भिडियो स्टोरी

यसरी निकालिँदै छ सगरमाथासहितका हिमालबाट ३५ टन फोहोर

सफा हिमाल अभियान अन्तर्गत सन् २०१९ मा खटिएको टोलीले १० टन फोहोर र चारवटा शव सगरमाथाबाट ल्याएको थियो । तस्बिरः सफा हिमाल अभियान

काठमाडौँ – तल्लो तहका बासिन्दाका लागि पानीको स्रोत तथा आसपासका बासिन्दाका लागि जनजीविकाको माध्यमको रुपमा रहेको उच्च पर्यावरणीय महत्वका हिमालहरु मानवीय गतिविधिका कारण समस्यामा छन्।

विश्वको सर्वोच्च शिखर सगरमाथा मात्रै नभएर आरोहण खुल्ला भएका सबै हिमालमा फोहोरको मात्रा बढ्दै गएको छ। तर छोडिएका फोहोरहरु ल्याउनका लागि पर्याप्त पहल नहुँदा हिमालहरुको पर्यावरणीय अवस्थामा गम्भीर असर परेको तथा त्यससँग जोडिएका बासिन्दाहरुको जनजीविका पनि प्रभावित हुँदै गएको विज्ञहरुले बताएका छन्।

जलवायु परिवर्तनको असरले गर्दा हिमालमा हिउँको मात्रा कम हुँदै गएको तथा फोहोर बढ्दै गएको परिवेशमा वन तथा वातावरण मन्त्रालयको सहयोग तथा नेपाली सेना अन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयको समन्वयमा सन् २०१९ देखि सफा हिमाल अभियान हुँदै आएकाे छ।

कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा अभियान हुन पाएन । तर यो वर्ष भने सगरमाथासहितका मकालु, धौलागिरी, आमादब्लम, लोत्से र पुमरी हिमालबाट कम्तीमा ३५ टन फोहोर ल्याउने लक्ष्यसहित सफा हिमाल अभियान हुँदैछ ।

विशेष तालिम प्राप्त नेपाली सेनाका ४३ जना तथा सेवा प्रदायक पिक प्रमोशनका ६९ जना शेर्पाहरु यो कार्यमा खटिँदैछन् वैशाख २ गते बिहीबारदेखि ।

सफा हिमाल अभियानमा खटिने टोलीका लिडरहरुलाई मंगलबार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले झण्डा हस्तान्तरण गरेका थिए।

यसै सन्दर्भमा हामीले सफा हिमाल अभियान २०२१ का टिम लिडर सेनानी आदित्य कार्कीसँग कुराकानी गरेर भिडियो सामग्री तयार पारेका छौँ।

बैशाख १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्