युरोपियन सुपर लिगको घोषणाले फुटबल जगतमा तरंग, खेलाडीमाथि प्रतिबन्धको चेतावनी

फुटबलको युरोपियन निकाय (युइएफए) का अध्यक्ष एलेक्सान्डर सेफरिनले घोषणा गरिएको युरोपियन सुपर लिग (इएसएल) फुटबल प्रेमीमाथि ठूलो धोका र अपमानजनक तथा आत्मकेन्द्रित योजना रहेको बताएका छन् ।

लिगका लागि सहमत भएका टिमबाट खेल्ने खेलाडीलाई विश्वकप तथा युरोकपमा सहभागी हुन नपाउने गरि ‘प्रतिबन्ध’ लगाउने चेतावनी पनि उनले दिएका छन् ।

इंग्लिस प्रिमियर लिगका आर्सनल, चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र टोटनह्याम, ला लिगाका एथ्लेटिको मड्रिड, रियल मड्रिड र बार्सिलोना तथा इटालियन सिरी ए का एसी मिलान, इन्टर मिलान र युभेन्टसले इएसएलमा सहमति जनाएका छन् ।

आ–आफ्नो घरेलु लिगमा प्रतिस्पर्धा जारी रहने गरि हप्ताको मध्यमा प्रतिस्पर्धा गर्ने गरि नयाँ लिगका लागि क्लबहरु सहमत भएको इएसएलले जनाएको छ ।

इएसएलको पहिलो सिजन जतिसक्दो चाँडो सुरु हुने र त्यसमा अरु तीन क्लब पनि सामेल हुने सम्भावना रहेको बताइन्छ ।

पुरुष तर्फको प्रतिस्पर्धा सुरु भएपछि महिला टिमको पनि प्रतिस्पर्धा गर्ने योजना रहेको इएसएलले जनाएको छ ।

आइतबार इएसएलको खबर बाहिर आएपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसहित युइएफए र प्रिमियर लिगले निन्दा गरेका थिए ।

इएसएलका लागि हस्ताक्षर नगरेका प्रिमियर लिगका १४ क्लबको बैठक मंगलबार बस्दैछ । उनीहरुले आफ्नो संयुक्त प्रतिक्रिया तय गर्ने छन् ।

आलोचकहरुले इएसएल पूर्णरुपमा पैसामा केन्द्रित भएर गरिएको निर्णय रहेको बताएका छन् । इएसएलमा हरेक वर्ष १५ वटा उही क्लब हुने छन् । बाँकी पाँच क्लब हरेक वर्ष छनौट गरिने छ ।

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले यसअघि नै सो खालको प्रतियोगितालाई आधिकारिकता नदिने बताइसकेको छ ।

बैशाख ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्