प्रदेश २ मा बढ्न थाल्यो कोरोना संक्रमितको ग्राफ, शुक्रबार ४९ जना थपिए

जनकपुरधाम – प्रदेश २ मा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।

पछिल्लो २४ घण्टामा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेशप्रसाद यादवले जानकारी दिए।

गत २४ घण्टामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा अन्टिजेन विधिबाट एउटा नमुना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ।

३४ जनाको पीसीआर जाँच गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ। त्यस्तै, नारायणी अस्पताल वीरगञ्जमा अन्टिजेन विधिबाट ३ जनाको नमुना परीक्षण गर्दा सबै पोजेटिभ आएको छ भने ७५ वटा पीसीआर जाँच गर्दा ३८ वटा पोजेटिभ आएको छ।

शुक्रबार पर्सामा ३१, धनुषामा १०, बारामा ३, रौतहटमा २, महोत्तरीमा १ र अन्य जिल्लाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यससँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ९५ पुगेको डा. यादवले जानकारी दिए।

अहिले २ सय ८४ जना यस प्रदेशमा कोरोनाको सक्रिय संक्रमित छन्। सबैभन्दा बढी पर्सामा १ सय ६९ जना सक्रिय संक्रमित छन्।

त्यस्तै, बारामा ४४, धनुषामा ३६, महोत्तरीमा १५, सिरहामा ८, रौतहटमा ७, सप्तरीमा ३ र सर्लाहीमा २ जना सक्रिय संक्रमित छन्।
यसभन्दा पहिले प्रदेश २ को ५ वटा जिल्लामा कोरोना सक्रिय संक्रमितको संख्या शून्य पुगेको थियो।

पछिल्लो १५ दिनमा अढाई सयभन्दा बढी थपिए, ६ जना डिस्चार्ज, ४ को मृत्यु

प्रदेश २ मा कोरोना संक्रमितको ग्राफ पुनः उकालो लाग्न थालेको छ। पछिल्लो १५ दिनमा यस प्रदेशमा २ सय ५५ जना कोरोना संक्रमित थपिएका छन्।

त्यस्तै, ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ६ जना मात्र यस अवधिमा डिस्चार्ज भएका छन्। चैत २० गतेभन्दा पहिले यस प्रदेशमा ३९ जना मात्र संक्रमित थिए।

तर, त्यो दिन २ जना संक्रमित थपिएका थिए। त्यस्तै, २१ गते ८ जना, २२ गते कुनै संक्रमित थपिएका थिएनन्।
चैत २३ गते ७ जना, २४ गते ८ जना, २५ गते ७ जना थपिएका थिए भने ६ जना डिस्चार्ज भएका थिए।

चैत २६ गते १५ जना नयाँ संक्रमित थपिएका थिए। २७ गते १२ जना, २८ गते १५ जना, २९ गते २ जना, ३० गते ३१ जना थपिएका थिए र ३ जनाको एक्कै दिन मृत्यु भएको थियो।

चैत ३१ गते ५६ जना संक्रमित थपिएका थिए। त्यस्तै, वैशाख १ गते ३१ जना, २ गते १२ जना थपिएका थिए र एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो। वैशाख ३ गते पुनः ४९ जना संक्रमित थपिएका छन्।

बैशाख ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्