‘महामारीका कारण बजेट भएर पनि भनेजस्तो ओलम्पिक तयारी गर्न सकिएन’

घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद-सागमा ऐतिहासिक सफलता प्राप्त गरेको झण्डै डेढ वर्षपछि नेपालले जापानको टोकियोमा विश्व खेलकुदको महाकुम्भ ओलम्पिक खेलकुद खेल्दै छ। कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण निर्धारित समयभन्दा एक वर्षपछि सरेको ओलम्पिक अझै पनि हुने नहुने निश्चित छैन।

महामारीको दोस्रो लहर बढिरहेको समयमा उत्तर कोरियाले नखेल्ने निर्णय सुनाइसकेको छ।  जापान सरकार भने जसरी पनि ओलम्पिक खेलकुद आयोजना गर्ने पक्षमा छ। जुलाई २३ तारिखबाट सुरु हुने भनिएको प्रतियोगिताका लागि विभिन्न खेलका विश्व महासंघहरुले छनोट प्रतियोगिताहरु समेत सन्चालन गर्न सकेका छैनन्। जापानमै पुगेर तयारी गर्ने विभिन्न देशको योजना पूरा हुन सकिरहेको छैन।

यही सन्दर्भमा नेपालले टोकियो ओलम्पिकका लागि कसरी तयारी गरिरहेको छ र महामारीबीच नेपालले भोलिका दिनमा लिने निर्णय कस्तो हुन्छ भन्नेबारे नेपाल ओलम्पिक कमिटीका महासचिव तथा ओलम्पिक तयारीका संयोजक निलेन्द्र श्रेष्ठसँग कुराकानी गरिएको छ।

१.टोकियो ओलम्पिकका लागि नेपालको तयारी के भइरहेको छ? 

– हालसम्म तीन जना खेलाडीको सहभागिता पक्का भइसकेको छ। एथ्लेटिक्सबाट एक जना र पौडीबाट दुई जना खेलाडीको नाम टुंगो लागेको छ। उनीहरु ओलम्पिक खेलकुदमा सहभागी हुने तीनवटा तरिकाअन्तर्गत युनिभर्सियालिटीबाट छनोट भएका हुन्। ओलम्पिक खेलकुदमा हरेक देशका लागि पौडीमा एक जना र एथलेटिक्समा दुई जना खेलाडीको कोटा हुन्छ। त्यहीअन्तर्गत पौडीका अलेक्स शाह र गौरिका सिंह तथा एथलेटिक्सका गोपीचन्द्र पार्कीले टोकियो ओलम्पिक खेल्दैछन्। अन्य १२ जना खेलाडीको लागि हामीले वाइल्ड कार्ड इन्ट्रीको लागि अप्लाई गरेका छौँ। वाइल्ड कार्डका लागि पनि मापदण्डहरु हुन्छन्। त्यसका लागि पनि खेलाडी र्‍याङकिङमा अगाडि हुनुपर्छ। त्यसका लागि खेलाडीहरुले विश्व महासंघले तोकेका च्याम्पियनसिपहरु खेल्नुपर्छ। तर यी प्रतियोगिताहरु हुन सकिरहेको छैन। जुनको अन्तिम समयसम्म वाइल्ड कार्ड पाउने खेलाडीको तय हुनुपर्छ।

२.यस्तो अवस्थामा ओलम्पिक आयोजना होला त? 

– संसार नै अन्योल छ खेलकुदमा मात्र होइन। तर आईओसी र जापान सरकार पोजेटिभ छन्। टोकियो आयोजक समिति पनि ‘पोजेटिभ्ली’ लागिरहेको छ। भोलि के हुन्छभन्दा पनि हामी पनि पोजेटिभ्ली लागिरहेका छौँ। कसरी गर्ने? के हुन्छ भन्ने प्रश्न त छँदैछ। तर हामीले सास फेर्ने अवस्था के छ भने सबै जना पोजेटिभ छन्। कोभिड हुनुअघि विश्वभर ४४ प्रतिशत खेलाडीहरु छनोट भइसकेको थियो। अब ५६ प्रतिशत खेलाडीहरु छनोट हुन बाँकी छ। कतिपय खेलमा छनोट भइरहेको छ। जुडो, तेक्वान्दोका खेलहरु हुँदैछन्।  विश्व महासंघहरुले मिति फिक्स गरेका कतिपय छनोट खेलहरु स्थगित भइरहेका छन्। कोरोनासँग लुकामारी गरेर भएपनि छनोट प्रतियोगिताहरु खेलेर अंकहरु प्राप्त गर्नुपर्ने चनुौती छ। जतिसक्दो धेरै च्याम्पियनसिपहरु खेलेर र्‍याङकिङमा अगाडि आउनुको विकल्प छैन हामीलाई वाइल्ड कार्ड इन्ट्रिका लागि।

३. वाइल्ड कार्डका लागि अप्लाई भएका खेलाडीको छनोट कसरी गर्नुभयो? 

– सम्बन्धित संघहरुलाई बेस्ट खेलाडीहरुको नाम पठाउनुस् भनेका थियौँ। हामीले उहाँहरुले पठाएका खेलाडीको नाम वाइल्ड कार्ड इन्ट्रीका लागि पठाएका छौँ।

४. खेलाडीलाई कसरी तयार गर्दै हुनुहुन्छ? 

– वाइल्ड कार्डका लागि अप्लाई गर्नुभन्दा अगाडि हामीले अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिलको साेलिडारिटी फण्डबाट उपलब्ध हुने स्कलरसिपका लागि खेलाडीको नाम पठाएका थियौँ। १२ जना खेलाडीलाई उक्त स्कलरसिप प्राप्त भएको थियो। ती खेलाडीले हरेक महिना जनहीँ ५ हजार अमेरिकी डलर प्राप्त गर्छन्। सन् २०२० मा ओलम्पिक स्थगित भएपनि खेलाडीले उक्त स्कलरसिपबापतको रकम पाइरहेका छन्। यो खेलाडीको ट्रेनिङका लागि उपलब्ध भएको हो।  हामीले त्यो पैसा खेलाडीको ट्रेनिङका लागि संघहरुलाई उपलब्ध गराएका छौँ।  उनीहरुको नियमित ट्रेनिङ भइरहेको छ। अन्तिम तीन–चार महिना पोखरामा प्रशिक्षण गराउने योजना थियो। तर कोरोनाको दोस्रो लहरका लागि त्यो रिस्क लिने की नलिने भन्ने भयो।  गौरिकाले झण्डै दुई महिना नेपालमा आएर प्रशिक्षण गरिन्। अहिले उनी लण्डनमा प्रशिक्षण गर्दैछिन्। एलेक्स पनि अहिले थाइल्याण्डमा प्रशिक्षण गरिरहेका छन्। लकडाउनका बेला  हामीले खेलाडीलाई मनोवैज्ञानिक रुपमा बलियो बनाउन  साइकोलोजिकल कोर्सहरु गरेका थियौँ।

आईओसीले अन्तिम तीन महिनाका लागि जापानमा प्रशिक्षण गर्न पार्कीका लागि १५ हजार अमेरिकी डलर उपलब्ध गराउने बताएको थियो। तर यो रकम जापानमा ट्रेनिङ गर्‍यो भने मात्र उपलब्ध हुन्छ। जापानमा अहिले त्यहाँ जान सक्ने अवस्था छैन। ओलम्पिकलाई डिस्टर्ब हुन्छ भनेर जापान एकदमै होसियार भएर कोरोना नियन्त्रणमा लागेको छ। नत्र भने जुन देशमा ओलम्पिक हुन्छ त्यहाँ त्यसअघि वर्ल्ड च्याम्पियनसिप, छनोट प्रतियोगिता, प्रि ओलम्पिक म्याचेजहरु हुने गर्दछ। तर अहिले त्यस्तो अवस्था देखिरहेको छैन। जापानको दुईवटा सहरहरुसँग हाम्रो सम्झौता नै छ। प्रशिक्षणका लागि विदेश पठाउने वा  विदेशी प्रशिक्षक नेपालमा ल्याउने दुवै योजना हामीसँग नभएको होइन। तर कोरोना महामारीका कारण विदेशीहरु आउने र नेपालीहरु त्यहाँ पठाउन दुवै अवस्था छैन। हाम्रो धेरै कोचहरुसँग कुरा भएको थियो। तर कोही पनि आउन चाहँदैन। हामीले अमेरिका हेर्दा त्यहाँ डरमर्दो त्यहाँबाट हेर्दा नेपाल डरमर्दो। अहिले विदेशी प्रशिक्षकहरुलाई अनलाइनमार्फत गाइड गर्न लगाउनुको विकल्प देखिरहेको छैन।

५. ओलम्पिक भइहाल्यो भने नेपाली खेलाडीबाट के अपेक्षा गर्न सकिन्छ? 

– गौरिका आफ्नो राष्ट्रिय कीर्तिमानमा बस्न सक्छ। अलेक्सले पनि धेरै राम्रो टाइमिङमा पौडिरहेको छ भन्ने सुनेको छु। गोपीले हालसालै मात्र नेपालगन्जमा २ घण्टा १९ मिनेट ५९ सेकेण्डमा म्याराथन पुरा गरेका छन्। यो नेपालभित्र भएका प्रतियोगितामा राष्ट्रिय कीर्तिमान हो। उनले बैकुण्ठ मानन्धरले धेरै वर्ष अघि कायम गरेको २ घण्टा १५ मिनेटको दक्षिण एसियाली कीर्तिमान तोड्न सक्छन् भन्ने अपेक्षा गरेका छौँ। अरु खेलाडीको हकमा पहिलो क्वालिफाई हुने नै प्रश्न छ। यदी त्यसो भयो भने पूरा समय खेल्ने र केही देशलाई हराउने नै हो किनभने ओलम्पिकमा हरेक देशले बेस्ट खेलाडीलाई पठाएको हुन्छ। धेरै समय अगाडिदेखि ट्रेनिङमा राख्ने भन्दाभन्दै कोभिडका कारण सम्भव हुन सकेन। १३ औँ सागमा प्राप्त नतिजापछि नियमित प्रशिक्षण गर्न पाएको भए धेरै राम्रो हुन सक्थ्यो। तर अहिले कोभिडको महामारीमा कुन खेलाडीले आफूलाई कसरी फिट बनाएर राख्यो भन्ने नै चुनौतीपूर्ण छ। विश्वका टप क्लासका खेलाडीलाई पनि यो ‘प्रब्लम’ भइरहेको छ।

६. यस्तो महामारीका बेला ओलम्पिक खेल्नुले के अर्थ राख्छ?  

– हरेक च्याम्पियनसिपको अर्थ हुन्छ। खेलाडीलाई एक्सपोजर  हो। मुस्लिम मक्का गएर जिवनभरका लागि सम्झिन्छ। खेलाडीले खेलकुदमा लागेपछि ओलम्पिक खेल्नु सपना हो। तर भोलिका दिनमा महामारी चर्कियो र सरकारले नै रोक गर्‍यो भने हाम्रो हातमा केही हुँदैन। हामीले ओलम्पिक कमिटीका रुपमा खेलाडीलाई सक्दो सहयोग गरिरहेका छौँ। संघ र कोचहरुसँग सहकार्य गरेर काम गरिरहेका छौँ। अहिलेको हिसाबमा आईओसी, जापान सरकार र टोकियो आयोजक समिती तीनवटै पोजेटिभ छन्। उनीहरु यो पटक ओलम्पिक हुन्छ भनेर लागिरहेका छन्। हरेक देश आफ्ना खेलाडीको स्वास्थ्य सुरक्षाबारे गम्भीर हुन्छ तर ओलम्पिकजस्तो प्रतियोगितामा कुनैपनि देशले प्रतिबन्ध लगाउला जस्तो लाग्दैन। अबको तीन महिनामा कुन देशले कस्तो पोलिसी अपनाउँछ भन्ने पनि ठूलो कुरा हो। धेरै देश आएनन् भने जबर्जस्ती ओलम्पिक आयोजना होला भन्नेपनि लाग्दैन।

७. विगतमा ओलम्पिकअघि राष्ट्रिय खेलकुद परिषद्-राखेपलगायतका सरकारी निकायसँग तपाईंहरुको दूरी देखिन्थ्यो। यसपटक कस्तो छ अवस्था?

– विगतमा के कस्तो थियो भन्नेतर्फ म जान्न। तर अहिले हामीबीच निकै राम्रो सम्बन्ध छ। सरकारले ओलम्पिकका लागि भनेर पहिलो पटक बजेट छुट्ट्याएको छ। यसअघि कहिल्यैपनि ओलम्पिकका लागि सरकारी बजेट थिएन। हामी सरकारी निकायलाई बाइपास गरेर जान सक्दैनौँ। विगतमा त्यस्तो थियो भने पनि अब त्यस्तो घटना नेपालका लागि ‘हिस्ट्री’ हुनेछ।  हामीले समन्वय गर्नैपर्छ। ओलम्पिक आयोजना र सहभागिताका सम्बन्धमा भइरहेका कुराहरु हामीले उहाँहरुलाई  अपडेट गरिरहन्छौँ।

८. विगतमा खेलाडी निकै कम र ठूलो संख्यामा पदाधिकारी र गैरखेलाडी गएको भनेर समाचार आइरहन्थे? 

– टोकियो ओलम्पिक आयोजकले नभई नहुने बाहेकलाई  नआउनु भनेको छ। यसले पनि कोटा कम हुन्छ यसपटक। खेलाडीहरुको अनुपातमा अफिसियलको कोटा आउँछ।  म दावा गर्छु- यसपटक कोही पनि गैह्र खेलाडी र गैह्र खेलकर्मी त्यहाँ जाँदैन।  जसले कोच गरेको छ ऊ मात्रै जान्छ। खेलाडी र खेलकुदसँग सम्बन्धित मान्छे मात्र त्यहाँ जानेछन्।

बैशाख ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्