कोभिड प्यान्डेमिक साप्ताहिक विश्लेषण (अप्रिल ४ देखि १०)

होशियारीपूर्वक कोरोनाको सामना बुद्धिमानी

सन् २०२० को सुरुवातीसँगै विश्वमा कोरोना संक्रमण बढ्न थालेपछि प्यान्डेमिकका कैयौं लहर आइसके।

पछिल्लो अवस्थामा फेरि संक्रमण वृद्धि भई नयाँ लहर सुरु भएको छ। हाल विश्वमा दैनिक ७ लाखभन्दा धेरै नयाँ संक्रमण देखिन थालेको छ।

कोरोना प्यान्डेमिकको हालसम्मको प्रवृत्ति हेर्दा प्रत्येक लहर झन् झन् ठूलो र झन झन् लामो हुँदै गएको देखिन्छ।

पहिलो लहर गत वर्ष मार्च मध्यदेखि सुरु भई ३ सातामा अर्थात् अप्रिलको पहिलो हप्तामा उच्च बिन्दुमा पुगेको थियो।

त्यसपछि मे महिनाको मध्यसम्म अर्को ५ हप्ता यथास्थितिमा रह्यो। यसरी पहिलो लहर २ महिनासम्म चल्यो।

त्यसपछि संक्रमण विस्तारै बढ्दै गयो र दोस्रो लहर सुरु भयो। गत वर्ष जुलाई महिनाको अन्त्यतिर दोस्रो लहर उच्च बिन्दुमा पुगी अर्को दुई महिना यथास्थितिमा रह्यो।

यसरी दोस्रो लहर मेको मध्यदेखि सेप्टेम्बर अन्त्यसम्म करिब ४ महिना लम्बियो। विश्वमा कोरोना प्यान्डेमिकको तेस्रो लहर गत वर्ष अक्टोबरको सुरुवातीसँगै सुरु भई ३ महिनासम्म जारी रही हालसम्मकै सबैभन्दा उच्च बिन्दुमा यही वर्षको जनवरीको सुरुवातीमा पुग्यो। तत्पश्चात् प्यान्डेमिक ओरालो लाग्न सुरु भई डेढ महिनामा अर्थात् यही वर्ष फेब्रुअरीको मध्यसम्म आइपुग्दा उच्च बिन्दुको आधाभन्दा कम संख्यामा आइपुग्यो। यसरी तेस्रो लहर साढे चार महिना लम्बियो।

पछिल्लो समय फेरि नयाँ अर्थात् चौथो लहर सुरु भएको छ, जुन २ महिनादेखि उकालो लागिरहेको छ। यदि, प्यान्डेमिकको पहिलाको प्रवृत्तिलाई नयाँ लहरले पछ्याउने हो भने वर्तमान लहर पहिलाको भन्दा ठूलो र लामो हुने निश्चित छ।

यदि, त्यसो भएको खण्डमा अर्को १–२ महिनामा वर्तमान लहर उच्च बिन्दुमा पुगी अर्को ३–४ महिनामा फेरि ओरालो लागी न्यून अवस्थामा पुग्छ। अर्थात् वर्तमान लहर ६–८ महिना लामो हुनेछ। यसै वर्षको अगस्ट–सेप्टेम्बरतिर यस लहरको अन्त्य हुनेछ।

यसरी प्यान्डेमिकलाई पछाडि फर्केर हेर्दा दुई लहर बीचको समयमा न्यूनतम दैनिक संक्रमण संख्या अर्थात् आधार रेखा प्रत्येक पटक बढ्दै गएको देखिन्छ। उदाहरणका लागि विश्वमा पहिलो र दोस्रो लहरबीच दैनिक संक्रमण करिब ७५ हजारदेखि एक लाखसम्म थियो भने दोस्रो र तेस्रो लहर २० हजारदेखि ३० हजारबीच थियो। त्यस्तै, तेस्रो र चौथो लहरबीच दैनिक संक्रमणको आधार रेखा २ लाख ५० हजारदेखि ४ लाखसम्म रह्यो। यसरी दैनिक संक्रमणको आधार रेखा बढ्दै गएको हुनाले भविष्यमा यो झन् बढ्दै जाने देखिन्छ।

तर, समय परिवर्तनशील र गतिशील छ। समयसँगै विज्ञान र प्रविधिले ठूलो फड्को मार्दै गएको छ। कोरोनाकाल सुरु भएसँगै स्वास्थ्य तथा चिकित्सकीय प्रविधिले छोटो समयमा ठूलो प्रगति गरेको छ। तसर्थ उल्लिखित तथ्यांक र अनुमानबाट तर्सिनुपर्ने अवस्था छैन।

यद्यपि, कोरोना प्यान्डेमिकको यथार्थलाई पनि भुल्ने या बेवास्ता गर्ने अवस्था पनि छैन।

यसै क्रममा यस अंकमा पनि विगतमा जस्तै विश्व र दक्षिण एसियामा प्यान्डेमिकको स्थिति पछिल्लो अवस्थामा (गत साता) के–कस्तो रह्यो विश्लेषण गरिएको छ।

पछिल्लो समय, डब्लुएचओका अनुसार गत हप्ताको एप्रिल ७, बुधबारसम्म विश्वमा जम्मा १३२०८०४८४ लाई यो संक्रमण लागिसकेको छ भने २८६६८९४ मानिसले यसैका कारण ज्यान गुमाएका छन्।

गत हप्ताभन्दा अगाडिको हप्ता अर्थात् मार्च ३१, बुधबारसम्म यी संख्या क्रमशः १२७८७७४६२ र २७९६५६१ थिए।

त्यस अर्थमा गत हप्ता जम्मा ४२०३०२२ नयाँ संक्रमित र जम्मा ७०३३३ नयाँ मृत्यु थपिए।

दुई साता अगाडिको साप्ताहिक संक्रमण वृद्धि ३९७५२२० र साप्ताहिक मृत्यु वृद्धि ६८७२४ थिए।

माथिका तथ्यांकले के देखाउँछ भने पछिल्लो समय विश्वको संक्रमण र मृत्यु वृद्धि दर क्रमशः बढिरहेको छ। चित्र १ ले पनि सो कुराको पुष्टि गर्छ।

चित्रमा दक्षिण एसियाली तथा केही अन्य देशको एक महिनाभन्दा लामो समयको (मार्च १ देखि अप्रिल ८ सम्मको)दैनिक संक्रमण दर (पोजिटिभिटी दर) देखाइएको छ।

चित्रमा जोन्स हप्किन्स विश्वविद्यालय र आवर वल्र्ड इन डाटाबाट लिइएको तथ्यांकअनुसार नेपाललगायत अधिकांश देशको संक्रमण दर एक महिनामा निकै बढ्दै गएको देखिन्छ।

चित्र २ मा दक्षिण एसियाका सबै देशका पछिल्लो समय, मार्च २१ देखि अप्रिल ८ सम्मको कोरोना संक्रमणको (दैनिक नयाँ संक्रमण संख्या) प्रवृत्ति देखाइएको छ।

दक्षिण एसियामा दुई महिनादेखि कोरोना संक्रमण केही बढ्न खोजिरहेकोमा पछिल्लो समय यो अझै बढेको देखिन्छ।

चित्रमा देखाइएजस्तै पछिल्लो समयको दैनिक संक्रमणको प्रवृत्ति हेर्ने हो भने भारतको अवस्था निकै चिन्ताजनक छ।

फेब्रुअरीको सुरुवातीमा त्यहाँ दैनिक ११ हजारजति मात्र नयाँ संक्रमण देखिने गरेकामा पछिल्लो समय, वल्र्डमिटरर डब्लुएचओका अनुसार दैनिक झन्डै १ लाख ३० हजारभन्दा धेरै नयाँ संक्रमित देखिन थालेको छ।

त्यस्तै, पाकिस्तान र बंगलादेशको प्रवृत्ति पनि उस्तै देखिन्छ।

फेब्रुअरीको सुरुवातीमा ती देशमा क्रमशः दैनिक करिब १५ सय र ४ सय नयाँ संक्रमित देखिन्थे भने पछिल्लो समय ती देशमा क्रमशः दैनिक ५ हजार ३ सय र ७ हजार ४ सय जति नयाँ संक्रमित देखिन थालेको छ।

नेपाललगायत अन्य मुलुकमा भारत, पाकिस्तान र बंगलादेशको तुलनामा दैनिक संक्रमण संख्या निकै कम देखिन्छ जसले गर्दा चित्रमा राम्ररी देखिँदैन। तर, ती देशमा पनि पछिल्लो समय दैनिक कोरोना संक्रमण बढ्दै गएको देखिन्छ।

त्यस्तै, दक्षिण एसियाको कुल संक्रमितको संख्या पनि दैनिक वृद्धि हुँदै गएको छ।

चित्रमा देखाइएजस्तै दक्षिण एसियाको दैनिक कोरोना संक्रमण प्रवृत्ति भारतसँग समानान्तर देखिन्छ।

चित्र ३ मा दक्षिण एसियाका सबै देशका पछिल्लो समय, मार्च २१ देखि अप्रिल ८ सम्म कोरोना मृत्युको (दैनिक नयाँ मृत्यु संख्या) प्रवृत्ति देखाइएको छ।

दक्षिण एसियामा डेढ महिनादेखि कोरोनाबाट मृत्यु हुनेको संख्या केही बढेको देखिन्छ भने पछिल्लो समय यो अझै तीव्र गतिमा बढेको छ।

पछिल्लो समय दैनिक मृत्युको प्रवृत्ति हेर्ने हो भने चित्रमा देखाइएजस्तै भारतको दैनिक मृत्यु दैनिक संक्रमणसँगै समानान्तर रूपले निकै तीव्र रूपमा बढ्ने क्रममा देखिन्छ। वल्र्डमिटर र डब्लुएचओका अनुसार फेब्रुअरीको सुरुवातमा भारतमा दैनिक सयजति नयाँ मृत्यु देखिने गरेकामा पछिल्लो समय दैनिक ८ सयजति देखिन थालेको छ।

पाकिस्तान र बंगलादेशमा पनि दैनिक मृत्युको प्रवृत्ति त्यही प्रकृतिका देखिएका छन्।

सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टरद्वारा जारी गरिएको विवरणअनुसार दक्षिण एसियामा अप्रिल ८ बिहीबारसम्म १४७३९८३१ जना कोरोना संक्रमित भइसकेका छन् भने १९७४४६ जनाले यसैका कारण ज्यान गुमाएका छन्।

त्योभन्दा अगाडिको हप्ता अर्थात् अप्रिल १ बिहीबारसम्म यो संख्या क्रमशः १३९७०८७६ र १९२७३८ थियो।

त्यस अर्थमा दुई हप्ता अगाडिको तुलनामा गत हप्ता ७६८९५५ जना नयाँ कोरोना संक्रमित र ४७०८ जना नयाँ मृत्यु थपिए।

गत हप्ताभन्दा अगाडिको साता साप्ताहिक संक्रमण र मृत्यु वृद्धि क्रमशः ५२१४०२ र ३२४२ थिए।

यसरी विश्वमा जस्तै दक्षिण एसियामा पनि फेरि एक पटक कोरोना प्यान्डेमिकले आतंक मच्चाउन थालेको पुष्टि भएको छ।

यसै सेरोफेरोमा नेपालमा कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा गत हप्ता, सन् २०२१ अप्रिल ४ देखि १० (०७७ साल चैत २२ देखि २८ सम्म) जम्मा ७ दिनको विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकका आधारमा तल देखाइएबमोजिम प्रस्तुत गरिएको छ।

यस लेखमा उद्धृत गरिएका तथ्यांक विभिन्न स्रोतबाट लिइएका हुन्। जस्तैः नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जोन होप्किन्स विश्वविद्यालय, डब्लुएचओ, वल्र्डमिटर, आवर वल्र्ड इन डाटा, सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर आदि।

यस लेखको उद्देश्य कोरोनासम्बन्धी तथ्यांकलाई सही रूपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको यथार्थ चित्र पाठक वर्गसमक्ष पुर्‍याउनु हो।

गत साता पनि प्यान्डेमिकका तथ्यांक विश्वभरि र नेपालमा पनि उतारचढाव हुने क्रम जारी रह्यो।

निम्न केही तथ्यांकका आधारमा गत साता नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरिहेरौं।

दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितको संख्या हो।

गत साता सन् २०२१ अप्रिल ४ देखि १० (०७७ साल चैत २२ देखि २८ सम्म) जम्मा ७ दिनको नेपाल भरिको दैनिक परीक्षण र नयाँ संक्रमितको संख्या चित्र ४ मा प्रस्तुत गरिएको छ।

चित्रमा देखाइए जस्तै जम्मा परीक्षणको संख्यासँगै पोजिटिभिटी दर (संक्रमण दर) पनि बढिरहेको छ। त्यति मात्र होइन, गत हप्ता संक्रमण दर बढेसँगै उल्टो परीक्षण केही घटाइएको छ अर्थात् परीक्षण घटे पनि संक्रमण दर बढ्दै छ। यस्तो अवस्थामा धेरैभन्दा धेरै परीक्षण गरी लुकेर बसेका संक्रमित पत्ता लगाई क्वारेन्टाइनमा राख्नुपर्छ।

नेपलामा दैनिक परीक्षण निकै कम मात्रामा गरिँदै आएको हुनाले प्यान्डेमिकको वास्तविक अवस्था यकिनसाथ भन्न नसकिए पनि नेपालमा संक्रमितको संख्या बढ्दै गएको तथ्य स्पष्ट छ। चित्रमा धेरै परीक्षण गरिएको दिन नयाँ संक्रमण पनि धेरै देखिने प्रवृत्ति देखिएको हुनाले प्रशस्त परीक्षण गरिए वास्तविक संक्रमण पनि अहिलेको भन्दा धेरै हुने निश्चित छ।

यस्तो अवस्थामा प्रशस्त परीक्षण गरी प्यान्डेमिकको सही मापन र व्यवस्थापन गरी एकातिर जनस्वास्थ्यको सुरक्षा गर्नु जरुरी छ भने अर्कोतिर सामाजिक जनजीवन तथा आर्थिक गतिविधिलाई पनि निरन्तरता दिनु अत्यावश्यक छ।

नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ता सात दिन, चैत २८ गते शनिबारसम्म देशभरि जम्मा १९५७ जना नयाँ संक्रमित थपिई संक्रमितको संख्या २७९७२५ पुगेको छ। गत हप्ताभन्दा अगाडिको हप्ता अर्थात् चैत २१ सम्म जम्मा संक्रमितको संख्या २७७७६८ थियो।

यसरी चैतको साप्ताहिक जम्मा संक्रमण हेर्ने हो भने सुरुदेखि पछिल्लो समयसम्म क्रमशः ६५१, ९२१, १०१८ बाट १९५७ पुगेको छ।

त्यस्तै, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या गत हप्ता जम्मा ७ रह्यो भने त्योभन्दा अगाडिका हप्तामा ५, ११ र २ थिए।

संक्रमण संख्या निकै बढे पनि मृत्युमा खासै वृद्धि नदेखिनु राम्रो पक्ष हो।

चित्र ५ ले नेपालको देशभरिको जम्मा दैनिक संक्रमण र काठमाडौं उपत्यकाको जम्मा दैनिक संक्रमणको तुलनात्मक विश्लेषण देखाएको छ। चित्रमा देखाइएजस्तै गत साता काठमाडौं उपत्यकाको दैनिक संक्रमण समग्र नेपालको ५१ प्रतिशतजति देखिन्छ अर्थात् आधाभन्दा धेरै देखिन्छ।

दुई हप्ता अगाडि काठमाडौंको कोरोना संक्रमण समग्र नेपालको करिब ५२ प्रतिशत थियो। केही सातादेखि काठमाडौंबाहेक अन्य जिल्लामा पनि प्रशस्त कोरोनाका नयाँ संक्रमण देखिन थालेको छ। पछिल्लो समय अधिक कोरोना संक्रमण देखिएका जिल्लामा चितवन, बाँके, रूपन्देही, पर्सा, मोरङ आदि पर्छन्।

दैनिक संक्रमण (पोजिटिभिटी) दर प्यानडेमिकको मापदण्डमध्ये पोजिटिभिटी दर (संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएकामध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँछ।

पोजिटिभिटी दरबारे गतांकमा विस्तृत जानकारी गराइसकिएको छ। त्यसका लागि कृपया यस शृंखलाका गतांकहरू पनि हेर्नुहोला।

चित्र ६ ले नेपालको गत हप्ताको दैनिक संक्रमण दर देखाएको छ। गत साता नेपालको प्यान्डेमिक उकालो लाग्ने क्रम जारी रहेको देखिन्छ। गत हप्ता पोजिटिभिटी दर न्यूनतम ५.०९ प्रतिशतदेखि अधिकतम ९.५४ प्रतिशतसम्म रही साताभरिको औसत पोजिटिभिटी दर ७.०४ प्रतिशत रह्यो।

दुई हप्ता अगाडिको पोजिटिभिटी दर ३.६१ प्रतिशत र ५.३२ प्रतिशतबीच रही त्यो साताको औसत पोजिटिभिटी दर ४.५ प्रतिशत रहेको थियो।

त्योभन्दा अगाडिका साताको औसत पोजिटिभिटी दर ३.५५ प्रतिशत र ३.१६ प्रतिशत थिए। यसरी पोजिटिभिटी अर्थात् संक्रमण दर पनि हरेक हप्ता ३.१६ प्रतिशत, ३.५५ प्रतिशत, ४.५ प्रतिशत हुँदै पछिल्लो समय गत हप्ता ७.०४ प्रतिशत पुगी नेपालमा कोरोना संक्रमण क्रमशः बढ्दै गएको लक्षण देखाउँछ।

स्मरण रहोस् डब्लुएचओका अनुसार पोजिटिभिटी ५ प्रतिशतभन्दा धेरै हुनु प्यान्डेमिक अनियन्त्रित भएको लक्षण हो।

गत साता देशभरि जम्मा २७९४४ परीक्षण गरियो भने त्योभन्दा अगाडिको हप्ता २२७८७ र त्योभन्दा अगाडिका सातामा २५७०० र २०५४९ परीक्षण गरिएका थिए।

यसरी नेपालमा हरेक दिन फरक–फरक संख्यामा कोरोना परीक्षण गरिँदै आइएको छ र साप्ताहिक रूपमा जम्मा परीक्षण गत हप्ता त्योभन्दा अगाडिको हप्ताभन्दा केही धेरै गरिएको छ। प्यान्डेमिकको बेला संक्रमण बढेसँगै परीक्षण पनि बढाउँदै लैजानुपर्ने अवस्थामा खासै त्यसो नगरिनु भविष्यका लागि जोखिमपूर्ण हुन सक्छ। नेपालमा हाल दैनिक औसतमा करिब ३९९२ मात्रै परीक्षण गरिँदै आएको छ।

संक्षेपमा माथिका तथ्यांकबाट के देखिन्छ भने पछिल्लो समय अधिकांश दक्षिण एसियाली देशमा प्यान्डेमिकको अवस्था केही अनियन्त्रित हुँदै गई दैनिक संक्रमण तथा दैनिक मृत्युमा वृद्धि भएको देखिन्छ। नेपालमा पनि दैनिक कोरोना संक्रमणको स्थिति त्यस्तै छ जुन एक महिना अघिसम्म थिएन।

विशेष गरी पछिल्लो समय भारत, बंगलादेश र पाकिस्तानमा तीव्र गतिमा नयाँ संक्रमणमा आएको वृद्धिले यस क्षेत्रमा प्यान्डेमिकको दोस्रो लहर पहिलो लहरभन्दा माथि पुगेको छ। तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ।

प्यान्डेमिकको पहिलो लहरबाट लिएको अनुभव र शिक्षालाई फेरि एक पटक व्यावहारिक रूपमा नेपाल सरकार र नेपाली जनताले लागू गर्न जरुरी छ। विशेष गरी हाल नेपाल र छिमेकी राष्ट्रमा कोरोना संक्रमण दिनानुदिन बढ्दै गएको हुनाले नेपालले कोरोना प्यान्डेमिकलाई नियन्त्रण गर्न र छिमेकबाट संक्रमण आयातित हुनबाट रोक्न सम्पूर्ण प्रयास गर्नुपर्ने देखिन्छ।

नेपाली जनताले पनि प्यान्डेमिकको पछिल्लो यथार्थ बुझी आफ्नो तर्फबाट गर्न सक्ने होसियारी तथा सतर्कता हरपल यथाशक्य पालना गर्नुपर्छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने आदि सावधानीका कुरा कडाइसाथ अपनाउनुपर्छ।

यो शृंखला तथा यो लेख नेपालमा साप्ताहिक रूपमा प्यान्डेमिक हेर्ने ऐनाको रूपमा प्रस्तुत गरिएको छ। यस लेखमा नेपालर विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रूपमा प्रस्तुत गरिएको छ। यस लेखमा प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ–आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिकविरुद्धको हाम्रो लडाइँ जारी छ, होसियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

चैत ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्