विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलासँग कुराकानी

‘सशस्त्र युद्धको सम्भावना सकिएको छैन’

० तपाईंहरूले भन्दै आउनुभएको वैज्ञानिक समाजवाद के हो?
– वैज्ञानिक समाजवाद भनेको यस्तो राज्यव्यवस्था हो, जहाँ खान, लाउन, शिक्षा, स्वास्थ्य, रोजगारी, शान्ति सुरक्षाजस्ता आधारभूत आवश्यकताका कुरा परिपूर्ति हुन्छन्। समाजमा शोषण, उत्पीडित हुँदैन। समाज निरन्तर परिवर्तनको बाटोमा अगाडि बढ्छ, हरेक नागरिकलाई सुखी बनाउँछ।द्वन्द्व हुँदैन । मानिसको दिमाग प्रकृतिमाथि विजय हासिल गर्न प्रयोग हुन्छ। मान्छेलाई नभई प्रकृतिलाई जित्न प्रतिस्पर्धा हुनेछ । त्यस्तो राज्य व्यवस्थामा पुग्न मान्छेमा राजनीतिक चेतना हुनुपर्छ।

राजनीतिक प्रणालीले त्यसका निम्ति बाटो खोलिदिनुपर्छ। तर, अहिलेको शासन व्यवस्थाले मान्छेको दिमागलाई बन्ध्याकरण गरेको छ। नयाँ चिन्तन, सैद्धान्तिक बहसलाई दबाइदिएको छ।

अहिले जुन राज्य व्यवस्था छ, त्यसलाई मुठीभरका धनाढ्य व्यक्तिले नियन्त्रणमा राखेका छन्, सत्तामा हुनेले अराजक तरिकाले शासन सत्ता चलाइरहेका छन् र तिनीहरू आफ्नो स्वार्थका निम्ति जनतालाई दमन गरिरहन्छन्।

यस्तो राज्य व्यवस्थालाई प्लेटोक्रेटिक एनार्को अटोक्रेसी भन्छन्। यस्तो संसद्वादी सत्ता अहिले नेपालमा विद्यमान छ।
यसलाई फाल्न वैज्ञानिक समाजवादको जगबाट जानुपर्छ। यस्तो राज्य प्रणाली रोज्न जनतलाई अधिकार दिनुपर्छ। त्यसैले जनमत संग्रह हाम्रो आग्रह हो।

० जनमत संग्रहलाई अरू पार्टीले साथ दिन्छन्?

– दिनुपर्छ । समाज परिवर्तन गर्न एउट निकास त चाहियो नि! हरेक परिवर्तन संघर्षबाट हुने गरेका छन्। जनमत संग्रह पनि एउटा अति लोकतान्त्रिक पद्धति हो। लोकतन्त्रवादी भन्नेहरू कसैले पनि इन्कार गर्नु हुँदैन।

० दिनुपर्छ भन्ने त एउटा मान्यता हो तर तपाईंको विश्लेषणमा दिन्छन् जस्तो लाग्छ ?

–  प्रधानमन्त्रीले पनि भन्नुभएको छ, उहाँका राजनीतिक सल्लाहकार राजन भट्टराईले पनि भन्नुभएको छ, जनमत संग्रहमा जान सकिन्छ । त्यसैले जनमत संग्रहमा पार्टीहरू सहमत हुँदैनन् भन्ने हामीलाई लागेको छैन।

० भएनन् भने सशस्त्र युद्धको कत्तिको सम्भावना छ?

– सशस्त्र युद्ध भन्ने कुरा राजनीतिक निकास निस्किएन भने पैदा हुने विषय हो । संसारमा जति पनि युद्ध भएका छन्, त्यो राजनीतिक सहज निकास नभएपछिको परिणामस्वरूप हुने गरेका छन्।

हामीलाई लाग्छ, सशस्त्र द्वन्द्वमा गइराख्नुपर्ने स्थिति आउँदैन। तर, आउँदै आउँदैन भन्नचाहिँ सकिँदैन।

सैद्धान्तिक कुरा जनतालाई राम्ररी बुझाउन जरुरी हुन्छ। सबै कुरा राजनीतिले निर्धारण गर्ने हो। यदि, राजनीतिको सही निकास निस्किएन भने यसको विकल्प सशस्त्र विद्रोह नै हो।

समाजको उन्नति, प्रगति, नागरिकको शान्ति, सुरक्षा, मानिसको निमित्त अत्यन्तै आवश्यकीय कुरा हुन्।

जब राज्यस्तबाट यसमा अवरोध पैदा हुन्छ, त्यो बेला द्वन्द्व उत्पन्न हुन्छ । संसारमा जति पनि द्वन्द्व भएका छन्, राजनीतिक निकासलाई अवरोध गरेपछि चलेका छन्।

अहिलेको एक्काइसौँ शताव्दीको सभ्यताको उत्कर्षमा पुगेको युगमा जनतालाई आफ्नो शासन व्यवस्था रोज्न मतदान गर्ने अधिकार दिने हो भने त्यसले द्वन्द्वको खतरा रोक्न मद्दत गर्छ।

० तपाईहरूको रणनीतिक संयुक्त मोर्चामा आबद्ध पार्टीहरू एक हुने सम्भावना छ कि छैन?

– अवश्य छ । पहिलो कदम हाम्रो नेपालका सबै कम्युनिष्टलाई एकताबद्ध गर्ने र त्यसपछि प्रजातान्त्रिक समाजवादका पक्षधरलाई एकताबद्ध गर्ने हो। अहिलेका दलाल पुँजीवादबाट माथि उठाएर प्रजातान्त्रिक समाजवाद राजनीतिक प्रणालीमा अगाडि बढ्छौँ।

० यदि, जनमत संग्रहमार्फत वैज्ञानिक समाजवादतर्फ जान भाँजो हाल्ने काम भयो भने के हुन्छ?

– पहिलो कुरा त जनता तयार हुनुपर्छ । जनताले बनाएको दल त हो । जनताले चाहे भने दल तयार नहुने त कुरै हुँदैन । जनमत नमान्ने दललाई जनताले झाडु लगाएर डस्टबिनमा राखिदिन्छन्।

० अहिले नेपालमा जनताले पार्टी चलाएका छन् कि पार्टीले जनता चलाएका छन् ?

– तपाईंलाई म भनुँ ? अतिरञ्जनाजस्तो लाग्ला, पार्टीले देश पनि चलाएको छैन, जनता पनि चलाएको छैन ।
कुनै अदृश्य शक्तिले देश पनि चलाएको छ, जनता पनि चलाएको छ, पार्टी पनि चलाएको छ । कुनै अदृश्य हात, जुन देखिँदैन, समात्न पनि भेटिँदैन, त्यो पर्दापछाडि छ र त्यसको छाया मात्र भित्र आउँछ । त्यसले चाहिँ देश चलाइरहेको छ।

तपाईलाई म भनुँ ? अहिले केपी ओली प्रधानमन्त्री भएपछि मात्र आठ खर्ब ऋण थोपरिएछ, जबकि ३० वर्षमा आठ खर्ब ऋण थुपारिएको थियो। ३० वर्षयताको आठ खर्ब र तीन वर्षयताको आठ खर्ब गरी अहिले नेपाली जनताको टाउकामा १६ खर्ब ऋण छ। त्यसले आगामी २०–२५ वर्षसम्म देखिने गरी केही काम भएको देख्नुभएको छ? कुनै पनि छैन।

यो पैसा कहाँ गयो, कसले लग्यो ? कसले परिचालन गर्‍यो भन्ने पनि थाहा छैन।

त्यो चलाउने कुनै हात देखिँदैन। न नेताले चलाएको छ, न त जनताले चलाएको छ । छायाले चलाइरहेको छ। त्यही अदृश्य हात हो, जसले नेपाल चलाइरहेको छ। त्यो अदृश्य हात हामीले भने प्रस्टसँग देखिरहेका छौँ। त्यसैले जनताले नेता र राज्यप्रणालीलाई नियन्त्रण गर्ने वैज्ञानिक समाजवाद अबको खाँचो हो भनेर हामीले ठम्याएका छौँ।

० सर्वसाधारणले नभेट्ने त्यो छाया तपाईँहरुले चाहिँ देख्नुभएको छ?

– हो, हामी जुन राष्ट्रियता, भ्रष्टाचारका कुरा उठाउँछौँ, भूमण्डलीकृत विश्वव्यवस्थाका कुरा उठाउँछौँ। तर, नेपाल नवऔपनिवेशिकतामा छ। यहाँ सबभन्दा पिछडिएको अर्थतन्त्र छ, दलाल पुँजीवाद कायम छ। जसकारण हरेक व्यक्तिको नशानशामा त्यही दलाल पुँजीवाद प्रवाहित छ। उसको दिमागमा दलालीबाहेक कुनै नयाँ कुरा जन्मिँदैन।

सबै नेपालीलाई पनि दोष नदिऊँ, केही सचेत मान्छेबाहेक सबै बाहिरबाट परिचालित छन्। अदृश्य हातहरूबाट सञ्चालित छन्। हामीले यही देखिरहेका छौँ।

० तपाईँहरूले परिकल्पना गर्नुभएको वैज्ञानिक समाजवादले अन्तर्राष्ट्रिय समर्थन पाउँछ?

– अहिलेको विश्वव्यवस्थामा कुनै पनि देश कुनै पनि देशबाट अछुतो रहन सक्दैन । अमेरिकन, बेलायती, युरोपियन युनियन, चीन, भारत सबैको समर्थन चाहिन्छ। शान्ति र समृद्धिको व्यवस्था भएकाले अन्तर्राष्ट्रिय समर्थन पाइन्छ। जनताको शासन प्रणालीलाई सबैले समर्थन गर्छन्।

० प्रायः नागरिकको मनमा आउने प्रश्न छ, तपाईंको पार्टी फेरि सशस्त्र द्वन्द्वमा फर्कने सम्भावना छ कि छैन?

– सशस्त्र युद्ध मान्छेले रहरले गर्दैन। यदि, देशभित्र भोको पेट, नांगो शरीर, अशिक्षा, स्वास्थ्य, शिक्षा, धर्म, संवेदनशीलतामा व्यापार भयो भने मान्छेले विद्रोह गर्छ। हामीले भनेका छौँ, यस्तो अवस्था सिर्जना नहोओस्।

वैज्ञानिक समाजवाद स्थापना गरौँ, जनताको चाहना पूरा गरौँ, समाजलाई निरन्तर परिवर्तनतर्फ लैजाऔँ भनेका छौँ। यदि, यस्तो भएन भने त स्वतः विद्रोह जन्मिन्छ। द्वन्द्वलाई रुलआउट गर्ने हाम्रो कुरा छैन। हामीले हात बाँधेर बस्यौँ भने पनि अर्कोले हतियार उठाइहाल्छ।

प्रचण्डजीले सबै हतियार उठाएर जानुभएकै हो, फेरि द्वन्द्व किन जन्म्यो ? देशका समस्या जस्ताको तस्तै रह्यो, त्यसैले द्वन्द्व जन्मियो। अब पनि अवस्था जस्ताको तस्तै रह्यो भने जनताले हतियार त उठाइहाल्छन्।

हामीले भनेको के हो भने जनतालई राज्यप्रणाली छान्ने अधिकार दिऔँ। त्यसले द्वन्द्व अन्त्य गर्छ । समाज गतिशील बन्छ। राज्यप्रणाली स्थिर बन्छ।

० अझै प्रस्टसँग भन्न मिल्छ, यदि तपाईंहरूले भनेजस्तो शान्ति सुव्यवस्था कायम भएन भने हतियार उठाउनुहुन्छ ?

– त्यो त अनिवार्य विषय हो । सैद्धान्तिक रूपमा अनिवार्य छ कि, यदि भोको पेट, नांगो शरीर, अशिक्षा, बेरोजगारी, उत्पीडन, बलात्कार, हत्या, धर्म र संवेदनामाथि व्यापार हुन थाल्यो भने अवश्य पनि जनताले बन्दुक उठाउँदैन ? यो कुराको सम्बोधन त गर्नुपर्‍यो नि! यस्तो अवस्थामा हतियार उठाउने कुरा त अनिवार्य विषय हो । कित यो समस्या समाधान गर्नुपर्‍यो।

मेचीदेखि महाकाली, हिमालदेखि तराईसम्मका एउटा मात्र नागरिकले उत्पीडन भयो भने विद्रोह हुन्छ। यदि, विद्रोह इन्कार गर्‍यौँ भने त्यो अवैज्ञानिक हुन्छ । यस्तो अवैज्ञानिक कुरा कसैले ग¥यो भने त्यो मनोगत हुन्छ।

० त्यो सशस्त्र विद्रोहको नेतृत्व तपाईंको पार्टीले लिन सक्छ?

– नेतृत्व त जसले पनि लिन सक्छ । अहिले हाम्रो पार्टीले गर्‍यो। पहिले प्रचण्डीजी, केपी ओली, सीपी मैनाली, राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारीहरूले हतियार उठाएकै हुन्। पछि पो क्रान्तिको बाटो छोडेर पञ्चायतमा प्रवेश गर्नुभयो।

उहाँहरूले हतियार बिसाउँदैमा विद्रोह समाप्त त भएन। पछि १० वर्षे जनयुद्ध भयो। प्रचण्डजीहरूले पनि हतियार त बिसाउनुभयो। तर, मुलुकको अवस्था ज्यूँका त्यूँ रहेपछि हामी अघि बढ्नु परिहाल्यो नत्र बेइमानी, धोका हुनेछ । संसारको जुनसुकै कुनामा पनि हुने त यही हो।

बैशाख ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्