अमेरिकाले अफगानिस्तानबाट सैनिक फिर्ता लैजाने नयाँ समय सीमा सेप्टेम्बर ११

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफिगानिस्तानबाट आफ्ना सैनिक आउँदो सेप्टेम्बर ११ सम्ममा फिर्ता बोलाउने घोषणाको तयारी गरेको अधिकारीहरुले अमेरिकी सञ्चारमाध्यमलाई बताएका छन् ।

गएको वर्ष तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन र तालिबानबिच भएको सहमति अनुसार मेसम्ममा सबै अमेरिकी सैनिक फिर्ता गर्नु पर्ने थियो । तर सो समयसीमा पूरा नहुने देखिएको छ ।

बाइडेनले आउँदो सेप्टेम्बर ११ सम्ममा सबै अमेरिकी सैनिक फिर्ता बोलाउने योजनासहितको नयाँ समय तालिका सार्वजनिक गर्ने तयारी गरेका हुन् ।

सन् २००१ को सेप्टेम्बर ११ मा वल्र्ड ट्रेड सेन्टर र पेन्टागनमा भएको आतंकवादी आक्रमणको २० औँ वर्षगाँठ पारेर सैनिक फिर्ता बोलाउने नयाँ समय सीमा तय गरिएको अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

बाइडेनले यसअघि नै सैनिक फिर्ता बोलाउनका लागि तय गरिएको मे १ को समय सीमा पूरा गर्न कठिन रहेको बताएका थिए ।

तालिबान पुनः हिंसात्मक गतिविधिलाई स्थापित गर्न नसक्ने अवस्थामा पुगेको अमेरिका र नेटोका अधिकारीले बताएका छन् ।

फिर्ताको प्रक्रिया जारी रहेका बेला अमेरिकी सैनिकमाथि आक्रमण भएमा त्यसको गम्भीर मूल्य चुकाउनु पर्ने चेतावनी तालिबानलाई दिइएको अमेरिकी अधिकारीले बताएका छन् ।

अमेरिकाले अफगानिस्तानमा २० वर्षदेखि जारी द्वन्द्वको क्रम अन्त्य गर्ने निर्णय गरे पनि त्यसबाट अफगानिस्तानमा बढ्न सक्ने आन्तरिक हिंसाको जोखिमलाई लिएर चिन्ता पनि छ ।

बाइडेनले बुधबार सैनिक फिर्ताको नयाँ समय सीमाबारे औपचारिक रुपमा घोषणा गर्ने छन् ।

अमेरिकाले सन् २००१ यता अफगानिस्तान युद्धमा खर्बौँ डलर खर्च गरेको छ भने दुई हजार भन्दा बढि सैनिक गुमाएको छ ।

अहिले पनि अफगानिस्तानमा २५ सय अमेरिकी सैनिक छन् । उनीहरु नेटोको ९६ सय सैनिक मिसनका बलिया पक्ष हुन् ।

पेन्टागनमा सन् २००१ मा भएको आक्रमणपछि अमेरिकाले अफगानिस्तानमा सैन्य गतिविधि सुरु गरेको थियो ।

बैशाख १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्