गण्डकीमा प्रदेशसभाको विशेष अधिवेशन बोलाउन समावेदन

काठमाडौँ – गण्डकी प्रदेश प्रदेशसभाको अधिवेशन बोलाउन विपक्षी सांसदहरुले प्रदेश प्रमुख समक्ष समावेदन दिएका छन्।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै कांग्रेस, माओवादी र जनमोर्चाका सांसदहरुले प्रदेश प्रमुख अमिक शेरचन समक्ष विशेष अधिवेशन आह्वानका लागि पत्र बुझाएका हुन्।

बिहीबार सुब्बा विरुद्ध सदनको विश्वास छैन भनी २८ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका छन्। त्यसअघि नै प्रदेश सरकारको सिफारिसमा प्रमुख शेरचनले बुधबार (हिजो)को मिति राखेर संसद अधिवेशन अन्त्य भएको सूचना बिहीबार बिहान सार्वजनिक गरेका थिए।

विपक्षी दलहरुले कांग्रेस सांसदलाई संविधानको धारा १८८ को ५ अनुसार कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री प्रस्ताव गरेका छन्।

अधिवेशन अन्त्य भएको अवस्थामा अविश्वसा प्रस्तावमाथि छलफल हुन नसक्ने भएकाले संविधानको धारा १८३ को ३ अनुसार अधिवेशन आह्वान गर्न पत्र बुझाएको सांसद कुमार खड्काले जानकारी दिए।

सांसदहरुले बुझाएको समावेदन पत्रमा उल्लेख गरिएको छ, ‘प्रदेशसभाको चालु अधिवेशनको हठात अन्त्य गरिएको हुँदा मिति २०७८/१/२ गते प्रदेशसभा सचिवालयमा दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि छलफल हुन नसक्ने हुँदा नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेशसभाको विशेष अधिवेशन बोलाउन हामी तपसिलका प्रदेशसभा सदस्यहरुले सादर अनुरोध गर्दछौँ।’

 

बैशाख २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्