काठमाडौँ– काठमाडौँमा मनाइने सेतो मछिन्द्रनाथको जात्रा वैशाख ८ गतेबाट जात्रा सुरु हुने भएको छ। दरबार मार्गबाट सुरु हुने यो जात्रा लगनमा गएर टुंगिन्छ।

रथयात्रा समितिका आयोजकका अनुसार ७ गते मछिन्द्रबहालमा सेतो मछिन्द्रनाथ देवतालाई नुहाइन्छ। त्यसपछि भोलिपल्ट खटमा राखेर रथमा पुर्‍याउने चलन छ।

खटमा राखेर रथ यात्रा सुरु भएपछि त्यसलाई दरबारमार्गबाट असन, हनुमानढोका, लगन पुर्‍याइन्छ। सेतो मछिन्द्रनाथलाई लगनमा ३ फन्का घुमाएर कुमारीको दर्शन गराउने चलन छ। लगनमा सेतो मछिन्द्रनाथ आमालाई भेट्न जाने गरेको विश्वास गरिन्छ।

सेतो मछिन्द्रनाथको जात्रा गएको वर्ष कोरोना भाइरस महामारीको कारणले रोकिएको थियो। यो वर्ष भने स्वास्थ्य मापदण्ड अपनाएर जात्रा मनाउने आयोजकले जनाएका छन्।