यतिबेला राजनीति ‘क्लाइमेक्स’मा छः प्रचण्ड

फाइल तस्बिर।

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राजनीति क्लाइमेक्समा पुगेको टिप्पणी गरेका छन्।

तत्कालिन नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बीच एकता भएपछि सबैतिर खुसीयाली भएपनि प्रतिक्रियावादी र उग्रगुटवादीहरुलाई सह्य नभएको उल्लेख गर्दै उनले तिनै शक्तिको षडयन्त्रको क्वाइमेक्सको रुपमा मुलुकको राजनीति पुगेको टिप्पणी गरेका हुन्।

पार्टी निकट शिक्षक संगठनको कार्यक्रममा शनिबार उनले प्रधानमन्त्री केपी ओली निकटका उग्रगुटवादी, प्रतिक्रियावादी, प्रतिक्रान्तिकारी र दक्षिणपन्थी सोच भएकाले एकतासँगै सुरु गरेको षडयन्त्र एकीकरण भंग भएसँगै ‘क्लाइमेक्स’ पुगेको दाबी गरे।

उनले मुलुकको राजनीतिक स्थिरता देख्न नचाहने र अस्थिरता निम्त्याउन खोज्नेविरुद्धको प्रतिकारमा आफूहरु लागिरहेको भन्दै छिट्टै त्यसको संकेत गण्डकी र लुम्बिनी प्रदेशमा देखिने दाबी गरे।

उनले भने, ‘केपी गुटका प्रत्यक्ष रुपमा संलग्न केही नेताहरु बाहेक आम रुपमा खुसीयाली थियो। नेता भेटियो भन्ने थियो। तर केपी र केपी नजिकका केही उग्रगुटवादीहरुलाई सह्य भएन र त्यही विन्दुबाट पार्टीभित्र चरम गुटबन्दी र हाम्राविरुद्ध भ्रामक प्रचारवाजी र षडयन्त्र सुरु भयो। त्यसपछि प्रतिक्रियावादी , प्रतिक्रान्तिकारी र दक्षिणपन्थी सोच भएका माछेहरुले यो पार्टीलाई विभाजित गरिछाड्ने षडयन्त्र गरेको र त्यही षडयन्त्रको क्लाइमेक्सको रुपमा अहिलेको राजनीति छ।’

उनले थपे, ‘गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता भएको र बहुमतले सरकार परिर्वतनका निम्ति अर्को मुख्यमन्त्रीको नामसहित समावेदन प्रस्तुत गरेको छ र समर्थन फिर्ता पनि हामीले लिइसकेका छौँ। लुम्बिनीमा पनि सरकार परिर्वतनका निम्ति करिब–करिब बहुमतको हस्ताक्षर संकलन भइसकेको छ। अर्कोतिर केन्द्रमा अन्योल र अराजकताको स्थिति अन्त्य गर्नका लागि केन्द्रीय स्तरमा पनि हामी लगातार प्रयास गरिरहेका छौँ।’

बैशाख ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्