सर्वदलीय बैठकः एमसिसी सम्झौता अघि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विचाराधिन एमसिसी सम्झौतालाई अघि बढाउन सबै दलहरुलाई आग्रह गरेका छन्।

बालुवाटारमा शनिबार संसदमा प्रतिनिधित्व गरेका दलहरुको छलफलमा उनले संसदमा लामो समयदेखि विचाराधिन रहेको एमसिसी सम्झौतालाई पास गर्नका लागि सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका हुन्।

बैठकमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले एमसिसीलाई अघि बढाउन सहयोग गर्न आग्रह गरेको र केही दलबाहेक अन्य दलहरु त्यसमा सकारात्मक रहेको जानकारी दिए।

उनले भने, ‘एमसिसी पास गर्ने कि नगर्ने संसदलाई अधिकार छ। तर सभामुखले तजबिजी अधिकार प्रयोग गरेर जुन तजबीजी अधिकार उहाँसँग छैन, त्यसलाई लामो समयसम्म रोक्न मिल्दैन भन्ने कुरामा सबै दलहरुको साझा धारणा रह्यो। केही दलहरु एमसिसीप्रति आलोचक पनि हुनुहुन्थ्यो। उहाँहरुले एमसिसीप्रतिका केही आशंकाहरु प्रकट गर्नुभयो। तर संसदले जे गर्छ बिजनेस चाहीँ रोक्न मिल्दैन भन्ने विषयमा सबैले कुराकानी गर्नुभएको छ। यो विषयमा सभामुख र कार्यव्यस्थामा छलफल गरेर टुंगोमा पुर्‍याउनु पर्छ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि एमसिसीलाई अघि बढाउने सम्बन्धमा आफूहरु सकारात्मक रहेको भन्दै कार्यव्यवस्था परामर्श समितिमा बिजनेस लिएर प्रस्तुत हुन प्रधानमन्त्रीलाई सुझाव दिएको छ।

कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसीलाई टेबल गर्छौँ भनेर कार्यव्यवस्थामा प्रस्तुत हुन सुझाव दिएको बताए। उनले एमसीसीलाई अघि बढाउने मात्रै नभई संसदलाई बिजनेस दिने, रिक्त स्थानमा उपनिर्वाचन गर्ने, उपसभामुखको निर्वाचन गर्ने र कोभिड महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई भनेको बताए।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार, बैठकमा प्रधानमन्त्री ओलीले मुलुकका साझा समस्या समाधान गर्न आफू सधैँ तयार रहेको, वर्तमान सरकार राष्ट्रियहितको पक्षमा दृढतापूर्वक उभिएको र राष्ट्रियताको सवालमा कुनै पनि किसिमको सम्झौता नहुने बताएका थिए।

बैशाख ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्