सफाइ टोलीलाई प्रधानसेनापति थापाद्वारा झण्डा हस्तान्तरण

हिमालहरुबाट ३५ हजार किलो फोहोर ल्याउन सुरु भयो सेनाको सफाइ अभियान

सफा हिमाल अभियान अन्तर्गत सगरमाथासहितका हिमालको सफाइमा खटिने सेनाको टोली। तस्बिरहरुः बर्षा शाह/देश सञ्चार।

काठमाडौँ– सगरमाथासहितका ६ हिमालबाट कम्तीमा ३५ टन अर्थात ३५ हजार किलो फोहोर संकलन गरी ल्याउने अभियानमा खटिने टोलीलाई मंगलबार झण्डा हस्तान्तरण गरिएको छ।

आर्मी अफिसर्स क्लबमा विशेष कार्यक्रम गरी प्रधानसेनापति पूर्णचन्द्र थापाले पाँच टोलीका नेतृत्वकर्ताहरुलाई अभियानको झण्डा हस्तान्तरण गरेका हुन्।

वातावरण मन्त्रालयले उपलब्ध गराएको १० करोड तथा अरु सरोकारवाला र व्यवसायिक फर्महरुले उपलब्ध गराएको रकमसहित कुल १२ करोड ५५ लाखको लागतमा फोहोर संकलन गरेर ल्याउने योजना रहेको सफा हिमाल अभियान २०२१ का नेतृत्वकर्ता सेनानी आदित्य कार्कीले जानकारी दिएका छन्।

कार्यक्रममा वन मन्त्रालयका सचिव विश्वनाथ वलीले वातावरणीय सुरक्षा र स्वच्छता आफूहरुको प्राथमिकतामा रहेको र हिमाल जोगाउने अभियानका रुपमा रहेको सफा हिमाल अभियानमा जोडिनु गर्वको कुरा रहेको बताए। आउँदो वर्ष पनि सफाइको काम जारी रहोस् भनेर आफूहरुले कार्यक्रम तथा बजेटको प्रस्ताव गरेको पनि उनले बताएका छन्।

प्रधान सेनापति थापाले नेपाली सेना जनहित त्यसमाथि पनि वातावरणीय सुरक्षा गरी हिमाल भावी पुस्ताका लागि पनि जोगाउने र जलवायु परिवर्तनसहितका प्रभावहरु न्यूनीकरणका लागि हुन लागेको हिमाल सफाइको नेतृत्व गर्न पाउँदा गर्वको महसुस भएको बताए ।

नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयको समन्वयमा हिमाल सफाइ अभियान भइरहेको हो । निर्देशनालयका तालिम अप्रेशन तथा अनुगमन अधिकृत प्रमुख सेनानी सन्तोषकुमार थापाले हिमाल भावी पुस्ताका लागि जोगाइ राख्न तथा वातावरणीय सन्तुलन कायम गरी पानीको स्रोतको संरक्षणका लागि अभियान गर्न लागिएको बताए ।

अभियानमा नेपाली सेनाका ४३ तथा सेवा प्रदायक संस्थाले उपलब्ध गराएका ६९ शेर्पाहरु प्रत्यक्ष रुपमा सहभागी हुने छन् ।

आधार शिविर भन्दा माथिबाट १८ टन तथा आधार शिविर वरपरबाट १७ टन फोहोर संकलन गरेर ल्याउने लक्ष्य रहेको अभियानले जनाएको छ ।

यो पटक सगरमाथाको आधार शिविरबाट ७ तथा आधार शिविर भन्दा माथिबाट ९ टन गरि कुल १६ टन (१६ हजार किलो), लोत्सेबाट एक हजार किलो तथा पुमरीको आधार शिवरबाट दुई हजार किलो र आधार शिवर भन्दा माथिबाट एक हजार किलो गरि तीन हजार किलो फोहोर संकलन गरेर ल्याउने योजना छ ।

यसैगरी मकालुको आधार शिविरबाट तीन हजार किलो तथा आधार शिविर भन्दा माथिबाट दुई हजार किलो गरी कुल पाँच हजार किलो, धौलागिरीको आधार शिविरबाट तीन हजार तथा आधार शिविर भन्दा माथिबाट दुई हजार गरी कुल पाँच हजार किलो र आमादब्लमको आधार शिविरबाट दुई हजार तथा आधार शिविरभन्दा माथिबाट तीन हजार गरी कुल पाँच हजार किलो फोहोर संकलन गर्ने लक्ष्य रहेको अभियानका नेतृत्वकर्ता सेनानी कार्कीले जानकारी दिए ।

यो पटक मार्गका भेटिने जति शव पनि ल्याउने लक्ष्य रहेको अभियानले जनाएको छ ।

सन् २०१९ मा भएको सफा हिमाल अभियानको क्रममा सगरमाथाबाट १० टन फोहोर र चारवटा शव ल्याइएको थियो । त्यसअघि सेनाकै टोलीले सन् २०१३ मा आरोहणको क्रममा चार टन फोहोर संकलन गरेको थियो ।

हिमालहरुमा मानवीय कारणले बर्सेनि फोहोर थपिने क्रम छ । सगरमाथामा मात्रै एक लाख ४० हजार टन फोहोर तथा ४० हजार किलो मानव मलमुत्र रहेको अनुमान छ । आरोहणका लागि खुला अरु हिमालहरुमा पनि फोहोर उस्तै रहेको अनुमान गरिन्छ ।

मंगलबार अभियानको झण्डा लिएको टोली वैशाख २ गते हिमालमा खटिने छ । वैशाख ११ गतेसम्म आधार शिविर पुगेर सफाइ अभियानको मुख्य काम गर्नका लागि तयारी पूरा गर्ने छ । त्यसपछि ३१ दिन (वैशाख १२ देखि जेठ १० गतेसम्म) हिमालहरुमा सफाइ गर्ने तयारी रहेको सेनानी कार्कीले जानकारी दिए । संकलित फोहोर जेठ १४ गतेसम्ममा काठमाडौँ ल्याइने छ ।

तस्बिरहरु: बर्षा शाह

चैत ३१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्