विशाल लक्ष्य दिएर पनि चुकेको नेपाल, ४ विकेट लिएर पनि ‘खलनायक’ बने सन्दीप

तस्बिरः क्यान।

पहिलो खेलमा नेदरल्याण्ड्सलाई एक सय ३६ रनमा सीमित गरेर ५ ओभर बाँकी छँदै ९ विकेटले जितेको नेपालले दोस्रो खेलमा मलेसियालाई एक सय ९ रनमा सीमित गरेर करिब ८ ओभर बाँकी छँदै ९ विकेटले नै खेल जितेपछि आम जिज्ञासा बढेको थियो, पहिला ब्याटिङ गर्न पाएमा नेपालले कति रनसम्म बनाउन सक्ला ?

यसको जवाफ मंगलबार नेदरल्याण्ड्सविरुद्ध २ सय ६ रन बनाएर नेपालले दियो। अघिल्ला दुई खेलमा झैँ ओपनर कुशल भुर्तेलले अर्धसतक बनाए। अर्धसतक बनाएका अर्का ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीको प्रदर्शन पनि हेर्न लायक थियो। यति धेरै रन टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको दोस्रो सर्वाधिक थियो। यसअघि भुटानविरुद्ध २ सय ३६ रन बनाएपनि टिमको स्तरका हिसाबले नेदरल्याण्ड्सविरुद्ध बनेको योगफल पछिल्लो समय नेपाली ब्याटिङ स्तरको खास ‘साइन’ थियो।

अन्तर्राष्ट्रिय क्रिकेटमा यति ठुलो लक्ष्य कठिन मात्र होइन, निकै कठिन मानिन्छ। त्यसमा पनि अघिल्ला दुई खेलमा कसिलो बलिङ गरेको नेपालसामू नेदरल्याण्ड्सले सफलता प्राप्त गर्ला भनेर अनुमान गर्न सजिलो थिएन। तर,  त्रिकोणात्मक टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत  नेदरल्याण्ड्सले ३ बल बाकीँ रहँदै ७ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

मध्यक्रमका बास डे लिडे ८१ रनमा अविजित रहे। बेन कुपरल‍‍े ५५ रन बनाए। कप्तान पिटर सिलारले ३१ रन जोडे। बास र कुपरबीच तेस्रो विकेटका लागि ६८ रनको साझेदारी भयो। बासले कप्तान सिलारसँग पाचौँ विकेटका लागि ४९ रनको साझेदारी गरे। नेपालका सन्दीप लामिछानेले चार तथा कुशल मल्ल, करन केसी र अविनाश बोहराले एक एक विकेट लिए।

४ विकेट तर ४८ रन 

टीट्वेन्टी क्रिकेटमा बलरका लागि विकेट लिनुभन्दा ठुलो सफलता कम रन खर्चनुलाई मानिन्छ।

तर, कहिल्यैकाहिँ एउटा बलरले खेलभर एउटै विकेट लिएपनि त्यसले खेल ‘घुमाउन‍े’ सामर्थ्य पनि राख्न सक्छ। नेदरल्याण्ड्सविरुद्ध सन्दीपले सुरुका तीन र कप्तानसमेत रहेका मध्यक्रमका सिलारलाई आउट गरे।

नेदरल्याण्ड्सले १४ रन जोड्दा, अघिल्लो खेलमा सतक बनाएका  म्याक्स ओदाउदलाई सन्दीपले आउट गरे।  ६५ रन जोड्दा नेदरल्याण्ड्सले दोस्रो विकेट गुमाएको थियो, सन्दीपकै बलमा ओपनर तोबाइस भिसीलाई।

आक्रामक ब्याटिङ गरिरहेका कुपर टोलीले एक सय ३३ रन जोड्दा सन्दीपकै बलमा आउट भएका थिए, तेस्रो विकेटका रुपमा। यतिबेलासम्म नेदरल्याण्ड्सले १० भन्दा बढी प्रति ओभर रन बनाइरहेको थियो। सन्दीपले तीन ओभरमा ३ विकेट लिएर २८ रन खर्चिएका थिए।

तस्बिरः क्यान।

कप्तान सिलार र बासको ब्याटिङ जमिरहेको थियो। नेपाली बलरहरु कम रन खर्चने प्रयास गरिरहेका थिए। अवस्था यस्तो थियो कि नेदरल्याण्ड्सलाई अन्तिम ३ ओभरमा ४५ रन चाहिएको थियो। ऊसँग ६ विकेट साथमा थियो। नेपाललाई कम रन खर्चनु र ‘सेट’ भइरहेका दुवै ब्याट्सम्यानलाई आउट गर्नुपर्ने दुवै दबाब थियो।

यस्तो अवस्थामा कप्तान ज्ञानेन्द्र मल्लले सन्दीपलाई बल जिम्मा दिए। सन्दीपको त्यो अन्तिम ओभर थियो। ‘ फास्ट बलरहरुलाई उनीहरुले पिटिरहेका थिए। सन्दीप अनुभवी भएकाले उसलाई बलिङमा उतारिएको थियो’, कप्तान ज्ञानेन्द्रले खेलपछि भने।

बास ३६ बलमा ५६ रन बनाएर खेल्दै थिए भने सिलारले १० बलमा ११ रन जोडेका थिए। स्ट्राइकमा थिए सिलार। तर सिलारले सुरुका लगातार तीन बलमा छक्का प्रहार गरे। चौथो बलमा दुई रन लिए। पाचौँ बलमा आउट भए। तर नेदरल्याण्ड्स खेलमा निकै सहज स्थितिमा आइसकेको थियो।

उसलाई अन्तिम दुई ओभरमा २५ रन चाहिएको थियो। १९ औँ ओभर थप बिर्सनलायक रह्यो नेपालका लागि। अबिनाश बोहरा निकै महँगो बने। पहिलो बलमै बासले छक्का प्रहार गरे। चौथो बलमा स्कट एडवार्ड्स आउट भएपनि स्ट्राइकमा बास आइसकेका थिए। उनले पाचौँ बलमा चौका प्रहार गरे।

कुशल मल्लको ठिक अगाडि बल उफ्रिएर चौका भएको थियो। मल्लले त्यसलाई रोक्न नसक्नु दुर्भाग्यपूर्ण रह्यो। बासले छैटौँ बलमा छक्का प्रहार गरे। अन्तिम ओभरमा ६ रन आवश्यक थियो जितका लागि।

पहिलो बलमा नेपालले विकेट लिएपनि स्ट्राइकमा बास आइसकेका थिए। उनले दोस्रो र तेस्रो बलमा दुई वटा स्तरीय चौका प्रहार गर्दै टोलीलाई सनसनीपूर्ण जित दिलाए।  नेदरल्याण्ड्सले टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि यति धेरै रन बनाएको थिएन। जारी प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेदरल्याण्ड्सले मलेसियाविरुद्ध एक सय ९१ रन बनाएको थियो।

सोमबार मलेसियालाई हराएपछि नेपाली टोलीका प्रशिक्षक डेभ वाटमोरले भनेका थिए,’ मौसम प्रतिकुलताका कारण नेदरल्याण्ड्सलाई सेट हुन समय लागेको हो तर अब नेपाललाई सजिलो हुने छैन।’

हारपछि नेपालका कप्तान ज्ञानेन्द्रले विशाल लक्ष्य दिएपछि बलिङको सुरुवातमा नेपालले हलुकारुपमा लिएको स्विकार गरे। प्रतियोगितामा नेपाल र नेदरल्याण्ड्सले तीन खेलबाट समान चार अंक जोडेका छन्। २ खेल खेलेको मलेसियाको अंक छैन। बुधबार हुने खेलमा मलेसियाले नेदरल्याण्ड्ससँग हार ब्यहोरे नेपाल र नेदरल्याण्ड्स दुवै फाइनल पुग्नेछन्। त्यसअघि लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले बिहीबार मलेसियासँग खेल्ने छ।

हारपछि फेरि आम जिज्ञासा देखिएको छ, नेपालले कति रनको लक्ष्य दिएमा चाहीँ त्यसलाई ‘डिफेण्ड’ गर्न सक्छ ?

बैशाख ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्