ओलीविरुद्ध नेपाल–खनाल पक्षको दस्तावेज र सर्कुलरः बाक्लिँदै एमाले एक नरहने दृश्य

काठमाडौँ- सत्तारुढ नेकपा एमाले अब एक नरहने दृश्यहरु दिन प्रतिदिन बाक्लिँदै गएका छन्। सोमबार असन्तुष्ट पक्षले आफ्नो छुट्टै राजनीतिक दस्तावेजआन्तरिक सर्कुलर जारी गरेपछि पार्टी फुटको दिशामा अघि बढेको तीब्र आँकलन सुरु भएको छ।

तर पनि वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टी विभाजन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहारमा भर पर्ने दाबी गरेका छन्।

यो पक्षका नेता झपट रावलले भने, ‘अहिले एमाले भन्ने पार्टी छैन। हामी शून्यमा छौँ। पार्टी फुटको घोषणा ओलीको आगामी व्यवहारमा भर पर्नेछ। त्यसको प्रतिक्षामा छौँ।’

नेता नेपालको हस्ताक्षरमा जारी यो पक्षको राजनीतिक दस्तावेजमा ओलीले एमालेमा सुरुवातदेखि गुटबन्दी गरेको, व्यक्तिवादी शैली अपनाएको, दक्षिणपन्थी विचार बोकेको, आफैले ‘शत्रु’ घोषणा गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’को पार्टीसँग आफूहरुलाई थाहा नदिइ चुनावी गठनबन्धदेखि पार्टी एकतासम्म गरेको र त्यसपछि पनि एकलौटी शैली अपनाएको, अल्पतमा परेपछि पहिलो पटक बामपन्थीको बहुमत भएको संसद विघटन गरेको, सर्वोच्च अदालतको नेकपा भंग गर्ने फैसलामा हर्षबढाइँ गरेको र हाल एमाले पनि विभाजनको संघारमा पुर्‍याएको लगायत दर्जर्नौँ आरोप लगाइएको छ।

ओलीकै कारण हाल असामान्य परिस्थिति उत्पन्न भएको भएपनि यसमा आफ्नो जित हुने र त्यसमा संकल्पवद्ध हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै सोमबार नै यो पक्षले आन्तरिक सर्कुलर जारी गरेको छ।

०००

एमालेको पृष्ठभूमि, उसका मान्यता र अडान स्पष्ट पार्ने कोशिस गरिएको दस्तावेजमा ओलीलाई भनिएको छ, ‘’मैले बस्न नपाए कुर्सी नै भाँचिदिन्छु’ भन्ने अभिव्यक्तिले उहाँको विचारधारा, सिद्धान्त र राजनीतिलाई बताउँछ। ती महत्वाकांक्षाकै लागि उहाँ यो पार्टी विभाजन गर्न सुनियोजित रूपमा अघि बढ्नुभएको छ।’

एमाले पनि विभाजन गर्न फागुन २८ गते आफ्नो गुटको भेलालाई ‘केन्द्रीय कमिटीको विशेष बैठक’ भनेर निर्णयहरु गरेर वक्तव्यबाजी गरेको आरोप पनि ओलीमाथि लागेको छ।

२०६४ सालको निर्वाचनमा एमालेले धक्का खाएपछि नैतिकताका आधारमा महासचिवबाट नेपालले राजीनामा दिएको दाबी गरिएको दस्तावेजमा पार्टीको नवौं महाधिवेशनमा ओली अध्यक्षमा निर्वाचित भएलगत्तै पार्टी विचारहीन बनेको प्रस्तावमा उल्लेख छ।

ओलीले पार्टी स्कूललाई निष्क्रिय बनाएर मदन भण्डारी फाउण्डेशनका नाममा देशव्यापी रूपमा पार्टीकै समानान्तर हुने गरी गुटबन्दी विस्तार गरेको आरोप लगाइएको छ।

प्रस्तावमा ओलीलाई आरोप लगाइएको छ, ‘त्यसका लागि दृष्य–अदृष्य स्रोतहरूको परिचालनसमेत गरिरहनु भयो। उहाँले आफू र आफ्नो गुटलाई मदन भण्डारी र जनताको बहुदलीय जनवादको उत्तराधिकारीका रूपमा प्रचार गराउनु भयो।’

नाकाबन्दीका बेला चीनसँग पारवहन सम्झौता गरेपछि प्राप्त जनमतलाई ओलीले आफ्नो निजी पौरख र प्रतिष्ठाको रुपमा लिँदै त्यसलाई शक्ति सञ्चयको माध्यमको रुपमा प्रयोग गरेको आरोप पनि दस्तावेजमा लगाइएको छ।

दस्तावेजमा भनिएको छ, ‘आफै प्रधानमन्त्री हुन नपाउने हो भने अरु वामपन्थी पार्टीले नेतृत्व गरेको सरकारमा नेकपा (एमाले)लाई जान नदिने अडान लिनुभयो।’

स्थानीय तहको निर्वाचनमा माओवादीले कांग्रेससँग तालमेल गर्नुमा ओली नै दोषी भएको ठहर दस्तावेजमा गरिएको छ। ‘प्रचण्ड’सँग आक्रमक देखिए पनि ओलीले आफू प्रधानमन्त्री बन्न उनीसँग गरेको गोप्य सम्झौता अचानक आफ्नो स्थायी कमिटी बैठकमा पेश गरेको आरोप पनि दस्तावेजमा लगाइएको छ। आफूहरु वामपन्थी सहकार्यको पक्षमा भएकाले ओलीको अवसरवादी उद्देश्य भएको जान्दाजान्दै पनि चुनावी गठनबन्धनको प्रस्ताव पारित गर्न बाध्य भएको नेपाल पक्षको जिकिर छ।

पार्टी एकतालाई लिएर माओवादीसँग पटक–पटक भएका छलफलबारे ओलीले आफूहरुलाई जानकारी नदिएको, पार्टी एकता घोषणा भएको अघिल्लो दिन मात्रै स्थायी कमिटी बैठकमा त्यसबारे जानकारी गराएको आरोप लगाइएको छ।

आधा–आधा कार्यकाल आलोपालो बाड्ने सहमतिबारे पनि ओलीबाट औपचारिक रुपमा स्थायी कमिटीले कहिल्यै पनि जानकारी नपाएको दस्तावेजमा उल्लेख छ। एकता गर्दा कम्युनिष्ट आन्दोलनका उपलब्धी संस्थागत हुने ठानिए पनि आन्तरिक रुपमा ओलीको व्यक्ति केन्द्रीत अवसरवादी र चरम गुटबन्दीपूर्ण कार्यशैलीले पार्टीलाई क्रमशः समस्याग्रस्त बनाउँदै लगेको दस्तावेजमा उल्लेख छ।

दक्षिणपन्थी विर्सजनवादी ओलीले अल्पमतमा परेपछि संसद विघटन गरेको आरोप पनि लगाइएको छ। त्यसलाई गलत ठहर्‍याएको सर्वोच्च अदालतले फागुन २३ मा भने नेकपा भंग गरेको र त्यसले पार्टी एकता असफल भएको ठहर गरिएको छ।

सर्वोच्चको यो निर्णयले गठबन्धनसमेत कमजोर हुँदै गएको र समाजवादको भविष्यसमेत कमजोर भएको दस्तावेजमा उल्लेख छ। ओलीका व्यवहार र विचारले दक्षिणपन्थी शक्तिहरु उत्साहित भएको नेपाल–खनाल पक्षको आरोप छ।

दस्तावेजमा भनिएको छ, ‘उहाँले आफ्नो सत्ता जोगाउन जस्तासुकै अवाञ्छित र स्वदेशी तथा विदेशी प्रतिक्रियावादी शक्तिसँग साँठगाँठ गर्न सक्ने हुँदा आगामी दिनमा लोकतन्त्र र वामपन्थमाथि सङ्कट थपिन सक्छ। यसको रक्षा गर्ने चुनौती पनि हाम्रो काँधमा आइपरेको छ।’

१८ पृष्ठ लामो दस्तावेजमा ओलीलाई थप भनिएको छ, ‘मैले बस्न नपाए कुर्सी नै भाँचिदिन्छु’ भन्ने अभिव्यक्तिले उहाँको विचारधारा, सिद्धान्त र राजनीतिलाई बताउँछ। ती महत्वाकांक्षाकै लागि उहाँ यो पार्टी विभाजन गर्न सुनियोजित रूपमा अघि बढ्नुभएको छ।’

तर अध्यक्ष ओली नेपाल–खनाल पक्षले लगाएका यस्ता आरोपबाट विचलित नभएको सन्देश सार्वजनिक मञ्चबाट दिइरहेका छन्। सोमबार मात्रै उनले राजधानीमा आयोजित एक कार्यक्रममा नेपालले थप सांसद बनाउन नसक्ने र आफू पनि सांसद बन्ने हैसियतमा नरहेको आरोप लगाए।

उनले भने, ‘आत्मालोचना गरेर फर्कुनुस्, आफ्नै पार्टी त हो। आउनुस्, तपाईंहरुलाई आफ्नै पार्टीको व्यवहार गरिन्छ।’

नेपाल पक्षले यति अघि बढिसकेको छ कि अब ऊ ओलीका अघि आत्मालोचना गर्ने पक्षमा छैन। उसले जारी गरेको सर्कुलरमा आफू नेतृत्वको प्रदेश तथा जिल्ला कमिटी विस्तार र पुनर्गठन गरेको आधिकारिक जानकारीसमेत गराइसकेको छ। साथै जनसंगठनका राष्ट्रिय भेला र कमिटी पुनर्गठनबारे पनि जानकारी गराइएको छ।

चैत्र ४ र ५ गतेको आफ्नो राष्ट्रिय कार्यकर्ता भेलाको निष्कर्ष बमोजिम दुई महिने पार्टी वैचारिक तथा संगठनात्मक सुदृढिकरण अभियान सञ्चालन गर्ने योजना पारित गरिएको बताइएको छ।

अभियान अन्तर्गत पार्टी र जनसंगठनका सबै तहका बैठक तथा भेला गरिने र कमिटी विस्तार तथा पुनर्गठन गरिने भनिएको छ। प्रशिक्षण अभियान सञ्चालन उसको सूचीमा छ।

विशेष कार्यक्रमको रूपमा आगामी वैशाख ९ गते पार्टी स्थापना दिवसको सन्दर्भमा केन्द्रीय कमिटीको आयोजनामा काठमाडौँ उपत्यकामा ओलीले गरेको पार्टी विखण्डन र विर्सजनकारी कार्यका विरुद्धमा विशेष कार्यक्रम गरिने सर्कुलरमा उल्लेख छ।

चैत ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्