिकी जस्तो देखिँदै देखिँदैनौ भने तिमीले अमेरिकाको शैलीलाई कसरी मूल्यांकन गर्न सक्छौ?’

यो भनाइबाट उनले मलाई के महशुस गराउन खोजिरहेका छन् भन्ने बारेमा म स्पष्ट थिएँः म आफैँ गोरो छालाको नभएको अवस्थामा अमेरिकाको आदर्श शैली यस्तो हुनुपर्छ भनेर बोल्ने मेरो के हक छ?

म एक अमेरिकी नागरिक हुँ। मेरो यस मुलुकमा आफ्नै व्यवसाय छ। मैले थुप्रै अमेरिकी र अन्य आप्रवासीलाई रोजगारी दिएको छु। मैले तयार पारेका पोशाकहरु ‘मेड इन अमेरिका’ ट्याग लगाएर बेचिन्छन् र त्यसबाट आर्जित कर यो राज्यको कोषमा संचित हुन्छ।

यति भइकन पनि केहि मानिसहरुका नजरमा भने अझै पनि मसँग अमेरिकी हुनका निम्ति पर्याप्त आधार छैन।उनीहरुका नजरमा म कदापि अमेरिकी हुनै सक्दिन।

अन्त्यमा मैले त्यो दशौं वार्षिकोत्सव संकलनलाई ‘अमेरिकी पहिचान र अपनत्वको उत्सव’ भनेर नामाकरण गरिदिएँ। मैदानमा पनि फरक फरक रंग र जातका मोडलहरुलाई उतारेँ। अन्तिम चरणमा पट्टीहरुमा प्रश्न लेखिएको थियो ‘के गरेपछि अमेरिकन बनिन्छ?’

जतिबेला त्यो शोका बारेमा थुप्रै सकारात्मक प्रतिक्रिया आइरहेको थियो र त्यसले पहिचानलाई लिएर अनेकानेक स्वस्थ्य बहसहरु निम्त्याइरहेका थिए, त्यतिबेलै केहि मानिसलाई भने यो सब पचिरहेको थिएन। प्रश्रय पाएर रमाइरहेकाहरुलाई यस्तो कुरा चित्त नबुझ्नु स्वाभाविक थियो।‘यो अलिक बढ्तै पो भयो कि’ वा ‘यसरी ठाडै भन्न नहुने पो थियो कि’ भन्नका लागि त्यस्ता प्रश्रय पाएकाहरुलाइ कुनै रोकछेक थिएन।

तर, जब हामी आधारभूत मानवअधिकारका कुरा गर्छौं, तब भने यो कदापि ‘बढ्ता’ हुँदैन, कदापि ‘चर्को’ पनि हुँदैन।

हामीले हाम्रा कथा भन्नै पर्छ

समावेशी फेसन उद्योगसम्म पुग्नका लागि तय गर्नुपर्ने बाटो अझै धेरै लामो छ भन्ने स्पष्ट देखिन्छ। जबसम्म ‘ब्राण्ड’हरुको निर्णयकर्ता र बोर्डहरुमा समानुपातिक प्रतिनिधित्व हुँदैन वा भनौं केवल देखावटीका निम्ति प्रतिनिधित्व गराइने क्रम रोकिँदैन, अनि प्रतिनिधित्व गर्नेहरुले सोझै त्यसको जोखिम मोल्नसक्ने अवस्थामा आफुलाई पाउँदैनन् र मानिसका पूर्वाग्रहयुक्त भावनाहरुले असहज पारिरहन छाड्दैन तबसम्म यो परिवर्तन हुनेवाला छैन।

यति भनिसकेपछि अर्को एउटा सत्य पनि इमानदारिताका साथ राखिहालौंः एशियाली संस्कृतिलाई समेट्ने भनेर हिजोआज जुन ‘ब्राण्डहरुको प्रयास’ देखिएको छ त्यसमा कुनै सदासयता भन्दा पनि चीन, भारत र दक्षिण कोरियाजस्ता मुलुकहरुको बढेको क्रय शक्ति कारक हो। कसैको उदारताले यो अवस्था आएको भन्नु बेकार छ।

एकछिन निन्दालाई पन्छ्याएरै पनि अहिले जुन ‘ब्ल्याक लाइभ्स म्याटर’का प्रदर्शनहरुले बहस निम्त्याइरहेको छ त्यसैगरि ‘स्टप एशियन हेट’ अभियानले पनि जातीय तथा रंगभेदका मामलामा फेसनको भूमिका खोजी गर्नथालेको छ। र, त्यो यससँग जोडिएका सबैजसो स्थानमा देखापर्न थालिसकेको छ।

यस उद्योगमा संलग्न एशियाली अमेरिकीहरुले यसमा हाम्रो भूमिका कति महत्वपूर्ण छ भनेर बुझ्नै पर्छ। संयुक्त राष्ट्रसंघको आंकडा अनुसार विश्वभरकै ६० प्रतिशतभन्दा बढी जनसंख्याको बसोबास एशियामा मात्रै छ। लुगाकपडाको संसारमै सबैभन्दा ठूलो खरिददारी एशियालीहरुले नै गर्छन्। त्यसैगरि खपत हुने लुगाकपडामध्ये ठूलो हिस्साको उत्पादन पनि हामी नै गर्छौं। यति हुँदाहुँदै पनि संसारले फेसनका मामलामा कुन बाटो समात्ने भन्ने निक्र्यौल गर्ने हक हामीसँग छैन भनिरहेका छन्। हामीलाई मुश्किलले उनीहरु ‘सहयोगी’ सम्मको भूमिका दिन चाहिरहेका छन्। अनि ब्यावसाय माथिको हालीमुहाली उनीहरुकै छ।

यो भएन। अब बोल्ने र अघि बढ्ने बेला आएको छ।

अब कुनै पनि किसिमको जातीय एवं रंगलाई लिएर गरिने दुव्र्यवहार विरोधी तालिममा सरिक भएर सहयोग गर्ने र आफ्ना क्षमताहरुको विकास गर्ने बेला भएको छ। त्यसैगरी अमेरिकामा भएका सामाजिक न्यायका मामलामा अहिल्यै सक्रिय संघ संस्थाहरुलाई पनि सहयोग गर्नुपर्नेछ।

पछिल्ला केहि सातायता देखिएको संगठित विरोधका कार्यक्रमहरुले हाम्रा मनहरुमा अत्यन्तै न्यानोपन विस्तार गरेको छ। म स्वयं पनि साथीहरु, अभियन्ताहरु, समुदायका अगुवाहरु र यस्ता कार्यक्रमहरुमा जहिल्यै अग्रसर हुने न्युयोर्कका वासिन्दाहरुँग मिलेर जुलुशहरुमा सरिक भइरहेको छु। हामी सत्यको पक्षमा आफूलाई प्रस्तुत गर्दै अन्य अल्पसंख्यक तथा बञ्चितीमा पारिएका समुदायसम्म पहुँच बनाइरहेका छौं जसबाट हामीबीच सहकार्यको साझा चौतारी बन्न सकोस्।

हामी प्रत्येक ठाउँमा भेटिनु जरुरी छ र हरेक कुनाकाप्चासम्म हाम्रो पहुँच हुनु जरुरी छ। हामीले जति बढी आफ्ना कथा सुनाउनेछौं उत्तिनै बढी हाम्रा अनुहार र अनुभूतिहरु अनि हाम्रा मानवताहरुले सहृदयी जमात भेट्दै जानेछ।

हामी जुन टेबुलमा बसेका छौं त्यसमा हकलाग्ने हिसाबकै कुर्सी पनि पाउनु जरुरी छ। त्यसपछि हामीले अन्य बञ्चितीमा परेका समुदायको पक्षमा आवाज उठाउन पनि सक्षम हुनेछौं। सबैभन्दा पहिले हामी सदृश्य हुनु जरुरी छ, त्यसपछि हामीले आफ्नै आख्यान शिल्प विकास गर्नुपर्नेछ, जसका माध्यमबाट हाम्रा कथाहरु दुनियाँलाई सुनाउन सकौं।

(गुरुङको हालै सिएनएनमा प्रकाशित विचार)

चैत ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्