वीरगञ्जमा फेरि बढ्न थाले काेराेना संक्रमित

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिकामा कोरोना संक्रमितहरुको संख्यामा लागातार वृद्धि हुन थालेको छ।

केही दिनदेखि वीरगञ्जको नारायणी अस्पतालमा भइरहेको परीक्षणमा कोरोना संक्रमण पुष्टि हुने मध्ये अधिकांश वीरगञ्ज महानगरपालिकाकै रहेका छन्। बिहीबार राति गरिएको परीक्षणमा वीरगञ्ज महानगरपालिकामा मात्रै ३१ जनामा संक्रमण देखिएको थियो।

संक्रमित मध्ये एक वर्षका बालक पनि रहेका छन्। यस्तै नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा पनि वीरगञ्ज महानगरपालिकाकै स्थानीयमा बढी संक्रमण देखिएको छ। शुक्रबार अस्पतालमा ९४ जनाको परीक्षण गरिएकोमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ती मध्ये पर्साका ४५ जना, बाराका ४ र रौतहट जिल्लाका ८ जना रहेका छन्। पर्सामा भेटिएका संक्रमित मध्ये वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका मात्रै ४२ जना रहेका नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए।

अन्य तीनजना भने पर्साका बहुदरमाई नगरपालिका वडा नम्बर ७ का २० वर्षकी युवती र छिपहरमाई गाउँपालिका ४ की ५५ वर्षका पुरुष र सखुवा प्रसौनी गाउँपालिका १ की ५२ वर्षकी महिला रहेका छन्।

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १६ मा सबै भन्दा बढी १० जनामा संक्रमण देखिएको छ। यस्तै महानगरको वडा नम्बर १० मा ८ जना, १२ मा ५ जना, १४ मा २ वडा नम्बर १३ मा ६ जना तथा वडा नम्बर २७ मा २ जनामा कोरोना पुष्टि भएको नारायणी अस्पतालले जनाएकाे छ।

यस्तै नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ का ७० वर्षका पुरुष, वडा नम्बर ९ की ३६ वर्षकी महिला, जितपुर सिमरा उपमहानगरपालिका १ का एक, प्रसौनी गाउँपालिका २ का एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहटको गौर नगरपालिकाका ४ जना,कटहरिया नगरपालिकाका १ जना रहेका छन्। संक्रमितहरु १२ वर्षका बालकदेखि ७२ वर्षका वृद्धसम्म रहेका छन् ।

संक्रमण देखिएका ५७ जना मध्ये ३७ जना पुरुष र २० जना महिला रहेका छन्। वीरगञ्जमा कोरोना संक्रमण बढ्दै गए पनि यहाँ भिडभाड रोकिएको छैन।

बैशाख ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्