सतीप्रथाको वास्तविक स्वरूप

विषयप्रवेश
वैदिक सनातन वर्णाश्रम धर्मलाई आजभोलि हिन्दुधर्म पनि भन्दछन् । व्यवस्थित कर्मकाण्डपद्धति र गहन दार्शनिक चिन्तनको समन्वय भएको तथा मानव जीवनपद्धतिलाई पूर्ण रूपले निर्देशित गर्ने महान् धर्म विश्वमा वैदिक धर्म अर्थात् हिन्दुधर्म मात्र छ भन्दा अत्युक्ति हुँदैन । हिन्दुधर्मभित्रै विश्वनीति, राष्ट्रनीति, समाजनीति, अर्थनीति, शिक्षानीति इत्यादि सम्पूर्ण नीतिहरू अन्तर्भूत हुन्छन् । अतः कसैले हिन्दुधर्मलाई विश्वका अरू धर्म र सम्प्रदायजस्तै मान्दछ अथवा यसलाई कोरा कर्मकाण्ड मात्र वा विविध विश्वासहरूमा आधारित पद्धति मात्र ठान्दछ भने उसले सोह्रै आना गल्ती गरेको ठहर्दछ । हिन्दुधर्मका मूल स्रोतका रूपमा रहेका ४ वेद, ६ वेदाङ्ग, ६ वेदोपाङ्ग, ५६ प्रमुख स्मृति, १८ महापुराण, रामायण, महाभारत इत्यादि असङ्ख्य ग्रन्थहरूको विशाल वाङ्मय विश्वमै अद्वितीय र ज्ञानविज्ञानले भरिपूर्ण देखिन्छ । यसमा हिन्दुहरूले विश्वका अगाडि सधैँ शिर ठाडो पारेर रहन र गौरवानुभूति गर्न सक्ने आधार पाइन्छ । हिन्दुधर्ममा विभिन्न व्यक्तिका निम्ति उनीहरूको तहअनुसार विविध प्रकारले धार्मिक–आध्यात्मिक उन्नति गर्ने मार्ग देखाइएको हुनाले यहाँ बौद्धिक चेतनाका दृष्टिले तल्लो तहदेखि उच्च तहसम्मका व्यक्तिका निम्ति उपयोगी विधिविधान, जीवनपद्धति र चिन्तनपद्धति निर्देशित गरिएको पाइन्छ ।

यस लेखमा वैदिक धर्ममा बताइएको अन्वारोहण अर्थात् सती जाने कार्यको वस्तुस्थितिका विषयमा सङ्क्षेपमा शास्त्रीय विवेचना गरिँदै छ ।

वेदमा सती जाने विषयको अभाव
पति मर्दा पतिको शवलाई चितामा राखेपछि पत्नीद्वारा चितामा चढ्ने कामलाई शास्त्रीय भाषामा अन्वारोहण (अनु=पछि+आरोहण=चढ्ने काम) भन्दछन् । यसै कार्यलाई नेपाली भाषामा सती जाने वा सतीप्रथा पनि भन्ने गरिएको छ । पति मर्दा पतिव्रता पत्नीलाई शवदाह गर्ने ठाउँमा पतिका साथ सुताउने कुरा आश्वलायन–गृह्यसूत्र, कौषीतकि–गृह्यसूत्र, कौशिकसूत्र, हिरण्यकेशि–पितृमेधसूत्र इत्यादि वैदिक कल्पसूत्रका ग्रन्थहरूमा वैदिक कर्मकाण्डका मूल ग्रन्थहरूमा आएको छ । यसरी सुताउँदा अथर्ववेदको एउटा मन्त्र (१८।३।१) पढ्ने निर्देश पनि त्यहाँ पाइन्छ, जुन यसप्रकारको —

इयं नारी पतिलोकं वृणाना
नि पद्यत उप त्वा मत्र्य प्रेतम् ।
धर्मं पुराणमनुपालयन्ती
तस्यै प्रजां द्रविणं चेह धेहि ।।

अर्थात्— पतिको लोक रोज्ने यी नारी प्राचीन धर्मको अनुपालन गर्दै तिम्रा समीपमा सुत्छिन्, तिनलाई यहाँ प्रजा र धन देऊ ।

तर यस प्रसङ्गमा पत्नीलाई पतिसितै जलाउने कुराचाहिँ उपर्युक्त ग्रन्थहरूमा कतै पनि छैन । साथै वेदका मन्त्रसंहिता, ब्राह्मणग्रन्थ, श्रौतसूत्र, गृह्यसूत्र र पितृमेधसूत्रहरूमा कतै पनि सती हुने (पतिसितै चितामा जलाइने) कुराको निर्देश तथा त्यस कार्यमा प्रयोग गरिने मन्त्र दिइएका छैनन् । पतिसित सुतेकी ब्राह्मण, क्षत्रिय र वैश्य मृतककी पत्नीलाई वेदमन्त्र ऋग्वेद (१०।१८।८), अथर्ववेद (१८।३।२) पढेर देवरले वा शिष्यले (चेलाले) वा बूढो दासले उठाउने कुरा ती ग्रन्थहरूमा उल्लिखित छन्। माध्यन्दिनीय–वाजसनेयि–शुक्लयजुर्वेद–शाखाका शतपथब्राह्मणमा (१२।५।२।१–१५) र कात्यायन–श्रौतसूत्रमा (२५।७।१–३९) भने यस प्रसङ्गमा उपर्युक्त प्रकारले मृतकसित उसकी पत्नीलाई सुताउने र पछि देवर आदिले उठाउने कुरा पनि छैन । मृतककी पत्नीले वर्षदिनसम्म र जीवनभर पालन गर्नुपर्ने नियमहरूको चाहिँ पितृमेधसूत्रहरूमा उल्लेख पाइन्छ । यसबाट वैदिक धर्मअनुसार विधवा स्त्रीले अनिवार्य रूपले नै सती जानुपर्थ्यो भनी ठान्ने कतिपय लेखक, साहित्यकार, पत्रकार, इत्यादिको धारणा र लेखाइ अज्ञानपूर्ण वा पूर्वाग्रहपूर्ण रहेको कुरा स्पष्ट हुन्छ ।

नेपालका इतिहासमा पनि सती गएका र नगएका दुवैथरी घटना देखिन्छन् । लिच्छविकालमा मानदेवकी आमा राज्यवती आफ्ना पति धर्मदेवको मृत्युपछि सती जान खोजेकामा छोरा मानदेवको आग्रहपछि सती नगएको तथ्य भेटिन्छ । यस घटनाको उल्लेख चाँगुनारायणको वि.सं. ५२० को अभिलेखमा पाइन्छ

स्मृतिमा सती जाने वैकल्पिक विधान
स्मृति, पुराण र इतिहासमा यस विषयमा विभिन्न प्रकारका व्यवस्था पाइन्छन् । विष्णुस्मृतिमा (२५।१४) सती जाने कुरा वैकल्पिक रूपमा मात्र गरिएको छ— मृते भर्तरि ब्रह्मचर्यं तदन्वारोहणं वा । अन्य धर्मसूत्रहरूमा र मनुस्मृतिमा यो विषय छँदैछैन । पराशरस्मृतिमा (४।३२–३३) चाहिँ सती जाने कुराको प्रशंसा गरिएको छ । स्मृति–पुराणहरूमा अन्यत्र पनि सती जाने कुराको प्रशंसा गरिएका वचनहरू धेरै पाइन्छन् । तथापि आफ्नो परम्परागत वेदशाखासूत्रको व्यवस्था प्रबल हुने हुनाले त्यसैअनुसार यथासम्भव आचरण गर्नु मुख्य धर्म हो भन्ने कुरा पनि बुझ्नुपर्छ ।
पूर्णतया समान चित्तवृत्ति भएका पतिपत्नीको विभिन्न कालमा मृत्यु हुने व्यवस्था गर्ने विधाताको निष्ठुरतालाई संशोधन गर्न ऋषि–मुनिहरूद्वारा नारीप्रतिको उपकारभावनाले नै पतिका साथ जलेर मर्न पाउने व्यवस्था पनि स्मृतिशास्त्रमा गरिएको हो भन्ने कुरा देवीभागवतमा (६।३०।११–१२) बताइएको छ—

विधिना निष्ठुरेणाऽत्र विपरीतं कृतं भुवि ।
दम्पत्योर्मरणं भिन्नं सर्वथा समचित्तयोः ।।
उपकारस्तु नारीणां मुनिभिर्विहितः किल ।
यदुक्तं धर्मशास्त्रेषु ज्वलनं पतिना सह ।।

यसबाट पनि सती जाने वा नजाने कुरा नारीका इच्छामा निर्भर रहने कुरा बुझिन्छ । तसर्थ नारीलाई सती जान जबर्जस्ती बाध्य बनाएर वैदिक धर्मशास्त्रले साह्रै अमानवीय र अन्यायपूर्ण कार्य गरेको छ भनी वैदिक धर्मका विरोधीहरूले गरेको प्रचार निराधार भएको कुरा स्पष्ट हुन्छ ।

सती जान निषेध गरिने अवस्था
कलिला बालबच्चा भएकी, गर्भिणी, रजस्वला हुनै नथालेकी किशोरी, रजस्वला, चरित्रभ्रष्ट, विशेष प्रकारको रोग लागेकी र अपतिव्रता स्त्रीलाई त पतिका चितामा चढेर जल्ने अनुमति शास्त्रले दिएको पनि छैन ब्रह्मवैवर्तपुराण, गणपतिखण्ड (२८।११–१२ )।

सती गएका र नगएका घटना
प्राचीन ग्रन्थमा सती गएका र नगएका दुवैथरी उदाहरण पाइन्छन् । रामायणमा राजा दशरथका कुनै पनि पत्नी दशरथसित सती गएको उल्लेख पाइँदैन । महाभारतमा पाण्डुका चितामा कान्छी पत्नी माद्री चढेको र जेठी पत्नी कुन्तीचाहिँ सती नगएर छोराहरूको हेरचाह गर्न बसेको उल्लेख पाइन्छ । श्रीकृष्णका पत्नीहरूमध्ये रुक्मिणी, गान्धारी, शैब्या, हैमवती र जाम्बवती सती गएका थिए भने सत्यभामा र अन्य कृष्णका केही प्रिय पत्नीहरूचाहिँ तपस्या गर्न वन पसेका थिए भन्ने कुरा पनि महाभारतका मौसलपर्वमा (७।७३–७४) उल्लिखित छ—

रुक्मिणी त्वथ गान्धारी शैब्या हैमवतीत्यपि ।
देवी जाम्बवती चैव विविशुर्जातवेदसम् ।।
सत्यभामा तथैवाऽन्या देव्यः कृष्णस्य सम्मताः ।
वनं प्रविविशू राजँस् तापस्ये कृतनिश्चयाः ।।

यसबाट पनि सती जाने काम नारीका इच्छामा निर्भर रहने कुरा बुझिन्छ । कसैले कसैलाई जबर्जस्ती सती जान बाध्य पार्ने कुरा आउँदैन । विशेष गरेर राजकुलमा र क्षत्रियहरूमा सती जाने प्रचलन रहेको कुरा नेपाल र भारतको इतिहास हेर्दा बुझिन आउँछ । ब्राह्मणकुलमा पनि कतैकतै सती गएका घटना सुनिन्छन् । अन्य जातिमा भने सती जाने व्यवहार भएको खासै सुनिँदैन । एघारौँ शताब्दीमा भारतमा आएका मुसलमान विज्ञ अल्बेरूनीले पनि— भारतमा विधवा पुनर्विवाह गर्दैनन्, या त अग्निमा डढेर मर्दछन् या आमरण वैधव्यजीवन व्यतीत गर्दछन् भन्ने कुरा गरेका छन् (भारतवर्ष का नवीन इतिहास, ईश्वरीप्रसाद, प्रयाग, सन् १९५५, पृ.११६–११७) ।

नेपालका इतिहासमा पनि सती गएका र नगएका दुवैथरी घटना देखिन्छन् । लिच्छविकालमा मानदेवकी आमा राज्यवती आफ्ना पति धर्मदेवको मृत्युपछि सती जान खोजेकामा छोरा मानदेवको आग्रहपछि सती नगएको तथ्य भेटिन्छ । यस घटनाको उल्लेख चाँगुनारायणको वि.सं. ५२० को अभिलेखमा पाइन्छ (श्लोक ८–११) ।

वि.सं. १८३१ मा पृथ्वीनारायण शाहसित महारानी नरेन्द्रलक्ष्मी, दुइ उपरानी र छ जना केटी–सुसारे गरी जम्मा नौ जना सती गएका थिए (श्री ५बडामहाराधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, भाग ३, बाबुराम आचार्य, २०२५, पृ. ६३३, ६३५–६३७) ।

वि.सं. १९३३ मा जङ्गबहादुर राणाका ५ वटी रानीहरूमध्ये ३ वटी जङ्गबहादुरसँग सती गएका थिए भने २ वटीचाहिँ सती गएका थिएनन्। यसको वर्णन गर्दै पुरुषोत्तम शमशेर ज.ब. राणा लेख्छन्— तहाँ पाँचै जना महारानीहरू सती जान तैयार थिए तर श्री ३ मैयाँ महारानीले राम्री महारानीले गर्भधारण गरेकाले र मीना महारानी “दाखचोके महारानी”को पनि छोरा डम्बरजङ्ग भएबाट यी दुवै जनालाई सती जानबाट रोकी सकेकी रहिछन्, तर आफू “मैयाँमहारानी” श्री ३ बडामहारानी हिरण्यगर्भदेवी, “पुतली महारानी”, मिश्री महारानी यी तीन जना महारानीहरू सती जान गर्नुपर्ने क्रियाकर्म गरिसकेका रहेछन्, तापनि उपस्थित धीरशमशेर, जितजङ्ग, पद्मजङ्ग, अम्बरजङ्ग र बखतजङ्गहरूले सती जानबाट रोक्न अनेक प्रयास गरे तर सकेनन् । आखिर स्व. श्री ३ महाराज जङ्गबहादुरको शवको शिर आफ्नो काखमा राखी श्री ३ बडामहारानी हिरण्यगर्भदेवी “मैयाँ महारानी” चितामा बसिन् । स्व. श्री ३ जङ्गको शिरपोस “टोपी” र खराउ काखमा लिई पुतली महारानी अर्को चितामा बसिन् । स्व. श्री ३ जङ्गको भोटो र सुरुवाल काखमा लिई मिश्री महारानी आर्कै चितामा बसिन् । यी सबैलाई जनरल पद्मजङ्ग कुँवर राणाले वि.सं. १९३३ फागुन १६ गते तदनुसार फेब्रुअरी २८ ता. १८७७ ई.का साँझ दागबत्ती दिए (श्री३हरूको तथ्य वृत्तान्त, वि.सं.२०४७, पृ. १८०) ।

निष्कर्ष
यसप्रकार सती जाने कुरा ऐच्छिक भएको र वैधव्य सहेर बाँच्नुभन्दा बरु मर्न जाति भनेर मान्ने स्त्रीलाई सती जान अनुमति दिइएको देखिन्छ । आफ्ना प्रियजनको वियोग सहन नसक्नेहरूको आकस्मिक मृत्यु भएको अथवा उनीहरूले विषपानादिद्वारा आत्महत्याको बाटो रोजेको खबर आजभोलि पनि सुनिरहिएको छ ।

असाध्य रोगले ग्रस्त भएर अत्यधिक पीडाको अनुभव गर्दै बाँच्नुभन्दा बरु मर्नु निको भनेर मर्न चाहने अवस्थामा पुगेकालाई स्वेच्छाले मृत्युवरण गर्न दिनुपर्छ भन्ने बहस विश्वभरि चलिरहेको र कतिपय देशमा यस्तो कानुन बनिसकेको पनि छ । महाराज रघुका छोरा तथा दशरथका पिता अजले रोगग्रस्त हुँदा शारीरिक पीडाबाट मुक्ति पाउन गङ्गा र सरयूको सङ्गममा अनशन गरेर देहत्याग गरेको वर्णन रघुवंशमहाकाव्यमा (८।९४–९५) महाकवि कालिदासले गरेका छन् । वनवास गएका रामचन्द्रलाई सुतीक्ष्ण मुनिको आश्रम बताइदिएर शरभङ्ग मुनिले उनकै अगाडि आफ्नो शरीर अग्निमा हवन गरेका थिए भन्ने वर्णन भट्टिकाव्यमा (४।५) गरिएको छ । यसबाट विविध कारणले वैराग्य आएका खण्डमा शास्त्रीय विधिले स्वेच्छाले देहत्याग गर्न सकिने व्यवस्था वैदिक धर्मसंस्कृतिमा अनुमत भएको कुरा स्पष्ट हुन्छ ।

जीवन र जगत्को तथा मृत्युको पनि तत्त्व र रहस्य बुझेका तीव्र वैराग्य भएका ज्ञानवान् स्त्री वा पुरुषलाई अग्निमा वा जलमा प्रवेश गरेर, अथवा महाप्रस्थान गरेर (नमरिञ्जेल उत्तर दिशातर्फ गइरहेर), अथवा भृगुपतनद्वारा (भीरबाट हाम फालेर) स्वेच्छाले देहत्याग गर्न वैदिक धर्मशास्त्रले अनुमति दिएजस्तै गरी सती जाने अनुमति पनि दिएको हो । मर्न चाहने व्यक्तिले अनुष्ठान गर्ने सर्वस्वारनामक यज्ञको समेत विधान भएको वैदिक धर्ममा नारीले सती जान चाहेका अवस्थामा सती जान सक्ने वा पाउने व्यवस्था हुनु कुनै नौलो अथवा अचम्मलाग्दो कुरा हैन । हिमाल चढ्नेजस्ता कार्य गरेर मरे साहसिक कार्य भन्ने तर सनातन धर्मका परम्पराले स्त्री र पुरुष दुवैलाई विभिन्न अवस्थामा दिएको मृत्युवरण गर्ने अधिकारलाई चाहिँ अमानवीय भन्नु दुराग्रह मात्र हो ।

गूढ तत्त्व बुझ्न नसक्ने जनसाधारणका दृष्टिमा उक्त प्रकारले देहत्याग गर्नु र जीवनदेखि हारेर विषपानादिद्वारा आत्महत्या गर्नु एकै प्रकारको कार्य हुन सक्ला । किन्तु यिनमा आकाश–पातालको अन्तर छ । शास्त्रको विधानअनुसार वैराग्यले देहत्याग गर्ने ज्ञानवान् व्यक्ति आफ्नो कर्मअनुसार उत्तम लोकमा जान्छ भने आत्महत्या गर्ने मूढ व्यक्ति नरकमा पर्छ भन्ने सिद्धान्त शास्त्रले देखाएको छ । यो रहस्यपूर्ण र सूक्ष्म विषय भएकाले सबैले यसमा अन्तर्निहित गूढ तत्त्व बुझ्न र छ्यान–पहिचान गर्न नसक्ने पनि हुन सक्छ । भारतमा वि.सं.१८८६मा र नेपालमा वि.सं.१९७७मा सती जान कानुनद्वारा निषेध गरिएको देखिन्छ ।

(आमोदबर्द्धन कौण्डिन्न्यायनको आलेख हरेक शुक्ल पक्ष प्रतिपदाको दिन नियमित रुपमा प्रकाशित हुन्छ।) 

चैत ३१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्