नेपाली ब्याटिङको दिशा फेरेका कुशल र आरिफ : अरु ब्याट्सम्यानले खेल्नै पर्दैन !

तस्बिरः बर्षा शाह/देश सञ्चार।

काठमाडौँ-   प्रशिक्षक डेभ वाटमोर संकटमा परेका थिए, जब त्रिकोणात्मक टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पूर्व सन्ध्यामा अनुभवी ब्याट्सम्यान पारस खड्का चोटका कारण खेल्न नसक्ने भए।

हारेका खेलमा प्राय ब्याटिङमा कमजोर देखिने गरेको नेपालको विगतबारे वाटमोर जानकारी नहुने कुरै भएन। नेपालको ब्याटिङ सुरुवात अक्सर कमजोर हुन गर्थ्यो। तर वाटमोर यी सबै बिर्सिएर नेपाली क्रिकेटमा आफ्नो सुरुवात धमकधार होस् भन्ने चाहन्थे। नेपाली टोलीको प्रशिक्षकका रुपमा उनको यो पहिलो प्रतियोगिता र टीट्वेन्टी क्रिकेट भएकाले ब्याटिङ बलियो हुनुपर्छ भन्ने उनले बुझेका थिए।

शनिबार पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध उतारिएका दुई ओपनरले त्यसअघि सिनियर राष्ट्रिय टोलीबाट नखेलेकाले त्यस्तो निर्णयपछाडि वाटमोरले ‘रिस्क’ लिएका थिए। नेदरल्याण्ड्सजस्तो बलियो टोलीविरुद्ध एक सय ३७ रनको लक्ष्य पछ्याउनु विल्कुल सजिलो थिएन। तर त्यस खेलमा नेपाल ९ विकेटले विजयी भयो, पाँच ओभरको खेल बाँकी रहँदै।

सोमबार नेपालविरुद्ध पहिला ब्याटिङ गरेको मलेसिया केवल एक सय ९ रनमा सिमित भएको थियो। नेपालले करिब ८ ओभरको खेल बाँकी रहँदै जित्यो, ९ विकेटले। यी दुवै खेलमा नेपालको ब्याटिङ सम्हाल्न  कुशल भुर्तेल र आसिफ शेख मात्र पर्याप्त रहे !

नेदरल्याण्ड्सविरुद्ध कुशलले ६२ र आसिफले  अविजित ५४ रन बनाएका थिए। उनिहरुले पहिलो विकेटका लागि एक सय १६ रनको साझेदारी गरेका थिए। त्यस खेलमा कप्तान ज्ञानेन्द्र मल्ल १३ रनमा अविजित थिए।

सोमबार मलेसियाविरुद्ध कुशल ६१ रनमा अविजित रहे। आरिफले ४२ रन बनाए। उनिहरुले पहिलो विकेटका लागि एक सय २ रनको साझेदारी गरेका थिए। क्रिजमा आएका अर्का ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी ६ रनमा अविजित रहे।

व्यक्तिगत र जोडीको राष्ट्रिय कीर्तिमान, छक्काको वर्षा 

नेदरल्याण्ड्सविरुद्ध भएको खेलमार्फत कुशल टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यु खेलमा सबैभन्दा बढी रन बनाउने नेपाली क्रिकेटर बने।

मलेसियाविरुद्ध सोमबारको प्रदर्शनपछि उनी टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटका लगातार खेलमा अर्धसतक बनाउने पहिलो नेपाली क्रिकेटर बनेका छन्। आसिफ पनि टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यु खेलमा अर्धसतक बनाउने केवल तेस्रो नेपाली क्रिकेटर हुन्।

यसअघि सन्दीप जोराले  सन् २०१९ मा यूएईविरुद्ध भएको खेलमा ५३ रन बनाएर राष्ट्रिय कीर्तिमान बनाएका थिए। सोमबार पनि आसिफ अर्धसतक बनाउनबाट केवल ८ रनले चुकेका थिए।

कुशलसँग राम्रो तालमेल गरिरहेपनि खराब सटका कारण आउट हुन पुगे जतिबेला उनलाई अर्धसतक बनाउन चाहिने रन र नेपाललाई जित हात पार्न आवश्यक रन लगभग उति नै थियो।

‘मैले हार्ड वर्क धेरै गरेको थिएँ। पहिलो खेलमा मैले अवसरलाई सदुपयोग गर्नु थियो। त्यसमा सफल भएँ। बरु आज अलिक प्रेसर भयो’, कुशलले मलेसियाविरुद्धको खेलपछि भने। आरिफलाई अर्धसतक बनाउन दिन खोज्दा कुशलले व्यक्तिगत ‘बेस्ट स्कोर’ गर्ने अवसर माया मारिदिएका थिए। सामान्य लक्ष्य भएकाले १० विकेटले नै विजयी हुन प्रयाश गरेका थिए सायद ! यसअघि टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले १० विकेटको जित कहिल्यै हात पारेको छैन।

यो जोडीले नेपाली क्रिकेटमा लगातार कीर्तिमान बनाइरहेको छ। पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध पहिलो विकेटका लागि भएको एक सय १६ रनको साझेदारी टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो विकेटका लागि गरेको अहिलेसम्मकै ठुलो साझेदारी हो।

त्यसअघि टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एकपटक मात्र सतकीय साझेदारी भएको थियो। यसैगरि त्यसअघि नेपालले टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा दुईपटक मात्र ९ विकेटको जित हात पारेको थियो। नेदरल्याण्ड्सविरुद्ध नेपालले ३० बल खेल्न बाँकी रहँदै प्राप्त गरेको जित खेल्न बाँकी बलको संख्याका हिसाबले दोस्रो धेरै बल थियो। सन् २०२० मा थाइल्याण्डलाई पनि ९ विकेटले हराएको थियो ८७ बल खेल्न बाँकी रहँदै।

कुशल र आरिफले मलेसियाविरुद्ध पनि सतकीय साझेदारी गरेपछि टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटका दुई खेलमा सतकीय साझेदारी गर्ने यो जोडी नेपालको पहिलो बनेको छ। यी दुई ब्याट्सम्यानकै प्रभावशाली प्रदर्शनमा नेपाल फेरी ९ विकेटको जित हात पार्न सफल भएको छ, ४७ बल खेल्न बाँकी रहँदै।

प्रतियोगिताका सुरुका दुवै खेलमा कुशल र आरिफले दबाबरहित भएर ब्याटिङ गरेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उनिहरुले छक्काको वर्षा गरेका छन्। कुशलले नेदरल्याण्ड्सविरुद्ध ४६ बलमा ५ छक्का र  ५ चौकासहित करिब एक सय ३५ को स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए।

उनले मलेसियाविरुद्ध ४१ बलमा ५ छक्का र तीन चौकासहित करिब एक सय ४९ को स्ट्राइक रेटमा ब्याटिङ गरेका छन्। यसैगरि आसिफले नेदरल्याण्ड्सविरुद्ध ३८ बलमा चार छक्का र चार चौकासहित एक सय ४२ को स्ट्राइक रेट तथा मलेसियाविरुद्ध २९ बलमा एक छक्का र चार चौकासहित एक सय ४४ को स्ट्राइक रेटमा ब्याटिङ गरेका छन्।

यो जोडीले सुरुको ६ ओभर (पावर प्ले)मा  नेदरल्याण्ड्सविरुद्ध ६६ र मलेसियाविरुद्ध ७० रन जोडेको थियो। यी युवा ब्याट्सम्यानको प्रदर्शनलाई लिएर नेपाली टोलीका कप्तान ज्ञानेन्द्र र प्रशिक्षक वाटमोर दुवैले खुसी व्यक्त गरेका छन्। प्रशिक्षक वाटमोर अब नेदरल्याण्ड्सविरुद्ध मंगलबार हुने खेल नेपालका लागि कठिन हुने बताउँछन्।

‘फरक मौसमबाट आउँदा नेपालमा नेदरल्याण्ड्सलाई गाह्रो भयो। तर उसले मलेसियाविरुद्ध निकै राम्रो प्रदर्शन गरेको छ। यसबाट हामी चनाखो हुनुपर्छ’, वाटमोरले भनेका छन्।

बैशाख ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्