कोभिड प्यान्डेमिकको साप्ताहिक विश्लेषण (अप्रिल ११ देखि १७ सम्म)

फेरि ‍कोरोना प्यान्डेमिकको केन्द्र बन्दै छ दक्षिण एसिया

पछिल्लो समय कोरोना प्यान्डेमिकको नयाँ लहर सुरु भइरहेको बेला दक्षिण एसिया पनि अछुतो रहन सकेन। यस्तो अवस्थामा के अहिले दक्षिण एसिया साँच्चिकै कोरोना प्यान्डेमिकको वर्तमान लहरको केन्द्र बन्दै गइरहेको हो त? हिजोआज यस्तै विषय चर्चामा आइराखेको छ जुन स्वाभाविकै देखिन्छ। तर तथ्यांकले के देखाउँछ, विश्लेषण गरिहेरौँ।

दक्षिण एसियामा पछिल्लो समयमा कोरोना संक्रमण बढ्दै गएको कुरामा कुनै संका रहेन। पछिल्लो अवस्थामा कोरोना संक्रमण दक्षिण एसियामा कसरी उकालो लागिरहेको छ भन्ने यस शृंखलाका गत अंकहरुमा पनि विश्लेषण गरिएको थियो भने यस अंकमा पनि गरिने छ।

दक्षिण एसियामा प्यान्डेमिकको कुरा गर्ने हो भने गतवर्ष जुलाई महिनाको सुरुवातीदेखि विश्वमानचित्रमा प्यान्डेमिकको कुल भारको दोस्रो ठूलो हिस्सा यस क्षेत्रले बहन गर्न सुरु गर्‍यो जति बेला अमेरिकाज (उत्तर, सेन्ट्रल र दक्षिण अमेरिका)मा प्यान्डेमिकको सबैभन्दा ठूलो भार थियो भने युरोपमा प्यान्डेमिकको पहिलो लहर सकिएर दैनिक संक्रमण न्यून अवस्थामा पुगेको थियो। त्यति बेला दैनिक संक्रमणको हिसाबले अमेरिकामा दैनिक करीब ७००००, ब्राजिलमा ४०००० र भारतमा ३०००० नयाँ संक्रमण देखापरी ती देशहरु विश्वमा क्रमश: पहिलोदेखि तेस्रो स्थानमा थिए। यसरी यी तीन देशहरु बीच कोरोनाको दैनिक संक्रमणको हिसाबले एक आपसमा प्रतिस्पर्धा त्यही बेलादेखि सुरु भएको देखिन्छ।

गतवर्षको अगस्ट महिनामा दक्षिण एसियामा कोरोनाको भार झन्झन् बढ्दै गई सेप्टेम्बर महिना सुरु भएपछि दक्षिण एसियाको प्यान्डेमिकले पहिलो लहरको चुचुरोको रुप लियो। सेप्टेम्बर महिनाभरि दक्षिण एसिया र अमेरिकाजबीच कोरोनाको दैनिक संक्रमणको हिसाबले निकै प्रतिस्पर्धा मच्चिरह्यो। त्यतिबेला यी दुई क्षेत्रहरुमा दैनिक संक्रमण पालैपालो विश्वमै पहिलो र दोस्रो उच्च भइरह्यो। सेप्टेम्बरको मध्यसम्म आइपुग्दा दक्षिण एसियामा प्यान्डेमिकको पहिलो लहर उच्च बिन्दुमा पुग्दा भारत विश्वमै प्यान्डेमिकको केन्द्र बिन्दु बन्न पुग्यो जति बेला भारतमा दैनिक करीब ९००००, अमेरिकामा ४०००० र ब्राजिलमा २५००० देखा परेका थिए। त्यति बेला युरोपमा प्यान्डेमिकको दोस्रो लहर सुरु भएको थिएन र दैनिक संक्रमण दक्षिण एसियाकोभन्दा आधाभन्दा कम थियो। अक्टोबर महिना लागेपछि दक्षिण एसियामा प्यान्डेमिक कम हुँदै गयो भने युरोपमा दोस्रो लहर सुरु भई यति ठुलो आकार लियो कि त्यसको निरन्तरताले यही वर्षको सुरुवातीमा विश्वमै कोरोना प्यान्डेमिकको इतिहासमा हालसम्मकै सबैभन्दा ठूलो लहर बनाइदियो। त्यति बेलादेखि हालसम्म पनि अमेरिकाज र युरोपबीच कोरोना दैनिक संक्रमणको तीब्र प्रतिस्पर्धा चलिरहेको छ भने मार्च महिनाको मध्यतिरबाट फेरि एकपटक दक्षिण एसियामा कोरोना संक्रमण तीब्र वृद्धि भई हाल यस क्षेत्र प्यान्डेमिकको केन्द्र बिन्दु बन्ने तरखरमा रहेको देखिन्छ।

विश्वको जनसंख्याको करीब २०% हिस्सा ओगटेको दक्षिण एसियामा अप्रिल १६का दिनसम्म विश्वको कुल कोरोना संक्रमणको करीब १२% भेट्टिएको छ भने अप्रिल १६ का दिन दक्षिण एसियामा मात्रै विश्वको करीब ३०% नया संक्रमण भेट्टिएको छ। त्यस्तै अप्रिल १६ का दिन  दक्षिण एसियामा मात्रै विश्वको कुल कोरोना मृत्युको करीब १२.५% मृत्यू भेट्टिएको छ। पछिल्लो समयमा भारतमा मात्रै दैनिक अमेरिका र ब्राजिलको जम्मा जोडभन्दा धेरै संक्रमण देखिन थालेको छ। त्यति मात्रै होइन पछिल्लो समय भारतमा पहिलो लहरभन्दा दैनिक संक्रमण दोब्बर भएको छ। यसले के देखाउँछ भने भारत, छिमेकी देशहरु र सिंगो दक्षिण एसिया कोरोना संक्रमण र प्यान्डेमिकको केन्द्र बिन्दु बन्दै गएको छ।

भुटान दक्षिण एसियामा मात्रै होइन सिंगो विश्वमै कोरोना संक्रमण निकै न्यून भएको देश हो। हालसम्म त्यहाँ १००० भन्दा कम जम्मा संक्रमण र जम्मा एकमात्रै मृत्यू भएको छ। यही वर्ष जनवरीदेखि हालसम्म दैनिक संक्रमण सुन्ना समान रहेको भुटानमा अप्रिल महिना सुरु भएदेखि दैनिक संक्रमण सुरु भएको मात्रै होइन बढ्दो क्रममा देखिएको छ। यद्यपि त्यहाँ दैनिक संक्रमणको संख्या अन्तको दाँजोमा निकै कम छ तर त्यहाँको संक्रमण प्रबृत्तिले संक्रमण बढ्दै गएको र भविष्यमा पनि बढ्दै जाने संकेत गर्दछ।

श्रीलंकाको स्थिति झनै खराब देखिन्छ। त्यहाँको पछिल्लो दैनिक संक्रमणको संख्या त्यति धेरै नभए पनि आवर ओर्ल्ड इन डाटाका अनुसार त्यहाँको संक्रमण दर अर्थात् पोजिटिभिटी निकै धेरै देखिन्छ। अप्रिल महिनाको सुरुवातीसँगै त्यहाँको दैनिक संक्रमण दरमा निक्कै वृद्धि भएको छ। करीब ३% बाट क्रमश: वृद्धि हुँदै २०% भन्दा धेरै पुगी अप्रिल १० का दिन ३०% भन्दा धेरै पुगेको छ जुन विश्वमै सबैभन्दा उच्च मध्य एक थियो।

बंगलादेशको दैनिक संक्रमण दर पनि बिगत केही सातादेखि २०% भन्दा माथि हुँदै आएको छ।

माथि उल्लेख गरिएका तथ्यहरुबाट यो कुरा स्पष्ट हुन्छ कि हाल दक्षिण एसिया पुनः एक पटक कोरोना प्यान्डेमिकको केन्द्र बन्दै छ र हामी सबैले साबधानीपूर्बक यसको सामना गर्नु पर्दछ। चित्र न.१ ले पनि सो कुराको पुष्टि गर्दछ। चित्रमा दक्षिण एसियाली तथा केही अन्य देशहरुको अप्रिल १ देखि १६ सम्मको दैनिक संक्रमण दर (पोजिटिभिटी दर) देखाइएको  छ। चित्रमा जोन्स हप्किन्स विश्वविध्यालय (johns Hopkins University) र आवर ओर्ल्ड इन डाटा (Our World in Data)बाट लिइएको तथ्यांकका अनुसार अधिकांश दक्षिण एसियाली देशहरुको संक्रमण दर अन्य देशहरुकोभन्दा निकै उच्च देखिएको छ।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसाथ गर्नु पर्ने बेला आएको छ। प्यान्डेमिकको पहिलो लहरबाट लिएको अनुभव र शिक्षालाई फेरि एक पटक ब्यबहारिकरुपमा नेपाल सरकार र नेपाली जनताले लागु गर्ने पर्ने बेला आएको छ। विशेष गरी हाल नेपाल र  छिमेकी राष्ट्रहरुमा कोरोना संक्रमण दिनानुदिन बढ्दै गएको हुनाले नेपालले कोरोना प्यान्डेमिकलाई नियन्त्रण गर्न र छिमेकबाट संक्रमण आयातित हुनबाट रोक्न सम्पूर्ण प्रयाश गर्नु पर्ने दखिन्छ।

चित्र न. २ मा दक्षिण एसियाली देशहरुका पछिल्लो समय, अप्रिल १ देखि १६ सम्मको कोरोना संक्रमणको (दैनिक नया संक्रमण संख्या)  प्रबृत्ति देखाइएको छ। चित्रमा देखाइए जस्तै पछिल्लो समयको दैनिक संक्रमणको प्रबृत्ति हेर्ने हो भने भारतको अवस्था निकै चिन्ताजनक देखिन्छ। फेब्रुअरीको सुरुवातीमा त्यहाँ दैनिक करीब ११००० जति मात्र नयाँ संक्रमण देखिने गरेकोमा पछिल्लो समय, ओर्ल्ड़ोमिटर र WHOका  अनुसार,  दैनिक २००००० भन्दा धेरै नयाँ संक्रमित देखिन थालेको छ। नेपाल लगायत अन्य देशहरुमा भारतको तुलनामा दैनिक संक्रमण संख्या निकै कम देखिन्छ जसले गर्दा चित्रमा राम्ररी देखिँदैन। तर ती देशहरुमा पनि पछिल्लो समय दैनिक कोरोना संक्रमण बढ्दै गएको देखिन्छ। त्यस्तै दक्षिण एसियाको कुल संक्रमितको संख्या पनि दैनिक वृद्धि हुँदै गइरहेको छ र चित्रमा देखाइए जस्तै दक्षिण एसियाको दैनिक कोरोना संक्रमण प्रबृत्ति भारतसँग समानान्तर देखिन्छ।

चित्र न. ३ मा दक्षिण एसियाली देशहरुका पछिल्लो समय, अप्रिल १ देखि १६ सम्मको कोरोना मृत्युको (दैनिक नयाँ मृत्यु संख्या)  प्रवृत्ति देखाइएको छ। पछिल्लो समयको दैनिक मृत्युको प्रवृत्ति हेर्ने हो भने चित्रमा देखाइए जस्तै भारतको दैनिक मृत्यु दैनिक संक्रमणसँगै समानान्तररुपले निकै तीब्ररुपमा बढ्ने क्रममा देखिन्छ। ओर्ल्ड़ोमिटर र WHOका अनुसार  फेब्रुअरीको सुरुवातीमा भारतमा दैनिक करीब १०० जति नयाँ मृत्यु देखिने गरेकोमा पछिल्लो समय दैनिक ८०० जति देखिन थालेको छ।

सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC) द्वारा जारी गरिएको विवरण अनुसार  दक्षिण एसियामा अप्रिल १५  बिहीबारका दिनसम्म जम्मा १६०५०९५९ जना कोरोना संक्रमित भइसकेका छन् भने २०५४४९ जनाले यसैका कारण आफ्नो ज्यान गुमाइसकेका छन्। गतहप्ता साताभरि जम्मा १३१११२८ जना नयाँ कोरोना संक्रमित र ८००३ जना नयाँ मृत्यु थपिए।  गत तीन साताको साप्ताहिक कोरोना संक्रमण र साप्ताहिक मृत्यू सुरु देखि पछिल्लो सातासम्म क्रमसः ५२१४०२ र  ३२४२, ७६८९५५ र ४७०८, १३१११२८ र ८००३ रह्यो जुन तीब्र गतिमा बढ्दै गएको देखिन्छ। यसरी दक्षिण एसिया फेरि एक पटक कोरोना प्यान्डेमिकको केन्द्र बन्दै गएको पुष्टि भएको देखिन्छ।

यसै सेरोफेरोमा नेपालमा कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा गतहप्ता, सन् २०२१ अप्रिल ११ देखि १७ (बि सं २०७७ चैत्र २९ देखि बैशाख  ४)  जम्मा ७ दिनको विश्लेषण विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइए बमोजिम प्रस्तुत गरिएको छ। यस लेखमा उद्धृत गरिएका तथ्यांकहरु विभिन्न श्रोतहरुबाट लिइएका हुन् जस्तै नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MOHP), जोन होप्किन्स विश्व विद्यालय (John Hopkins University), WHO, ओर्ल्ड़ोमिटर (Worldometer), आवर ओर्ल्ड इन डाटा (Our World in Data), सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC) आदि। यस लेखको उद्देश्य कोरोना सम्बन्धी तथ्यांकलाई सहीरुपमा पस्की विश्व र नेपालको  प्यान्डेमिकको सहि चित्रलाई पाठकवर्ग समक्ष पुर्‍याउनु हो।

गतहप्ता पनि प्यान्डेमिकका तथ्यांकहरु विश्वभरि र नेपालमा पनि  उतारचढाव हुने क्रम जारी रह्यो। निम्न केही तथ्यांकको आधारमा गएको हप्ता नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरी हेरौं।

दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने  नयाँ संक्रमितहरुको संख्या हो। गतहप्ता सन् २०२१ अप्रिल ११ देखि १७ (बि सं २०७७ चैत्र २९ देखि बैशाख  ४)  जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमितको संख्या चित्र न. ४मा प्रस्तुत गरिएको छ। चित्रमा देखाइए जस्तै गतहप्ता अघिकोभन्दा केही धेरै संख्यामा परीक्षण गरिएको छ र त्यही अनुसार नयाँ संक्रमण पनि बढ्दै गएको देखिन्छ।  चित्रमा धेरै परीक्षण गरिएको दिन नयाँ संक्रमण पनि धेरै देखिने प्रबृत्ति देखिएको हुनाले प्रसस्त परीक्षण गरिए वास्तविक संक्रमण पनि अहिलेकोभन्दा धेरै हुने निश्चित छ। यस्तो अवस्थामा प्रसस्त परीक्षण गरी प्यान्डेमिकको सही मापन र ब्यबस्थापन गरी एकातिर जनस्वास्थ्यको सुरक्षा गर्नु जरुरी छ भने अर्कोतिर सामाजिक जनजीबन तथा आर्थिक गतिबिधिलाई पनि निरन्तरता दिनु अत्यावश्यक छ।

नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गतहप्ता सात दिन, बैसाख ४ गते शनिबारसम्म देशभरि जम्मा ३९३३  जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या २८३६५८ पुगेको छ। यसरी चैत महिनाको साप्ताहिक जम्मा संक्रमण हेर्ने हो भने सुरुदेखि पछिल्लो  समयसम्म क्रमसः ६५१, ९२१, १०१८, १९५७ बाट ३९३३ पुगेको छ। त्यस्तै चैत महिनाको साप्ताहिक जम्मा मृत्यु हेर्ने हो भने सुरुदेखि पछिल्लो  समयसम्म क्रमश: २, ११, ५, ७ बाट ३६ पुगेको छ। यसले नेपालमा पछिल्लो समयमा कोरोना संक्रमण निकै तीब्र गतिमा बढ्दै गएको देखाउँछ।

चित्र न. ५ ले नेपालको देशभरिको जम्मा दैनिक संक्रमण र काठमाडौँ उपत्यकाको जम्मा दैनिक संक्रमणको तुलनात्मक विश्लेषण देखाएको छ। चित्रमा देखाइए जस्तै गतहप्ता काठमाडौँ उपत्यकाको दैनिक संक्रमण समग्र नेपालको ४४.८४% देखिन्छ अर्थात् आधा भन्दा कम देखिन्छ। दुई हप्ता अगाडिको हप्ता काठमाडौँको कोरोना संक्रमण समग्र नेपालको करीब ५१% थियो।

यसरी पछिल्लो समय दैनिक संक्रमण काठमाडौँ उपत्यका भन्दा बाहिर धेरै देखिनुले सीमा परिबाट आएका र मानिसको आवतजावत धेरै हुने ठाउँमा धेरै संक्रमण भेटिएको संकेत  गर्दछ। गत शुक्रबार धेरै  संक्रमण देखिएका जिल्लाहरुमा क्रमश: बाँके-१३३, कास्की-४६, रुपन्देही-४३, कैलाली-३९ , पर्सा -३०, चितवन -२२, मोरङ-२० आदि छन्।

दैनिक संक्रमण (पोजिटिभिटी) दर (Positivity Rate)

प्यानडेमिकको मापदण्डहरु मध्ये पोजिटिभिटी दर (संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएका मध्ये कति जनामा संक्रमण  पोजिटिभ देखियो भन्ने देखाउँदछ।

चित्र न. ६ले  नेपालको गतहप्ताको दैनिक संक्रमण दर देखाएको छ। गतहप्ता नेपालको प्यान्डेमिक उकालो लाग्ने क्रम जारी रहेको देखिन्छ। गतहप्ता पोजिटिभिटी दर न्यूनतम ९.७% ५.०९% देखि अधिकतम १५.१% ९.५४% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर १२.४२% रह्यो। चैत्र महिनाको सुरुदेखि पछिल्लोसातासम्मको औसत पोजिटिभिटी दर क्रमसः ३.१६%, ३.५५%, ४.५%, ७.०४% रहेका थिए।  स्मरण रहोस WHOका अनुसार पोजिटिभिटी ५% भन्दा धेरै हुनु प्यान्डेमिक अनियन्त्रित भएको लक्षण हो।

संक्षेपमा माथिका तथ्यांकहरुबाट अधिकांश दक्षिण एसियाली देशहरुमा प्यान्डेमिकको अवस्था तीब्र गतिमा वृद्धि हुँदै गएको देखिन्छ र  पछिल्लो समयमा यस क्षेत्रको प्यान्डेमिकको  दोस्रो लहर पहिलो भन्दा दोब्बर ठुलो भइसकेको छ।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसाथ गर्नु पर्ने बेला आएको छ। प्यान्डेमिकको पहिलो लहरबाट लिएको अनुभव र शिक्षालाई फेरि एक पटक ब्यबहारिकरुपमा नेपाल सरकार र नेपाली जनताले लागु गर्ने पर्ने बेला आएको छ। विशेष गरी हाल नेपाल र  छिमेकी राष्ट्रहरुमा कोरोना संक्रमण दिनानुदिन बढ्दै गएको हुनाले नेपालले कोरोना प्यान्डेमिकलाई नियन्त्रण गर्न र छिमेकबाट संक्रमण आयातित हुनबाट रोक्न सम्पूर्ण प्रयाश गर्नु पर्ने दखिन्छ। नेपाली जनताले पनि प्यान्डेमिकको पछिल्लो यथार्थ बुझी आफ्नो तर्फबाट गर्न सक्ने होशियारी तथा सतर्कता हरपल यथासक्य पालना गर्नु पर्दछ। हरेक व्यक्तिले भौतिक दुरी कायम  गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनाबश्यक भिडभाड नगर्ने आदि साबधानीका कुराहरु कडाईका साथ अपनाउनु पर्ने देखिन्छ।

यस लेख नेपालमा साप्ताहिकरुपमा प्यान्डेमिक हेर्ने ऐनाको  रुपमा प्रस्तुत  गरिएको छ। यस लेखमा नेपाल र विश्वमा प्यान्डेमिकको बारेमा तथ्यांकले जे देखाउंछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ। यस लेखमा प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ-आफ्नो बुझाई हो। जे भए पनि प्यान्डेमिक बिरुद्धको हाम्रो लडाईं जारी छ, होशियारीपूर्बक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

prabinshrestha@hotmail.com

(डा. श्रेष्ठ बीएण्डबी अस्पताल ग्वार्को, ललितपुरका कन्सल्टेन्ट न्यूरोसर्जन हुन्।)

बैशाख ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्