सडक बनाउँदा कुलो भत्किएपछि मार्सी फल्ने खेत बाँझै रहने चिन्ता

काठमाडौँ– खेत जोत्ने र धानको बीउ राख्ने समयमा कुलो भत्किएपछि हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर १ र २ मा रहेको मार्सी धान फल्ने ग्याग्रु जिउलाको ४० रोपनी खेल बाँझो रहेको छ।

सडक निर्माण गर्ने क्रममा कुलो भत्किएको हो।

कुलो भत्किएपछि सबै काम रोकिएको र खेत हालसम्म बाँझै रहेको वडा नम्बर २ का जस भण्डारीले बताए। उनका अनुसार हिउँदमा गहुँ र उवा छर्ने र जेठ असारमा धान रोप्ने खेत सिंचाईको सुविधा नभएपछि खेत बाँझो रहेको हो।

कुलो निर्माण नगरिए यस वर्ष खेत बाँझो रहने किसानको चिन्ता छ। कुलोलाई सुचारु गर्न सरोकारवाला निकायलाई अर्का स्थानीय दाने भण्डारीले आग्रह गरे।

उनले भने, ‘सडक पनि बन्यो। अब कुलो मर्मत गरेर सुचारु भए हुने थियो। सरोकारवाला निकायको यसतर्फ ध्यान पुगोस्।’

सडक निर्माणका क्रममा केही क्षेत्रमा माटो र ढुङ्गा खस्दा कुलो छोपिएको तथा केही क्षेत्रमा क्षति पुगेका कारण यसलाई छलफलबाट समाधान ल्याउने सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामाले बताए।

कुलो अवलोकनमा पुगेका लामाले सडक निर्माणका क्रममा सिंचाई कुलोमा क्षति पुगेको र अब त्यसको मर्मतका लागि केही उपाय निकाल्नु पर्ने देखिएको बताए।

बैशाख ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्